मुस्लिम आयाेगकाे आग्रह : ईदुल फित्रको दिन घरमै बसेर नमाज पढ्नुहाेस्

 जेठ ४, २०७७ आइतबार १८:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय मुस्लिम आयोगले ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ । 

मुस्लिम आयोगको आइबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदुल फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नुभयो । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुल फित्रका दिन मस्जिद र मदरासामा गइ सामूहिक नमाज पढ्ने गरिन्छ । 

यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो । रमजानको सुरुको दिन पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज पढेका थिए । 

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सामूहिक नभइ घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताउनुभयो । उहाँले ईदको नमाज पढेपछि छरछिमेकमा पुगेर एकअर्कामा शुभकामना आदान प्रदान नगर्नसमेत आग्रह गर्नुभयो ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो व्रत तोड्ने दिन ईदुल फित्र मनाउने गरिन्छ । यस दिन सामूहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । 

ईदलाई आपसी सद्भावको चाडको रुपमा पनि हेरिने गरिएको छ । यस वर्षको ईदुल फित्र आउँदो आइतबार मनाइँदैछ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया