कुवेतबाट आज फर्कने जिल्ला जान पाएनन्, कोरोना आशंकामा सबैलाई खरिपाटी क्वरेण्टीनमा लगियो

 जेठ ३०, २०७७ शुक्रबार १७:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : कुवेतबाट हिजाे फर्किएकी महिला

काठमाण्डौ – आज कुवेतबाट फर्किएका सबै महिलालाई खरिपाटीमा रहेको क्वरेण्टीनमा राखिएको छ ।

कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटटी सीसीएमसी स्रोतका अनुसार फर्कने नेपालीमध्ये केहीमा कोरोना सङ्क्रमणको आशंका भएपछि सबै जनालाई खरिपाटीको क्वरेण्टीनमा लगिएको हो ।

कुवेतमा आममाफीमा सहभागी १ सय ४० जना महिलासहित २ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका स्वदेश फर्किएका छन् ।

उनीहरुलाई कुवेतले आफ्नै जहाजमार्फत निःशुल्क नेपाल पठाइदिएको हो । फर्किएकाहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि प्रदेश अनुसारको होल्डिङ सेन्टरमा लगेर सम्बन्धित जिल्ला पठाइने भए पनि आज फर्कनेमध्ये केहीमा कोरोना सङ्क्रमणको आशंका देखिएपछि उनीहरुलाई सिधै क्वरेण्टीन लगिएको सीसीएमसी स्रोतले जनाएको छ ।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो । कुवेतले गएको अप्रिल महिनाभरी नै नेपालसहित विभिन्न देशका नागरिकलाई यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो।

नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको छ । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । बिहीबार पनि २९९ जना नेपाली महिला स्वदेश फर्किसकेका छन् ।

 


अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया