बाढी र पहिरोका कारण अवरुद्ध देशभरका २९ सडकखण्ड अझै सञ्चालनमा आएनन्

 साउन १२, २०७७ सोमबार ८:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बाढी र पहिरोका कारण अवरुद्ध देशभरका २९ सडकखण्ड अझै सञ्चालनमा आएका छैनन् ।

३५ वटा सडकखण्डमा भने एकतर्फी रुपमा मात्रै गाडी चलिरहेका सडक विभागले जनाएको छ । केही सडकखण्ड लामो समयदेखि खुल्न सकेका छैनन्, भने केही सडकखण्ड एकतर्फी रुपमा मात्रै आलोपालो गरी सञ्चालन भएकाले यात्रुलाई समयमै गन्तव्यमा पुग्न समस्या भएको छ । कतै सडक भासिँदा, कतै पहिरोका कारण र कतै नदीले कटान गर्दा सडक अवरुद्ध छन् । 

अरनिको राजमार्ग अन्तर्गत जम्बु झ्याले-डाकलांग-शिरीसे सडकखण्ड लामो समयदेखि अवरुद्ध छ । अवरुद्ध यो सडकखण्ड खुलाउन समय लाग्ने विभागले जनाएको छ । साँफेबगर-मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने विभागले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । 

यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । एक हप्तादेखि अवरुद्ध बेशी शहर-चामे सडकखण्ड पनि बन्द नै छ । घोप्टेखोला-रामबजार-च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरोका कारण डुम्रे-बन्दीपुर सडकखण्ड पनि अवरुद्ध छ । 

यस्तै महाकाली राजमार्ग अन्तर्गत सतबाँझ दार्चुला सडकखण्ड फेरि अवरुद्ध भएको छ । केही दिन अगाडि अवरुद्ध भएर सञ्चालनमा आएको यो सडकखण्डको ठाउँठाउँमा पहिरो गएकाले फेरि अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

रसुवागढी नाका जोड्ने सडक ५ दिनदेखि ठप्प छ । बिहीबारदेखि अवरुद्ध भएको स्याफ्रु-रसुवागढी सडकको पहिरो हटाउन नसक्दा सडक सञ्चालनमा आउन नसकेको हो ।

कुन सडकको अवस्था कस्तो छ यहाँ हेर्नुहोस् । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया