फोन नउठाएको भन्दै यूएईको दूतावासमा नेपालीको घुईंचो, दूतावास भन्छ: धैर्य गर्नुहोस्

 जेठ २६, २०७७ सोमबार १०:११:१६ | उमाकान्त पाण्डे

यूएई - यूएईमा समस्यामा परेका नेपालीले आफूहरुलाई दूतावासले बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । समस्यामा पर्दा दूतावासले उद्धार पनि नगर्ने र फोन पनि नउठाउने उनीहरुको गुनासो छ ।

दूतावासले उद्धारमा ढिलाई गरेको र फोनसमेत नउठाएको भन्दै नेपालीहरुले दैनिक दूतावासको गेटमा धर्ना दिन सुरु गरेका छन् । आइतबार दूतावासमा धर्ना दिन पुगेका नेपालीहरुले तत्काल स्वदेश फर्किने वातावरण मिलाउन दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

दिनुहँ फोन गर्दा दूतावासका कर्मचारी तथा कार्यालयको फोन नउठेको भन्दै झण्डै ४५ जना आइतबार दूतावास पुगेका थिए । यूएईका विभिन्न ठाउँबाट आआफ्नै तरिकाले गुनासो गर्न पुगेका नेपालीहरुले सामुहिक रुपमा दूतावासलाई दबाब दिएका छन् ।

समस्या समाधान पनि नभएको र दूतावासले सुनुवाई पनि नगरेपछि लाइनबद्ध भएर बस्दा प्रहरीले हस्तक्षेप गरेको नेपालीहरुको गुनासो छ ।

प्रहरीले बल प्रयोग नगरे पनि अनलाइन फारम भर्न र दूतावासको गेटमा धेरै समय नबस्न भनेको थियो । दूतावासले एउटा कागज दिएर फारम भर्न भनेको भन्दै त्यो फारममा खासै केही उल्लेख नभएको र औपचारिकताका लागि मात्रै फारम भर्न लगाएको पीडितहरुको आरोप छ ।

'शुक्रबार एउटा उडान भयो, समस्यामा परेकालाई लैजाने भएको उडान कसलाई बोकेर गयो, तीन महिना भयो जागिर गुमेको, काम गर्दासम्म दाम आउँथ्यो र बस्न खान सकिन्थ्यो, अब कहाँ बसेर के खाएर बस्ने ?'दुबईबाट दूतावास आउनुभएका यम थापाले भन्नुभयो ।

'लगातार दूतावासमा फोन गरे पनि उठेन, आइतबार आफैं पुगेर बुझ्छु भनेर आएको हुँ, अरु को को आउनु भएको छ म चिन्दिनँ' टेलिफोनमा कुरा गर्दै थापाले भन्नुभयो 'हामी समूह बनाएर हुलदङ्गा गर्न आएका होइनौ, हाम्रो समस्याबारे जानकारी गराउन आएका हौ, हामीमाथि बल प्रयोग गर्न खोजियो' थापाले उज्यालोसँग भन्नुभयो ।

रामेछापका ज्ञानबहादुर श्रेष्ठको समस्या अझै गम्भीर छ । 'घर जान पाउँ भनेर दूतावासको फारम भरेँ, पेटमा इन्फेक्सन छ, कम्पनीले काम बाट निकालिदियो' दुबईको जबिलआलीमा रहेको क्याम्पबाट कम्पनीले निकालेपछि दूतावास पुग्नुभएका श्रेष्ठले भन्नुभयो ।

'दूतावासमा फोन गर्दा फोन उठ्दैन, न त ईमेल, म्यासेजको रिप्लाई आउँछ। एकपटक दूतावास पुगेर जानकारी लिनुपर्यो भनेर आएको थिएँ । दूतावास पुगेको केही मिनेटमा पुलिस आईपुग्यो। उद्धार माग्न जाँदा पुलिस बोलाएर लखेटे' काभ्रेका ईश्वर थपलियाले भन्नुभयो ।

यसअघि पनि पटकपटक दूतावास आउँदा सुनुवाई नभएको उहाँको भनाई छ । सर्लाहीका रमेश बुढाथोकीले भन्नुभयो 'पटकपटक निवेदन दिएँ, सुनुवाई भएन त्यसैले फेरि दूतावास आएको हुँ ।'

प्रहरी आएकोबारे थाहा छैन : राजदूत

दूतावासमा प्रहरी आएर नेपाली नागरिकलाई हस्तक्षेप गरेको भन्नेबारे आफूहरुलाई थाहा नभएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । उज्यालोसँग कुरा गर्दै राजदूत ढकालले भन्नुभयो, 'प्रहरीले पेट्रोलिङ सेवा गरिरहेकै हुन्छ, अझ खास गरी दूतावास भएका क्षेत्रमा नहुने कुरै भएन, धेरैजनाको भीड देखेर प्रहरी आएको र सामान्य सोधपुछ गरेर सम्झाएर गएको हो, कुनै धरपकड गरेको होइन।'

'आफ्नो समस्या राख्न दूतावास आएका नेपालीहरुलाई प्रहरी बोलाएर लखेटेको भन्ने हल्ला मात्र हो' दूतावासका एक अधिकारीले भने । दूतावासका एक अधिकारीले ठूलो संख्यामा नेपालीहरु दूतावास परिसरमा जम्मा भएको स्थानीय प्रहरीले देखेपछि हुलदंगा नगर्न र सामाजिक दूरी कायम गर्न भन्न मात्रै आएको बताए ।

धेरै फोन आउँदा उठाउन समस्या भएको दूतावासको प्रतिक्रिया

दैनिक एक जनाको मोबाइलमा झन्डै ४ देखि ७ हजारसम्म टेलिफोन आउने भन्दै सबैका फोन समयमै उठाउन नपाएको दूतावासको भनाइ छ । कतिपय अवस्थामा गर्नैपर्ने अरु कामसमेत फोनकै कारण गर्न नसक्ने अवस्था आएको छ दूतावासका एक अधिकारीले भने।

जहाज कहिले खुल्छ भन्ने प्रश्नको जवफ दिन नसक्दा झन समस्या थपिएको दूतावासका कर्मचारीको भनाई छ । सरकारको प्राथमिकता अनुसार स्वदेश फर्काउने काम अन्तिम चरणमा पुगेकोले धैर्य रहन दूतावासले अनुरोध गरेको छ।

दूतावासले आइतबार सूचना निकालेर गैरआवासीय नेपाली संघ (एनआरएनए) र कोभिड १९ सूचना संकलन तथा राहत व्यवस्थापन समिति यूएईमार्फत खाद्यान्न वितरण कार्य सुरु गरेकाले खानाको समस्या भएका नेपालीहरुलाई सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया