डोटीमा अत्यावश्यक सेवाबाहेकका सबै गाडीको पास खारेज

 साउन १७, २०७७ शनिबार १४:४९:४५ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ - जिल्ला प्रशासन कार्यालय डोटीले जिल्ला भित्र आउने र जाने अत्यावश्यक सेवाबाहेकका सबै किसिमका गाडीको पास खारेज गरेको छ । 

दिनहुँ कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेपछि अर्को सूचना नआएसम्मका लागि पास खारेज गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

डोटीसहित सुदूरपश्चिम प्रदेशका कैलाली तथा कञ्चनपुर जिल्लामा सङ्क्रमित बढिरहेकाले समुदायस्तरमा समेत सङ्क्रमण हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने गाडी पास खारेज गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारी स्तरबाट लकडाउन खुले पनि हाम्रो जिल्लामा कोरोना सङ्क्रमित दैनिक बढेका कारण समुदायस्तरमा कोरोना फैलिन नदिन हामीले अत्यावश्यक बाहेक अन्य सबै खालका पास बन्द गरेका छौँ, सबैले सावधानी अपनाउनु जरुरी छ ।’

जिल्ला बाहिर आवतजावत गर्ने गाडीको पास बन्द गरिए पनि आन्तरिक रुपमा सञ्चालन हुने यातायातको हकमा भने अनुमति रहेको र कोरोना सङ्क्रमणको जोखिम कम हुने उपायहरु अवलम्बन गरेर मात्र सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

गृह मन्त्रालयले समेत अत्यावश्यक सेवाबाहेकका अन्य गाडीलाई अन्तर जिल्ला प्रवेशमा रोक लगाउन सूचना जारी गरेपछि यहाँको प्रहरी प्रशासनले उक्त नियमको कडा रुपमा पालना गर्न थालेको छ ।

पछिल्लो समय यहाँको प्रहरीले अन्तर जिल्ला सञ्चालन हुने गाडीमा रोक लगाउनुका साथै पास लिएर आएका गाडीसमेत कडा रुपमा जाँच गरी भित्रिन र बाहिरिन दिन थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताउनुभयो । 

जिल्ला भित्र आन्तरिक रुपमा भने सुरक्षाका उपाय अपनाएर गाडी चलाउन पाइने छ । डोटीमा अहिलेसम्म  ५ सय ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया