दोस्रो विश्व युद्धपछिकै ठूलो आर्थिक सङ्कट सुरु, नेपालको अर्थतन्त्र पनि खुम्चने

 जेठ २७, २०७७ मंगलबार १७:९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले कोरोना भाइरसको कारण विश्वको अर्थतन्त्र दोस्रो विश्व युद्धयताकै खराब अवस्थामा पुग्ने जनाएको छ ।

कोरोनाकाे कारण लगानीकाे क्षेत्र खराब हुने र आर्थिक क्रियाकलापमा आएको मन्दीले अर्थतन्त्र दोस्रो विश्व युद्धयताकै खराब अवस्थामा पुग्ने प्रक्षेपण विश्व बैंकले गरेको हो ।

विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ प्रतिवेदनमा कोरोना भाइरस महामारीकाे कारण यो वर्ष विश्वभरको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले खुम्चिने उल्लेख छ ।

यो पछिल्लो ६० वर्षयताकै ठूलो सङ्कुचन हो । कोरोना भाइरसले अर्थतन्त्र सुस्ताउँदा प्रतिव्यक्ति आयमा ३ दशलमव ६ प्रतिशतले कमी आउने र लाखौँ मानिस गरिबीको चपेटामा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

विकसित देशको अर्थतन्त्र ७ प्रतिशतले र विकासशील देशको अर्थतन्त्रमा यस वर्ष साढे २ प्रतिशतले सङ्कुचन आउने विश्व बैंकले जनाएको छ ।  

नेपालको वृद्धिदर जम्मा २ दशमलव १ प्रतिशत

विश्व बैंकले आर्थिक वर्ष २०७७/७८ (२०२१) मा नेपालको आर्थिक वृद्धिदर दुई दशमलव १ प्रतिशतमा सीमित हुने जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि विश्व बैंकले भने जम्मा २ दशमलव १ प्रतिशतको वृद्धि प्रक्षेपण गरेको हो ।

रेमिट्यान्समा आउने कमी, विकास आयोजनामा हुने न्यून बजेट, आर्थिक चहलपहलमा भएको कमि र डलरसँग नेपाली रुपैयाँको अधिक कमजोर लगायतका कारण नेपालमा आगामी आर्थिक वर्षमा धेरै समस्या आउने छन् ।

चालु वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ मा सरकारले २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । तर विश्व बैंकले १ दशमलव ८ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले १ दशमलव २ मात्रै आर्थिक वृद्धिदर रहने अनुमान गरेका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया