लकडाउनले सडकमा गाडी स्वाट्ट घटेको छ तर दुर्घटना बढेको छ

 जेठ १०, २०७७ शनिबार १६:५६:१८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - कोरोना महामारीको बढ्दो जोखिमसँगै लकडाउन गरिएपछि बजार, व्यवसाय र आवागमन लगभग ठप्प छ । सडकमा गाडीको चाप छैन । तर सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम हुन सकेको छैन । सवारी दुर्घटनाको विकराल अवस्थाप्रति कमैको ध्यान गएको छ ।

देशमा गएको २ महिनामा मात्रै २ सयभन्दा धेरै गम्भीर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उहिले सवारी दुर्घटनामा दैनिक ६/७ जनाको ज्यान जाने गरेको थियो । लकडाउनको समयमा काठमाण्डौ उपत्यकामा सवारी दुर्घटनाले दैनिक २ देखि ३ जनाको ज्यान जाने गरेको छ । अहिले सडकमा गुड्ने सवारीको अनुपातमा यो सङ्ख्या निकै धेरै हो । उहिले सामान्यतया दैनिक ५ देखि ७ लाखको सङ्ख्यामा यातायातका साधन काठमाण्डौ भित्रिने र बाहिरिने गरेकामा लकडाउन सुरु भएपछि २५ देखि ३० हजारको हाराहारीमा मात्रै भित्रिने र बाहिरिने गरेका छन् । 

दुर्घटना हुने कारणहरुमध्ये गाडीको चापलाई सबैभन्दा ठूलो मानिन्छ । तर गाडीहरुको चाप न्यून हुँदा पनि दुर्घटनामा कमी नआउनु खोजीको विषय हो । कोरोना महामारीको कारण हुने जोखिमबारे गम्भीर भइरहँदा सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई कम गर्न पनि सरोकारवालाहरुले ध्यान दिनुपर्ने देखिन्छ ।

विभिन्न तथ्याङ्कहरुका अनुसार सवारी साधनको चाप मात्रै सवारी दुर्घटनाको प्रमुख कारण होइन । अन्य कारणहरु पनि दुर्घटनाका कारक रहेका छन् । दुर्घटना हुने प्रमुख कारणहरु : 

सवारी साधनको तीव्र गति 

तीव्र गतिमा सवारी साधन चलाउनु दुर्घटनाको मुख्य कारण भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल बताउनुहुन्छ । अहिले बाटो खाली छ । थोरै सङ्ख्यामा गाडी गुड्ने गरेका छन् । त्यसैले अहिले गुड्ने प्रायः गाडीहरुको गति तीव्र हुने गर्दछ । जसको कारण दुर्घटनाको जोखिम बढेको छ । यस्तै अहिले ट्राफिक नियमको पालना कमजोर नभएकाले पनि दुर्घटनाको जोखिम बढेको ढकाल बताउनुहुन्छ ।

कोरोना नियन्त्रणतर्फ बढी केन्द्रित भएकोले ट्राफिक नियम पालना गराउनेतर्फ आफूहरुको ध्यान पूर्ण रुपमा केन्द्रित हुन नसकेको ढकाल स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार ट्राफिक महाशाखाले ट्राफिक नियम मिच्नेलाई कारबाही नै नगरेको चाहिँ होइन । ट्राफिक नियमको पालना नगर्ने चार पाङ्ग्रे गाडी र मोटरसाइकल चालकलाई हरेक दिन कारबाही भइरहेको छ । तर पनि बाटो खाली छ भन्दै उच्च गतिमा गाडी गुडाउने प्रवृत्तिको कारण दुर्घटना बढेको उहाँको तर्क छ । 

चालकको मनोमानी 

अहिले धेरै दुर्घटना चालकको लापरवाहीले हुने गरेका छन् । सवारी आफ्नो लेनमा नगुडाई अर्काको लेनमा लैजाने, मोडहरुमा विपरित दिशाबाट आउने सवारी साधनहरुलाई ध्यान नदिने र जता पायो उतै हुइँक्याउने प्रवित्तिका कारण सवारी दुर्घटना बढ्दै गएको सडक र सवारी क्षेत्रमा कलम चलाउँदै आउनुभएका पत्रकार पोषनाथ अधिकारी बताउनुहुन्छ । बिरामी बोक्ने एम्बुलेन्स र खाद्यान्नका गाडीले अहिले यात्रु पनि ओर्साने गरेको र यात्रु ओसार्दा चालकले ट्राफिक प्रहरीको डरले तीव्र गतिमा गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको अधिकारीको भनाइ छ । 

सडकको कमजोर अवस्था 

सडक सुरक्षामा प्रयाप्त तयारी नपुगेकोले पनि देशमा सवारी दुर्घटना भयावह बन्दै भएको सडक सुरक्षासम्बन्धी अनुसन्धानकर्ता डा. पुष्पराज पन्त बताउनुहुन्छ । सडकमा गतिमापक यन्त्र जडान नहुनु, सडक बत्ती नहुनु, सङ्केतहरुको उचित व्यवस्था नहुनु र जीर्ण सडकहरुको कारणले पनि दुर्घटना बढेको छ ।  दुर्घटना कम गराउन गति नियन्त्रण गर्नु अति नै आवश्यक भएको पन्त बताउनुहुन्छ । 

एक सय ५० वटा दुर्घटनामा १ सय वटा दुर्घटना तीव्र गतिको कारण हुने गरेको उहाँको भनाइ छ । यस्तै अधिकांश दुर्घटना दिउँसोको समयमा हुने गरेका छन् । कार्यालय समय बिहान १० देखि बेलुका ५ बजेसम्म हुने गरेकोले हतारमा कार्यालय पुग्ने र घर फर्किने प्रवृत्तिले पनि दुर्घटना भयावह बन्दै गएको छ । दुर्घटनामा पर्ने गाडीमध्ये धेरैजसो मोटरसाइकल रहेका छन् । 

दशवर्षे द्वन्द्वमाभन्दा ज्यान जाने धेरै 

गएको दश वर्षमा हाम्रा सडकमा १७ हजारभन्दा धेरैको ज्यान गएको छ । यो अङ्क दश वर्षे सशस्त्र द्वन्द्वमा मारिनेहरुको सङ्ख्याभन्दा धेरै हो । नेपालमा ५ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको ज्यान जानुको मुख्य कारण सवारी दुर्घटनालाई मानिएको छ । देशमा धेरै नयाँ सडक विस्तार भएका छन् । तर राजमार्गमा हुनुपर्ने पूर्वाधारको कमी र सडक अनुशासन कार्यान्वयन नहुनु दुर्घटनाको अर्को मुख्य कारण हो ।

चिकित्सा विज्ञानको परिभाषाअनुसार सवारी दुर्घटनालाई महामारी भन्न मिल्दैन । तर मानवीय क्षतिको हिसाबले हेर्ने हो भने विश्वमा अकाल मृत्युको सबैभन्दा ठूलो कारण सवारी दुर्घटना हो । सवारी दुर्घटनामा परेर विश्वभर वार्षिक १३ लाख ५० हजारको ज्यान जाने गरेका छन् । यस्तै ५० लाख घाइते हुने गरेका छन् । त्यसमा पनि नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काजस्ता न्यून र मध्यम आय भएका दक्षिण एसियाली देशमा सवारी दुर्घटनाबाट हुने मृत्युको दर बढी  छ । 

राजमार्गमा हुने मृत्युमध्ये ९३ प्रतिशत गरीब देशमा हुने गरेका छन् । क्षमताभन्दा बढी यात्रु लिएर घुमाउरो र असुरक्षित सडकमा गुड्ने जीप र ट्राफिक सङ्केतजस्ता आधारभूत सुरक्षा सुविधाको अभाव रहेको राजमार्गमा तीव्र गतिमा हुइँकिने बस दुर्घटनाको सिकार हुने गरेका छन् । सहरी क्षेत्रमा ९० प्रतिशतभन्दा धेरै मृत्यु मोटरसाइकल चालक र पैदल यात्रीको हुने गरेको पाइएको छ ।

सडक सुरक्षामा लगानी, बालुवामा पानी 

दुर्घटना न्यूनीकरण गर्न सरकारको बर्सेनि करोडौँ रुपैयाँ खर्च भइरहेको जगजाहेर नै छ । नेपाल प्रहरीले सवारी चालक, सहयोगी र यात्रुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको दाबी गर्दै आएको छ । यसबाहेक सरकारी, गैरसरकारी र नागरिक स्तरबाट पनि दैनिकजसो सवारी दुर्घटना रोकथामसम्बन्धी कार्यक्रमहरु हुँदै आएका छन् । तर दुर्घटना घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ ।  

दैनिक रुपमा कयौँ मानिसको ज्यान लिइरहेको सवारी दुर्घटना न्यूनीकरण गर्नु हाम्रो निम्ति ठूलो चुनौती हो । दुर्घटना न्यूनीकरणको लागि केन्द्र सरकारदेखि पालिकासम्मले पहल गर्नुु आवश्यक देखिन्छ । पहाडी क्षेत्रमा कच्ची सडकमा लामा सवारी साधन सञ्चालनमा रोक लगाउनुपर्छ । रातिको समयमा विशेष ट्राफिक सङ्केतका बोर्डहरु राख्नुपर्छ । रुट तथा सवारी क्षमताअनुसार मात्र गाडी सञ्चालन गर्न दिनुपर्छ । सबै प्रकारका सवारीको आयु तोक्नुपर्ने हुन्छ ।

यसैगरी सडक विस्तारलाई तीव्र बनाउनुका साथै सडक बलियो र फराकिलो बनाउनुपर्छ । यस्तै पैदल यात्रु र दुई पाङ्ग्रे सवारीका लागि छुट्टै लेन बनाउनुपर्छ । अनि मात्र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने हुन्छ । यस्तै चालक र ट्राफिकलाई तालिम, सिसिटिभी क्यामेरा जडान, चालकको शिक्षा र उमेर तोक्ने तथा जरिवाना परिमार्जन जाँचबुझ समिति गठनलगायतका काम गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया