कोरोनाले सिकाएको पाठ : कृषिमा क्रान्ति र योग्य नेतृत्व छनोट गरौँ

 जेठ २४, २०७७ शनिबार १४:४८:१० | हरि ज्ञवाली
unn.prixa.net

एकाबिहानै उठ्यो । एउटा हातले टिभीको रिमोट समायो । अर्को हातले मोबाइल समायो । अनि समाचार हेर्न थाल्यो । खबर सबैजसो कोरोनासँगै जोडिएका हुन्छन् । हिजोआज त्यति राम्रा खबरहरु सुन्न पाइएको छैन । समाचार आउँछन् - यति जनालाई कोरोना सङ्क्रमण भयो, कति मरे अनि केही निको भए, क्वरेण्टीनमा यति बसेका छन्, कसैले आत्महत्या गरे, मजदुरको बिचल्ली भयो र विदेशमा अलपत्र नागरिकको उद्धारमा सरकार जुटेको छ आदि । सँगै अरु खबरहरु पनि - नेपाल–भारत नाकामा फर्किंदै गरेका नागरिक अलपत्र छन्, भारतले सीमा मिच्यो, भर्खरै आयो रुकुमको हत्याकाण्डबारे नयाँ खुलासा । यस्तै समाचारहरु सुन्ने, हेर्ने र पढ्ने दैनिकी नै बनेको छ ।

यी खबरहरु सुन्न मन नलागे पनि हामी दिनहुँ सुन्न बाध्य छौँ । अनि मनमा कुराहरु खेल्न थाल्छन् । तर आमनागरिकले सोच्ने, साथीभाइसँग गफ लगाउने, सक्यो भने लेख्नेबाहेक अरु उपाय अहिलेलाई देखिएको छैन । समाचारहरु सुन्दा मन उकुसमुकुस हुन्छ । अनि गफ गरेर आनन्द लिन्छौँ । कतिले सामाजिक सञ्जालमार्फत आआफ्ना कुरा राख्छन् । अहिलेको अवस्था र वास्तविकता यही छ । हामी रोग र भोकको त्रासबाट गुज्रिरहेका छौँ ।

कोरोनाबाट जोगिन धैर्यता, सतर्कता र जीवनप्रतिको सकारात्मक सोचबाहेक अहिलेलाई अरु उपाय देखिँदैन । तर क्वरेण्टीनमा सुरक्षा र परीक्षण तथा विदेश तथा सीमामा अलपत्र नागरिकलाई व्यवस्थापन गर्न सकिन्छ । महामारीको व्यवस्थापन गर्न नसक्नु अहिलेको मुख्य कमजोरी हो ।

कोरोना फैलिँदैछ र नेपालमा पनि आउँछ भन्ने थाहा थियो । खै त उचित व्यवस्थापन ?  लकडाउन मात्रै गरेर समस्याको समाधान हुन्छ ? कसैले खान नपाएर मर्नुपरेको छ । कतिले क्वरेण्टीनमा दुःख पाएका छन् । कसैले सीमामा सास्ती खेप्नुपरेको छ । विदेशमा दुःख पाउनेका दुःखलाई सरकारले देख्दैन ।
नेपालमा वि.सं. २००७ सालमा क्रान्ति भएको थियो । त्यसबेला नेता र नेतृत्वकर्ताको नागरिकसँग निरन्तर सम्पर्क थियो । नेतृत्वकर्तासँग योजना र कर्तव्य पनि थियो । तर अहिले नेतृत्वमा योजना छैन । कोही जेल परेको आधारमा, कोही बन्दुक बोकेको आधारमा त कोही आफ्नो पुर्खा नेता भएको आधारमा नेता बनेका छन् । नेपालका पढेलेखेका व्यक्ति र युवाहरु विदेश पलायन भएका छन् । 

नेपालमै रहेकाहरु कोठाभित्र बसेर टिभीको रिमोट र मोबाइल हातमा लिई देशको अवस्था हेरिरहेका छन् र भविष्यबारे सोचिरहेका छन् । यहाँ स्नातकोत्तर (मास्टर) डिग्री पास हुँदाको दिन पनि खुसी हुने अवस्था छैन । बरु त्यही व्यक्तिले कोरियामा तरकारी टिप्ने भिसा लागेको दिन भोज गर्नुपर्ने अवस्था छ । दुःखी, गरिब र मजदुरको जिन्दगी उस्तै छ । सरकार तिनै नागरिकले तिरेको करबाट चलेको छ । वि.सं. २००७ पछिका क्रान्तिहरु देश र नागरिकलाई माथि उठाउन नभएको प्रस्टै देखिन्छ ।

कतिपय विकसित देशमा विज्ञलाई मन्त्री बनाइन्छ । त्यसको लागि कसरी अगाडि बढ्न सकिन्छ ? सबैभन्दा पहिला कम्तीमा स्नातक पास गरेका व्यक्तिहरुको समूह निर्माण गरौँ र एउटा अभियान सुरु गरौँ कि वडाध्यक्षदेखि माथिका कुनै पनि जनप्रतिनिधि कम्तीमा स्नातक पास गरेको हुनुपर्ने । कुनै पार्टी वा व्यक्तिको पछाडि नलागी मतदान गर्न चेतना विस्तार गरौँ । शिक्षित र योग्यलाई चयन गरौँ । 

लक्ष्मीप्रसाद देवकोटाले आफ्नो कुनै निबन्धमा लेख्नुभएको छ – नेपालमा शेक्सपियरहरुले हलो जोतेका छन् । जब शिक्षित र योग्य व्यक्ति नेतृत्वमा पुग्छन् अनि मात्र सुरु हुन्छ नयाँ क्रान्ति । चाहे त्यो शिक्षामा होस् या कृषिमा । मानव जीवनको आवश्यकता गाँस, बास र कपास हो । भूकम्प, नाकाबन्दी र अहिले देखिएको कोरोना सङ्क्रमण तथा छिमेकी भारतको सधैँको हेपाहा प्रवृत्तिले सिकाएको पाठ हो – नेपाली आत्मनिर्भर हुनुको विकल्प छैन । हामी सबैभन्दा पहिला खान पुग्नेगरी आत्मनिर्भर हुनुपर्छ । पहिलो क्रान्ति कृषिबाट सुरु गरौँ । 

देशमा खेती कर्ममा रहेकाहरुलाई सम्मान गर्न थालौँ । युवाहरु विदेश गएर अनेक दुःख गर्न तयार छन् । उनीहरुलाई यहीँ दुःख गर्नुपर्छ भन्ने सिकाऔँ । अनि प्रविधि, सीप र आर्थिक रुपमा सहयोग गर्ने कार्ययोजना बनाऔँ । अर्को कुरा, विदेशमा युवाले दुःख गरी पैसा कमाएका छन् र त्यो पैसा ल्याएर घडेरी किनेका छन्, घर बनाएका छन् । फेरि खान पुग्दैन । अनि विदेश जान्छन् र फेरि अर्को घडेरी किन्छन् । 

युवा शक्ति र सीप विदेशमा प्रयोग भएको छ र कमाएको पैसा स्वदेशमा घरघडेरीमा प्रयोग भएको छ । ती सीप र कमाएको पैसा उत्पादनमा प्रयोग हुन पाएका छैनन् । नेपालमै १०/२० हजार रुपैयाँ तलब खाने कतिपयले आफ्नो भएको जग्गाजमिन पनि बाँझो राखेका छन् । आफ्नो श्रम खेर फालेका छन् । श्रमशोषणमा पर्ने, पार्ने र मालिक मोटाउँदै गएका छन् । 

जीवनमा धेरै लोभ गरिएन र आफ्नो जमिन प्रयोग गर्न सक्यौँ भने नेपाललाई पुग्ने यहीँ उत्पादन गर्न सकिन्छ र बेच्न पनि सकिन्छ । रोजगार पनि सिर्जना गर्न सकिन्छ । आफ्नै देशमा आफ्नो परिवारसँग जीवन बिताउन जतिको आनन्द अन्त कतै छैन । अनि अति आवश्यक वस्तु तथा सेवामा आत्मनिर्भर हुन सकियो भने कसैको हेपाइ सहनु पर्दैन ।

त्यसैले अब भारतमा मजदुरी गर्न जाने होइन । यहीँ पसिना बगाउने वातावरण बनाऔँ । अब फेरि भारत छिर्ने अवस्था नआओस् । अनि अन्य देश पनि पलायन हुन नपरोस् । विदेशबाट फर्कनेहरुलाई उत्पादनमा लगाऔँ । बाँझै रहेका खेतबारी खनौँ । स्नातकोत्तर सकेका युवा कोरिया र कतार पुग्न नपर्ने अवस्था सिर्जना गरौँ । भारतबाट आयात गर्ने अवस्था नआओस् । उत्पादन र उत्पादनपछिको बजारीकरणमा आधुनिक व्यवस्था निर्माण गरौँ । ताकि अबका दिनमा स्नातकोत्तर पास गरेको व्यक्तिले कोरियामा तरकारी टिप्न नपरोस् ।

यी सबै गर्नका लागि पहिला सक्षम नेतृत्व चाहिन्छ । यसको लागि पढालेखा र अनुभवी व्यक्तिको समूह निर्माण गरौँ र अभियान सुरु गरौँ । कोरोना नियन्त्रणपछि आआफ्नो ठाउँबाट अगाडि बढौँ । अहिले सङ्क्रमणको जोखिम रहेको बेला शान्त, सर्तक र धैर्य रहँदै भविष्यको योजना बनाउनेतर्फ लागौँ । 

अन्तिम अपडेट: असार १२, २०७७

हरि ज्ञवाली

ज्ञवाली शिक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया