कोरोना सङ्क्रमित व्यक्तिका आफन्तमा पनि देखियो सङ्क्रमण

 असार १३, २०७७ शनिबार २२:०:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी  - डाेटीको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा भारतबाट आएका व्यक्तिबाट घरपरिवारका व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

त्यस गाउँका कोरोना सङ्क्रमित भएका तीन जना युवकका २५, ३१ र ३३ वर्षीया श्रीमतीमा सङ्क्रमण देखिएको पुष्टि भएको हो । यसरी कोरोना सङ्क्रमित व्यक्तिबाट घरपरिवारका व्यक्तिमा भाइरस सरेपछि डोटीमा सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

डोटीमा यसअघि भारतबाट फर्किएका व्यक्तिमा मात्र सङ्क्रमण देखिएको थियो । जिल्लामा पहिलो पटक भारतबाट फर्किएका यस गाउँका युवकमा जेष्ठ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

क्वरेण्टीनबाट घर गएको दुई दिनपछि पीसीआर रिपोर्ट पोजेटिभ आएका गाउँकै १५ जनाको पहिलो सम्पर्कमा आएका सङ्क्रमितका १५ जना आफन्तको स्वाब सङ्कलन गरी पठाइएको थियो । 

जसमध्ये यसअघि पाँच जना सङ्क्रमितको सम्पर्कमा आएका आफन्त पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तीन जना सङ्क्रमितको पहिलो सम्पर्कमा आएका व्यक्तिका तीन जना श्रीमतीको पीसीआर नतिजा पोजिटिभ आएको छ । पाँच जना सङ्क्रमितको पहिलो सम्पर्कमा आएका पाँच जनाको रिपोर्ट आउँन बाँकी रहेको शिखर नगरपालिकाका स्वास्थ्य इका संयोजक हरिष शाहले जानकारी दिनुभयो ।

भारतबाट आएका व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण भएको पहिलो घटना भएकोले सङ्क्रमितको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा पहिलो सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गरिने उहाँको भनाइ छ । डोटीमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या २५५ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया