यी क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम, उद्धार टोली तयारी अवस्थामा, स्थानीयले पनि पूर्वतयारी गर्नुपर्ने

 साउन ३, २०७७ शनिबार १५:१:२९ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – नेपालमा मनसुन फेरि सक्रिय हुने भएको छ । अब केही दिन देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केही दिनअघि मनसुन सक्रिय भएर ठूलो पानी पर्दा नेपालले जनधनको ठूलो क्षति बेहोर्नुपरेको थियो । केही दिनअघिको सक्रिय मनसुनले क्षति पुगेका ठाउँमा उद्धार, राहत र प्रभावितको स्थानान्तरणको काम अझै पनि भइरहेको छ । केहीदिन कमजोर मनसुन फेरि सक्रिय हुने भएसँगै थप सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दा, सुरक्षा निकायले परिचालन गर्ने उद्धार टोली र सम्बन्धित सबै निकाय अहिले पूर्वतयारीमा छन् ।

कुन–कुन क्षेत्रमा बढी जोखिम ?

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा अलि धेरै पानि पर्ने भएकोले त्यहाँका नागरिकले अलि धेरै सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । जुन ठाउँमा बढी पानी पर्यो त्यहाँ र त्यस आसपासका क्षेत्रमा पहिरोको जोखिम धेरै हुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलको भनाइअनुसार प्रदेश १, प्रदेश २, प्रदेश ४ र केही हदसम्म प्रदेश ५ मा बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै २०७२ सालको भूकम्पका कारण प्रभावित क्षेत्र सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायत जिल्लाका बासिन्दाहरु पहिरोसँग सतर्क रहनुपर्ने हुन्छ । 

भूकम्प गएका प्रभावित क्षेत्रमा एकदेखि साढे एक प्रतिशत घरहरु जोखिममा रहेका छन् । नेपालमा एक सय ३६ वटा नदी नालाहरु असर पार्ने खालका रहेका छन् । ती नदीहरु तराई भएर बगेर जाने गर्छन् । ती नदी आसपासका क्षेत्रमा बस्ने मानिसहरु विशेष चनाखो हुनुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल बताउनुहुन्छ ।

सरकारको पूर्वतयारी के छ ?

अहिले हरेक जिल्लामा न्यूनतम ५० जनाको उद्धार टोली तयारी अवस्थामा बसेका छन् । कतिपय ठाउँमा उद्धारका लागि नै भनेर नेपाली सेना, सशस्त्र प्रहरीलगायतका दस्ताहरु नै तयारी अवस्थामा राखिएका छन् । नेपालमा विभिन्न चार ठाउँमा हेलिकप्टर ‘स्ट्याण्ड बाई’ राख्ने व्यवस्था मिलाइएको छ । आवश्यकताअनुसार जनशक्ति र अरु हेलिकप्टरको पनि व्यवस्थापन गरिने सरकारले जनाएको छ । बढी प्रभाव पर्ने जोखिमयुक्त क्षेत्रहरुमा क्षति न्यूनीकरणका लागि हरेक घण्टा पानीको सतह मापनको काम भइरहेको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार गृह मन्त्रालय र त्यससँग सम्बन्धित सुरक्षा निकायका अङ्ग पनि तयारी अवस्थामा रहेका छन् । सुरक्षित आश्रय स्थलहरु पहिचार नगरिएको छ भने आवश्यक आर्थिक स्रोतको व्यवस्थापनसमेत गरिएको छ । 

पालिका र जिल्लाहरुले विभिन्न कार्ययोजना बनाएर काम गरिरहेका छन् । ती कार्ययोजना अन्तर्गत रेडक्रसलगायत विभिन्न सङ्घ–संस्थासँग समन्वय गरी तयारी अवस्थामा बसिएको सरकारले जनाएको छ । यो वर्ष गएका वर्षमाभन्दा धेरै पानी परिरहेकोले थप लुगा, खानेकुराहरुलगायत पूर्वाधार बढाएर उद्धार, खोज र राहतका लागि तयारी अवस्थामा बसेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल बताउनुहुन्छ ।

सुरक्षा निकाय के गर्दै छ ?

केन्द्र, प्रदेश, जिल्ला र पालिकामा रहेका सुरक्षा निकायले अहिले आवश्यक निकायसँग समन्वय गरेर पूर्वतयारीसहितका कामहरु गरिरहेको नेपाल प्रहरीले जनाएको छ । आफ्नो क्षेत्रमा बाढी र पहिरो जान सक्ने सम्भवनाको मध्यनजर गर्ने र विपत्ति आउनेबित्तिकै तत्काल प्रभावित क्षेत्रमा उपस्थित हुन पूर्वाधारसहित जनशक्ति तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाही बताउनुहुन्छ । बाढी एवं पहिरोको पूर्वानुमान र त्यसका लागि आफूहरुलाई आवश्यक पर्ने पूर्वाधारबारे गृह मन्त्रालयसँग समन्वय गरेर तयारी अवस्थामा बसेको उहाँले बताउनुभयो । 

तत्काल विपद् आयो भने पहिलो प्राथमिकतामा क्षति नियन्त्रण गर्ने र त्यसपछि उद्धार, सुरक्षाको काम गर्न नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेका छन् । नेपाल प्रहरीले विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन गणसमेत तयार गरेको छ । हरेक प्रदेशमा गुल्महरु छन् । पालिका र रेड क्रसलगायत अरु निकायसँग पनि समन्वय गरेर काम गरिने प्रवक्ता शाही बताउनुहुन्छ ।

जोखिमयुक्त ठाउँमा बसोबास गर्नेले कसरी ध्यान पुर्‍याउने ?

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई पानीको सतह बढ्नेबित्तिकै मोबाइलमा एसएमएस पठाउने जस्ता संयन्त्रहरु बनेका छन् । तर पहिरोको जोखिमबारे पूर्वानुमान लगाउने संयन्त्र अहिलेसम्म तयार गर्न सकिएको छैन । पूर्वसूचना आउनेबित्तिकै सुरक्षित ठाउँ पहिचान गरेर त्यसतर्फ जानुपर्छ । घरमा बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला, अपाङ्गता भएकाहरु छन् भने उनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्छ । 

अत्यावश्यक कागजातहरु जस्तै नागरिकता, जग्गा धनीको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्रहरु सुरक्षित ठाउँमा जुनसुकै समयमा पनि फेला पर्ने गरी राख्नुपर्छ । रातिको समयमा घटना हुन सक्ने भएकोले टर्च लाइटदेखि खानेकुराहरु सुरक्षित रुपमा राख्नुपर्छ । पहिले पहिरो गएको तर अहिले घरहरु बनेका ठाउँहरुमा फेरि पनि पहिरो जान सक्ने भएकोले त्यस्ता ठाउँहरुमा घर वरिपरिका जमिनको अवस्था नियाल्नुपर्छ । 

केही सङ्केतहरु आफूलाई थाहा हुनेबित्तिकै स्थानान्तरण गरिहाल्नुपर्छ । त्यस्तै ११५५, ११४९ लगायत पैसा नलाग्ने फोन नम्बरहरुमा चौबीसै घण्टा फोन गरेर पनि जोखिमबारे बुझ्न सकिन्छ । यी नम्बरमा फोन गरेर आफ्नो ठाउँबारेको पूर्वानुमान पत्ता लगाउन सकियो भने त्यसबाट हुने क्षतिको न्यूनीकरण गर्न सहयोग पुग्ने सरकारले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया