नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध, धादिङको सडक आज बेलुकीसम्म खुल्न सक्ने

 साउन ९, २०७७ शुक्रबार ८:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।

 चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको मुग्लिङ प्रहरीले जनाएको छ । 

हिजोदेखि नै खुल्ने र बन्द हुने क्रम चलिरहेकोमा आज बिहान ४ बजेतिर चारकिलोमा पहिरो गएपछि फेरि अवरुद्ध  भएको प्रहरीले जनाएको हो । 

यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड सञ्चालनमा आउन आज दिनभर नै लाग्ने भएको छ । तर लगातार पानी परेको र अरु साना पहिरो खस्ने, रुख ढल्ने भएकाले थप समस्या भएको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो । 

आज लगातार काम गर्न सकिए बेलुकासम्म एकतर्फी नै भए पनि बाटो खुलाउन सकिने उहाँको भनाइ छ । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड अवरुद्ध भएको हो । 

अप्ठ्यारो ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ । डाइभर्सन बगाएदेखि नै मुग्लिङ भएर धादिङ हुँदै काठमाण्डौ चल्ने कुनै पनि गाडी यो खण्डमा चलेका छैनन् । यात्रुलाई पैदल हिँड्नसमेत समस्या भएको छ । 

यसैबीच पहिरोका कारण नौबिसे, पालुङटार हुँदै हेटौँडा जाने सडकखण्ड पनि अवरुद्ध भएको छ । गएराति धादिङको सातघुम्तीमा पहिरो खसेपछि यो सडकखण्ड अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।
यस्तै पहिरोका कारण अवरुद्ध बेनी जोमसोम कोरोला सडकखण्ड अझै खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड अवरुद्ध भएको हो । 

लामो समयदेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड पनि अझै सञ्चालनमा आएका छैनन् । यो सडकखण्डको जबमु, झ्याले, डाकलांगलगायतका ठाउँमा सडक भासिँदा तथा पुल बगाएकाले सञ्चालन हुन नसकेको हो । 

साँफेबगर मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न पनि समय लाग्ने विभागले जनाएको छ । यस्तै कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । 

पहिरोका कारण अवरुद्ध यो सडकखण्ड  सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ । यस्तै बेशी शहर चामे सडकखण्ड पनि अवरुद्ध छ । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया