शुक्रबार थपिएका ४४८ सङ्क्रमित कहाँका हुन् ?

 जेठ ३०, २०७७ शुक्रबार १८:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबार एकैदिन चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

चार सय २४ जना पुरुष र २४ जना महिला गरी चार सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका दुई र झापाका सात गरी नौ जना, शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० जना, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका आठ जना र पाटन अस्पताल प्रयोगशालामा धादिङका एक जनामा सङ्क्रमण भेटिएको हो । 

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७, उदयपुरका तीन, सिरहाका ११ गरी ३१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोशी अस्पताल प्रयोगशालामा इलामका एक, झापाका ६ र सुनसरीका १० गरी १७ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३, स्याङ्जाका २२, तनहुँ र नवलपरासी पूर्वका एक/एक गरी ३७ जनामा सङ्क्रमण भेटिएको छ । 

भेरी अस्पतालमा बाँकेका एक र बर्दियाका १५ गरी १६ जना, टेकु अस्पतालमा नवलपरासी पूर्वका चार, मोरङका एक, धादिङका २७ जना गरी ३२ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषाका १४, महोत्तरीका ६ र सर्लाहीका तीन गरी २३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा कपिलवस्तुका चार र सर्लाहीका चार गरी आठ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आठ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ३८ र सुर्खेतका ४५ गरी ८३ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका दुई, गुल्मीका एक, पाल्पाका एक, प्युठानका दुई, नवलपरासी पश्चिमका दुई र रुपन्देहीका १६ गरी २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एक, धादिङका एक, धनुषाका एक, नुवाकोटका एक, रौतहटका ८६, सर्लाहीका ५० र काठमाण्डौका एक जना गरी एक सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । हिजोसम्म चार हजार ६ सय १४ सङ्क्रमित रहेकोमा आज थपिएकासहित पाँच हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालका ७२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या भने आठ सय ७७ पुगेको छ । पछिल्लो विवरणअनुसार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

काठमाण्डौका विभिन्न अस्पतालबाट आठ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना गरी १६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनाबाट अहिलेसम्म १६ जनाले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया