'कसैले नेकपा फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थरथर काँप्नुपर्ने आवश्यकता छैन'

 साउन ९, २०७७ शुक्रबार १८:५३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोपरि ठान्ने व्यक्ति र प्रवृत्ति आफै पतन भएर जाने टिप्पणी गर्नुभएको छ ।

४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरि आफूलाई सर्वोपरि ठान्ने र आफैलाई केन्द्रबिन्दुमा राख्नेहरु आफै पतन भएर जाने र त्यो प्रवृत्ति पनि पतन हुने टिप्पणी गर्नुभयो ।

विधिको पालना गरी सङ्गठनलाई सुरु गर्न सके सबै कुरा गति र स्वभाविक प्रक्रियामा अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विधिको पालना गरिएन भने, ‘आईएम द स्टेट’ ठानियो भने, आफूलाई सर्वोपरि ठान्न थालियो भने, आफूलाई मात्र केन्द्रबिन्दुमा राख्न थालियो भने, आफूबाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालियो भने त्यस्तो अहङ्कारको भावनामा चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिकाे पतन हुने बाहेक अर्को केही पनि हुँदैन ।’

नेता नेपालले त्यस्तो प्रवृत्तिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यस्ता विचार र प्रवृत्तिमा यदि हामी केही चुर्लुम्म डुबेका छौँ भने त्यसबाट जोगिन समय छ । तर समय धेरै ढिला हुन थालेको छ ।’ नेता नेपालले कम्युनिस्ट पार्टी फुट्छ कि भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । कसैले पार्टी फुटाउन खोजे ऊ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाला छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थर थर काप्नुपर्ने आवश्यकता छैन ।’

नेता नेपालले पार्टीभित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताउनुभएको छ । पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उहाँले बताउनुभयो । विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘म मान्दिन, म मान्न बाध्य छैन, आदि इत्यादि भन्न कसैले पनि पाउँदैन । त्यो छुट पाइँदैन । मलाई लाग्छ फेरि पनि बुद्धि सबैमा पलाउने छ ।’

नेता नेपालले सबैलाई समयमै जिम्मेवार हुन पनि आग्रह गर्नुभएकाे छ । सबैले आ–आफ्ना कमी कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने उहाँकाे भनाइ छ । सबैले आफ्नो भूमिका सम्झेर कमजोरी सुधार गर्दै अगाडि बढ्न सके विचार, सङ्गठनका हिसाबले पार्टी बलियो हुनेमा उहाँको जाेड छ । श्रेष्ठता व्यवहारमा देखाउन सकिए मात्रै कम्युनिस्ट पार्टीको औचित्य साबित हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया