'प्रधानमन्त्रीले राम नेपालमा जन्मेकाे भनेदेखि मिडियामा बाेल्नेहरु नै विशेषज्ञ जसरी प्रस्तुत भइरहेका छन्'

 साउन ८, २०७७ बिहिबार १८:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । 

‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो । सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्य, तथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताउनुभयो । उहाँले ठोरीको अनुसन्धानकाे लागि के व्यवस्था भएको छ, अहिले कत्तिकाे अनुसन्धान भइरहेको छ भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो, अहिले अनुसन्धान कुन चरणमा पुगेको छ, त्यसको विषयमा जानकारी हुनुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेसकै अर्का सांसद पुष्पा भुसालले अनुसन्धान र सत्य, तथ्य प्रमाणित नभइ प्रधानमन्त्रीले रामराज खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताउनुभयो । कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरु नै विशेषज्ञ जस्तो गरी छलफलमा सहभागी भइरहेको उहाँले बताउनुभयो । यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन नहुने उल्लेख गर्दै उहाँले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन खोज्दा यस्ता विषयवस्तुमाथि सरकार प्रमुखले धारणा राख्नुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन् भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नेकपाका अर्का सांसद सरलाकुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपालमा जन्मेको र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएपछि अहिले यो विषय चर्चाको विषय बनेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया