भारतबाट आउनेको सङ्ख्या घट्दै गएपछि क्वरेण्टीन रित्तिंदै

 असार १९, २०७७ शुक्रबार १२:३७:२९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – कोभिड–१९ रोकथामका लागि बैतडीमा निर्माण गरिएका क्वरेण्टीनहरु रित्तिदै गएका छन् ।  भारतबाट घर फर्किनेहरुको सङ्ख्या घट्दै गएसँगै सम्भावित सङ्क्रमित राखिने क्वरेण्टीनहरु रित्तिंदै गएका हुन् । 

जिल्लाभर २५० स्थानमा गरी ६ हजार ९ सय ८९ जनासम्म अटाउने गरी निर्माण गरिएका क्वरेण्टीन रित्तिदै गएका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनुभयो ।

जिल्लाका १० वटै पालिकामा गरेर अहिले ७०६ जना मात्रै क्वरेण्टीनमा बसिरहेका छन् । सिगास गाउँपालिकामा सबैभन्दा बढी १७६ जना क्वरेण्टीनमा बसेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा १११, पुर्चौडी नगरपालिका र दशरथचन्द नगरपालिकामा ७४/७४, पाटन नगरपालिकामा ७३, मेलौली नगरपालिकामा ५८, डिलाशैनी गाउँपालिकामा ५२, शिवनाथ गाउँपालिकामा ४५, दोगडाकेदार गाउँपालिकामा ३१ र सुर्नया गाउँपालिकामा १२ जना क्वरेण्टीनमा बसिरहेका छन् । 

आरडीटी पोजेटिभ देखाएका र भारतबाट फर्किएर १४ दिन पूरा नभएकाहरु क्वरेण्टीनमा बसिरहेका छन् । तर पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या घट्दै गएपछि क्वरेण्टीनमा बस्नेहरुको सङ्ख्या पनि घटेको हो ।
 बैतडीमा अहिलेसम्म २३७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

जिल्लाका सबै पालिकामा कोरोना सङ्क्रमण फैलिएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया