‘मोदी सरकार ! हमको घर ले जाओ’ लेखेको प्लेकार्ड बोकेर आन्दोलित भए भारतीय मजदुर

 जेठ ६, २०७७ मंगलबार १६:२३:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – भारतको रुपैडिहा निवासी मुन्ना खान घोराही उपमहानगरपालिका १७ मा रहेको मनकामना इँटा उद्योगमा मजदुरी गर्छन् । 

मजदुरीको पैसाले घर व्यवहार चलाउँदै आएका मुन्ना कोरोना भाइरसकाे कारण उद्योग बन्द भएपछि झण्डै दुई महिनादेखि कामविहीन बनेका छन् । मुन्ना घर जान चाहिरहेका छन् तर स्थानीय प्रशासनले घर जान दिएको छैन । 

घर जान भनेर हिँडेका मुन्नालाई दाङ र बाँके जिल्लाको सीमा क्षेत्रबाट स्थानीय प्रशासनले जान नपाइने भन्दै फर्काइ दिएको हो । सीमा क्षेत्रबाट फर्किएका मुन्ना अहिले घर जान पाउनुपर्ने भन्दै इँटा उद्योगमै आन्दोलनमा छन् ।

मङ्गलबार बिहान आन्दोलनमा उत्रिएका मुन्नालगायतका भारतीय मजदुरले घर फिर्ता जान पाउनुपर्ने माग राखेका छन् । ‘मोदी सरकार ! हमे घर ले जाओ’ लेखिएको कार्ड छातीमा टाँसेर इँटा उद्योगमै आन्दोलनमा उत्रिएका मुन्नाको सरकारलाई एउटै प्रश्न छ– ‘भारतमा रहेका नेपाली ल्याउँदा जोखिम नहुने, हामीलाई घर पठाउँदा कसरी जोखिम हुन्छ र ?’

उद्योग बन्द रहँदा ठूलो सङ्ख्यामा रहेका मजुदरहरुलाई खान र बस्न समस्या भएको घोराही उपमहानगरपालिका १२ मा रहेको गोल्ड इँटा उद्योगमा कार्यरत अर्का मजदुर तिलकराम चौहानले बताए । 

लामो समयसम्म इँटा उद्योग बन्दा हुँदा साहुले रासन दिन छाडेको उनी बताउँछन् । ‘उद्योगमा काम नहुँदा खान र बस्न समस्या भएको छ’, उनले भने, ‘घर जान पाए खान र बस्ने समस्या हुने थिएन ।’ 

इँटा उद्योगमा भोकभोकै बस्नुभन्दा घर जान पाए आफूहरुलाई सजिलो हुने उनी बताउँछन् । ‘बर्खा लाग्न थाल्यो, यहाँ अब काम छैन । पानी पर्न थालेपछि हामीहरुलाई झन् समस्या हुन्छ’,  उनले भने, ‘त्यसैले अहिले घर जान पाए राम्रो हुने थियो ।’

अहिले उनीहरु जस्तै दाङका इँटा उद्योगमा काम गर्ने झण्डै सात हजार भारतीय मजदुरहरु समस्यामा परेको दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले जानकारी दिनुभयो । 

लकडाउनकाे कारण इटा उद्योग बन्द भएपछि कामविहीन भएका मजदुरहरुलाई घर पठाउन आफूहरुले चाहे पनि स्थानीय प्रशासनले सहयोग नगर्दा मजदुरहरु समस्या परेको उहाँले बताउनुभयो । ‘लामो समयसम्म उद्योग बन्द हुँदा मजदुरहरुलाई खान र बस्न समस्या भएको छ’, अध्यक्ष वलीले भन्नुभयो, ‘भारतीय मजदुरलाई फिर्ता पठाउनका लागि जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसँगै भारतीय राजदूतावासलाई अनुरोध गरे पनि कसैले चासो दिएनन् ।’

जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधिहरुले सहयोग नगर्दा कतिपय मजदुरहरु भागेर भारत जान थालेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया