यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ - कोरोना भाइरस र फौजी किराको चपेटामा परेका किसानलाई अर्को प्रकोपले चिन्ता थपिदिएको छ । बालीमा फौजी किराभन्दा धेरै नोक्सानी पुर्याउने सलह किरा नेपाल प्रवेश गरे कसरी नियन्त्रण गर्ने र बालीलाई कसरी जोगाउने भन्नेबारे किसानहरु चिन्तित बन्न थालेका छन् । सँगै कृषि र कीट विज्ञहरु सोचमग्न भएका छन् ।
अफ्रिकी देशहरु केन्या, सोमालिया, तान्जानिया, युगान्डा र दक्षिणी सुडान हुँदै सलह किराहरुको फौज इरान र पाकिस्तान पुगे । पछिल्लो समय भारतमा उधुम मच्चाउँदैछन् । यसअघि सलह किरा भारतको राजस्थानसम्म मात्र देखिएपनि यसपालि भारतका पन्जाब, महाराष्ट्र र दिल्लीलगायत प्रान्तसम्म आइसकेका छन् ।
के हो सलह किरा ?
सलह किरा झुन्डमा हिँड्ने फटेङ्ग्राकै एउटा प्रजाति हो । यो किरा विशेषगरी मरुभूमिमा रमाउँछ । यसले फौजी किराभन्दा हजारौँ गुणा बढी बालीमा क्षति पुर्याउँछ । सलहको जीवन चक्र तीन चरणमा पूरा हुन्छ । अण्डा, बच्चा र वयस्क । वयस्क बनुन्जेलसम्म यो किराले ५ देखि ६ पटकसम्म काँचुली फेर्छ । वयस्कको अवस्थासम्म पुग्दा यसको पहेँलो रङमा कालो थोप्ला हुन्छन् ।
गर्मीमा वंश विस्तार
यो किराको बच्चा १ देखि ३ महिनामा पूर्ण वयस्क बन्छ । वयस्क किरा ४ देखि ५ महिनासम्म बाँच्छ । सलह किराको पखेटा दर्हो हुने हुँदा यसले लगातार ९–१० घण्टासम्म उड्न सक्ने क्षमता राख्दछ । तर २–३ घण्टासम्म उड्दै, बाली खाँदै र आराम गर्दै यो किरा उडिरहन्छ ।
भारतमा देखिएका सलह किरा अफ्रिका र मध्यपूर्वमा वयस्क भएर उडेका विज्ञले बताएका छन् । बलौटे माटोमा फूल पार्ने यो किराले विशेषगरी गर्मी महिनामा आफ्नो वंश विस्तार गर्छ ।
नेपालमा अहिलेसम्म यो किराले फूल पारेको प्रमाण भेटिएको छैन । तर सन् १९६२ मा यो किरा नेपाल आएको पाइएको छ । त्यतिवेला यसले नेपालमा नै फूल पारेर विकसित भएको वा झुन्डमा आएको भन्ने पुष्टि भइनसकेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ कीट विज्ञ डाक्टर सुनिल अर्यालले बताउनुभयो ।
४ करोडदेखि ८ करोडको झुन्ड
सन् १९६२ मा काठमाण्डौमा संकलन गरिएको नमुनाको पहिचान कीट विज्ञान महाशाखाको सङ्ग्रहालयमा राखिएको छ । यो किरा ४ करोडदेखि ८ करोडसम्मको झुन्डमा उड्छ । यो किराको झुन्डलाई वर्गीकरण गरेर विभिन्न समूहमा राखेको पाइन्छ ।
एक किलोमिटरदेखि १० किलोमिटरसम्म बस्नेलाई सानो समूह, १० देखि एक सय किलोमिटर बस्नेलाई मध्यम र सयदेखि ५ सय किलोमिटरमा बस्नेलाई ठूलो र त्योभन्दा झन् ठूलो समूहमा बस्नेलाई अझै ठूलो झुन्डमा हिँड्ने भनेर वर्गीकरण गरिएको कीट विज्ञ अर्याल बताउनुहुन्छ । यस्तै यो किराले एक पुस्तामा आफ्नो सङ्ख्या २० गुणा बढाउने गर्दछ ।
नेपाल प्रवेशको सम्भावना
भारतमा यो किराले गहुँ र तोरीलगायतका बाली सखाप पारिरहेको छ । हावाको दिशामा उड्ने यो किरा अम्पुन नामक चक्रबातको प्रभावले भारतका विभिन्न भागमा फैलिएको विभिन्न अध्ययनले देखाएको छ ।
यस्तै, पश्चिमी वायुको गति बढे सलह किरा नेपाल भित्रिन सक्ने पूर्वानुमान गरिएको छ । पश्चिमी क्षेत्रबाट वायुको वेग आए त्यही वेगको बाटो हुँदै यो प्रवेश गर्ने विज्ञले बताएका छन् ।
पश्चिम नेपाल उच्च जोखिममा
नेपालको पश्चिम क्षेत्र यो किराको उच्च जोखिममा रहेको विज्ञले बताएका छन् । विज्ञका अनुसार यो किरा गर्मी बढेपछि बढी सक्रिय हुन्छ । ३० देखि ४० डिग्री तापक्रमभन्दा धेरै गर्मी भएपछि यो किरा एक ठाउँबाट अर्को ठाउँमा उडेर जाने वरिष्ठ कीट विज्ञ अर्यालले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘सलह किरा हावाको वेगसँगै भित्रिन्छन् । हावा उच्च गतिमा नआए सलह किराको नेपाल प्रवेश सम्भव छैन ।’ नेपालमा वेलैमा मनसुन भित्रिएपनि यो किरा नेपाल प्रवेश गर्न नसक्ने विज्ञहरुको भनाइ छ ।
यसले पार्ने क्षति
रातमा बास बस्ने यो किराले उज्यालोमा बालीलाई नष्ट गर्छ । तापक्रम केही बढेपछि झुन्डमा उड्छ । रुख, घारी र झाडी जता पनि यो किरा बस्न सक्छ । विज्ञका अनुसार आकारमा सानो भए पनि एकै पटक करोडौँको सङ्ख्यामा हुने भएकाले एकै चोटिमा धेरै बाली सखाप पार्छ ।
कीट विज्ञ अर्यालका अनुसार एक वर्ग किलोमिटरमा बस्ने सलह किराको समूहले १० हात्ती बराबर र २५ सय मानिसको आहार बराबरको बाली नष्ट पार्छ ।
एउटा सलहको आहार एक दिनमा २ ग्राम मात्रै हो । तर यो किरा लाखौँ/करोडौँको समूहमा हुने भएकाले एकै पटक सबै बाली खाइदिन्छ ।
यसले फल मात्रै नभएर पात र डाँठ पनि सखाप पार्छ । ‘एकै पटक लाखौँ र करोडौँको सङ्ख्यामा बस्ने र खाने भएकाले यसले गर्ने क्षतिको आकलन गर्न सकिन्न,’ वरिष्ठ विज्ञ अर्यालले भन्नुभयो, ‘झुन्डमा एकै पटक बस्ने हुँदा बाली एकै पटक नष्ट गर्छ ।’
सलह किराहरु धेरै सङ्ख्यामा र ठूलो क्षेत्रलाई ढाकेर बस्ने र उड्ने भएकाले नेपालमा मात्रै नभएर विश्वमा नै चुुनौती बनेको छ । यो किरा जता जता पुग्छ, त्यता त्यता सबै बाली सखाप गर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार एक दुई घण्टामा नै सलह किराको झुन्डले आफू बसेको क्षेत्रको बाली सखाप पार्छ ।
नियन्त्रण र रोकथाम
सलहको प्रकोप फैलिरहेको अफ्रिका र मध्यपूर्वलगायतका केही देशमा हेलिकोप्टरको माध्यमबाट वा ड्रोनको सहायताले यसलाई नष्ट गर्न रसायनिक विषादी छर्ने गरिएको छ । यी देशमा सलह नियन्त्रणका लागि संस्थागत संरचना गठन गरिएका छन् भने अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग गरिरहेका छन् ।
तर नेपालमा अहिलेसम्म यस्तो अभ्यास भएको छैन । सलह देखिएपछि अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोग लिने सरकारको तयारी छ । वरिष्ठ विज्ञ डाक्टर अर्यालका अनुसार यो किराले ठूलो आवाज रुचाउँदैन । सबैभन्दा पहिले यो किरा प्रवेश गरेको नगरेकोबारे किसान चनाखो हुनुपर्छ । यो किरा प्रवेश गरे यसलाई ठूलो आवाजमा स्पिकर बजाएर धपाउन सकिन्छ । विज्ञ अर्यालका अनुसार खेतबारीमा थाल ठट्टाएर पनि यसको रोकथाम गर्न सकिन्छ ।
यस्तै, यो किरालाई चराले खाने भएकाले खेतबारीको छेउछाउ र बीच भागमा चराका लागि बासस्थानको व्यवस्था गर्न सकिन्छ । बाँसको टोड्को बनाएर चराको बासस्थान बनाए चराले यी किरालाई खाइदिन्छ ।
यति गर्दा गर्दै पनि किरा नियन्त्रण गर्न नसकिए रसायनिक विषादी छर्नुपर्छ । तर बालीनालीमा देखिने फौजी र अरु किरालाई जसरी विषादी छर्किने सम्भावना नहुने हुँदा पानीको गाडीलाई छेउमा राखेर स–साना पानीको थोपा फाल्ने मेसिनमार्फत विषादी छर्कनुपर्छ ।
सरकारको तयारी
नेपालमा सलह किरा प्रवेश गर्ने जोखिम बढेपछि रोकथामका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि वैज्ञानिक र प्राविधिक सम्मिलित प्राविधिक समिति गठन गरेर अध्ययन थालेको छ ।
सलह किरा के हो र यसले बालीनालीमा कसरी असर गर्छ भन्ने जानकारीसहितका सामग्री किसानसम्म पुर्याउने सरकारको तयारी छ । विज्ञका अनुसार सलह किराको रोकथामका लागि मुख्य उपाय भनेको बालीनालीको अनुगमन र यो किरा कुन दिशामा उडिरहेको छ भन्ने कुरा नै हो ।
आतङ्कित नभईकन यसको रोकथामका उपायबारे पूर्व तयारी गरिने मन्त्रालयले जनाएको छ । नेपालको हावापानीमा सलह किराले फुल पार्ने सम्भावना नरहेकाले यसको झुन्डमा केन्द्रित भएर रोकथामका उपाय अपनाइने कृषि मन्त्रालयको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।