काम गरेको भुक्तानी लिन बैंकमा उपभोक्ताको भीड

 असार १९, २०७७ शुक्रबार ९:२२:१६ | विमल बिष्ट
unn.prixa.net

डोटी – काम गरेको रकम भुक्तानीका लागि जिल्लाका बैंकहरुमा उपभोक्ताहरुको भीड लाग्ने गरेको पाइएको छ ।

जिल्लाका नौ वटामध्ये केही पालिकामा बैंकिङ सुविधा भए पनि आर्थिक कारोबार नहुने भएका कारण सदरमुकामका बैंकमा उपभोक्ताहरुको भीडभाड लाग्ने गरेको हो ।

अन्य वर्ष जस्तै डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंक लगायत निजी क्षेत्रका बैंकहरुका शाखा कार्यालयमा हिजोआज सेवाग्राहीको  भीड लाग्ने गरेको छ । 

असार महिनाको शुरुवातदेखि नै बैंकमा उपभोक्ताहरुको निकै भीड बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका व्यवस्थापक गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य पालिकाहरुमा बैंक छैनन्, उपभोक्ताका कामहरु सरकारी बैंकमार्फत हुने भएकाले अहिले उपभोक्ता समितिका पदाधिकारीका कारण बढी भीड हुन थालेको हो ।’

पालिकाहरु मार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भीड पनि राष्ट्रिय वाणिज्य बैंकमै लागेको छ । बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने र कतिपएको त पालो समेत नआउने गरेको जिल्लाको केआइसिंह गाउँपालिकाबाट योजना सम्पन्न भएको रकम लिन आउनु भएका सेवाग्राही शंकरबहादुर ऐरले बताउनुभयो । 

‘योजनाको रकमहरु असार महिना भित्रै लिईसक्नु भन्ने गाउँपालिकाले पत्र काटेको छ, यहाँ बैंकमा पालो नै आउँदैन’, उहाँले भन्नुभयो ।

डोटी जिल्लामा रहेका नौ वटा पालिकामा दिपायल सिलगढी नगरपालिका बाहेक अन्य ८ वटा स्थानीय तहमा अहिलेसम्म पनि सरकारी बैंकहरु स्थापना हुन सकेका छैनन् । कतिपय पालिकामा निजी क्षेत्रका बैंक स्थापना भएका भए पनि उनीहरुले गाउँमा आर्थिक कारोबार नगर्ने गरेको र उनीहरुको आर्थिक कारोबार पनि वाणिज्य बैंकबाट नै भइरहेको छ ।

यहाँका केही पालिकामा निजी क्षेत्रका बैंक स्थापना भए पनि उनीहरुको आर्थिक कारोबार दिपायलमा रहेका सरकारी बैंकबाट हुने भएकाले गाउँमा खाता खोले पनि ठूलो रमकको चेक साट्न दिपायल जानुपर्ने बाध्यता रहेको स्थानीयबासी करनबहादुर सिहंले बताउनुभयो ।

यहाँको जिल्ला सदरमुकाममा अन्य बेलाको समयमा सुनसान हुने गरे भए पनि असार सुरु भएदेखि निकै भीड बढेको छ ।

जेठमै सम्पन्न भएका योजनाहरुको भुक्तानी दिन ढिलाइ भएकोले असारमा उपभोक्ताको भीडभाड बढेको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रसाशसकीय अधिकृत टेकबहादुर खड्काको भनाइ छ । 

‘कोरोनाका कारण लकडाउन हुँदा जेठमै सम्पन्न भएका योजनाको भुक्तानीका लागि चेक दिन सकेनौ’ उहाँले भन्नुभयो, ‘अहिले अवस्था केही सहज भएकाले भुक्तानीका लागि पत्र दिन थालिएपछि बैंकहरुमा भीड बढेको हो ।’

गएको वर्षको साउन महिनामै स्थानीय तहमा सरकारी बैंक स्थापना हुने भनिए पनि सुरक्षा, सडक सुविधा विद्युत लगायतका कारणले बैंकहरुले त्यहाँ शाखा विस्तार गर्न गर्न नसकेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका व्यवस्थापक विष्टले बताउनुभयो ।

पालिकामा बैंकिंङ सुविधा नहुँदा पेन्सनधारी कर्मचारी, पालिकाका कर्मचारी, तथा स्थानीय नागरिक बैंकिङ कारोवार तथा तलबभत्ताका लागि जिल्ला र क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका बैंकमा धाउन बाध्य भएका छन् ।

बैंकमा सेवाग्राहीको भीड लाग्न थालेपछि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै यहाँका बैंक कर्मचारीले सङ्क्रमण हुन नदिन विभिन्न सावधानीका उपाय अपनाएर रकम भुक्तानी गर्न थालेका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया