पूर्वमन्त्रीदेखि सरकारी कर्मचारीसम्म कौसी खेतीमा रमाउँदै

 साउन २२, २०७७ बिहिबार १३:२८:२५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - पूर्व वातावरण मन्त्री गणेश साह अहिले पनि उत्तिकै खुसी हुनुहुन्छ, जति मन्त्री भएको बेला हुनुहुन्थ्यो । उहाँको खुसीलाई निरन्तरता दिएको हो कौसी खेतीले । 

त्यसो त साहले आफ्नो घरको कौसीमा तरकारी फलाउन थाल्नुभएको २०/२२ वर्ष भयो । तर कौसी खेती अहिले उहाँको मुख्य प्राथमिकताको कामभित्र पर्छ । 

पूर्व मन्त्री साह काठमाण्डौको मध्य बानेश्वरमा बस्नुहुन्छ । उहाँले कहिलेकाहीँ मात्रै तरकारी किन्नुहुन्छ । तीन जनाको परिवारलाई पुग्ने गरी उहाँले आफ्नै घरको कौसीमा तरकारी फलाउनुभएको छ । 

कौसी खेती गर्दा विषादीरहित तरकारी खान पाइन्छ । साथै वातावरण जोगाउन समेत  सहयोग पुगेको उहाँ बताउनुहुन्छ । 

वातावरण मन्त्री भइसक्नुभएको मान्छे तपाईँलाई तरकारी किनेर खान त पुग्थ्यो होला नि, किन कौसी खेती गर्नुभयो ? भन्ने प्रश्नमा साह भन्नुहुन्छ, ‘म किसानको छोरो । जनकपुरमा हामी खेती किसानी गथ्र्यौं । मेरो बुवा पनि कृषिको काम गर्नुहुन्थ्यो । काठमाण्डौ आएपछि पनि बुवाले तरकारी खेती गर्नुहुन्थ्यो । फेरि म पनि वातावरणको क्षेत्रमा काम गर्ने मान्छे, बुवाको कामलाई किन निरन्तरता किन नदिने भन्ने लाग्यो, त्यसैले खेती थालेँ ।’

पहिला थोरै मात्र खेती गर्नुभएका उहाँले तरकारीमा विषादीको मात्रा धेरै पाइयो भन्ने कुरा बाहिर आएपछि भने व्यवस्थित रुपमा नै खेती थाल्नुभएको हो । 

उमेरले सात दशक पार गर्नुभएका उहाँको दिन कौसीमा रोपेको तरकारीको हेरचाह र अरुलाई खेती गर्ने तरिका सिकाएरै बित्छ । उहाँले तरकारी फलाएको देखेर उहाँका धेरै आफन्तले पनि कौसी खेती सुरु गरेका छन् । 

उहाँले आफ्नो कौसीमा टमाटर, बोडी,  सिमी, धनियाँ, सलाद, भिण्डी, कर्कलो, मुला, साग लगायतका तरकारी रोप्नुभएको छ । एलोभेरा, पुदिना, तुलसी, बाबरी लगायतका जडीबुटी तथा सयपत्री, मखमली लगायतका फूलका बिरुवा पनि छन् ।

भान्सामा उत्पादन भएका फोहोर कौसीमा गरिएको खेतीमा प्रयोग हुन्छ । यसले गर्दा फोहोर व्यवस्थापनमा पनि सहयोग पुगेको छ । उहाँले कौसी खेतीमा आकाशे पानी संकलन गरेर प्रयोग गर्दै आउनुभएको छ । 

काठमाण्डौ महानगरपालिकाका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले पनि कौसी खेती गर्दै आउनुभएको छ । आफूले पनि खेती गर्ने र अरुलाई पनि तालिम दिने भएकाले उहाँलाई हिजोआज भ्याइनभ्याइ छ । 

उहाँले प्लास्टिकका ट्रे, माटोको गमला, लगायतमा खेती गर्नुहुन्छ । कौसीमा काउली, लौका, खुर्सानी, लसुन, धनियाँ, बोडी, जस्ता तरकारी रोप्नुभएको छ । यस्तै उहाँको कौसीमा अम्बा पनि लटरम्मै फलेका छन् । २०६० सालदेखि उहाँले कौसीमा तरकारी रोप्न थाल्नुभएको हो । 

पुख्र्यौली घर गोरखामा हुँदा उहाँले आफ्नै बारीमा तरकारी रोप्नुहुन्थ्यो । काठमाण्डौ आएपछि खेती गर्ने जग्गा भएन । त्यसपछि उहाँले कौसीमा तरकारी खेती गर्न थाल्नुभएको हो । आर्थिक वर्ष २०७६/०७७ मा मात्रै उहाँले महानगरको ३५ ठाउँमा र भक्तपुरको ५ ठाउँमा कौसी खेती सम्बन्धी तालिम दिनुभयो । 

लकडाउनको समयमा पनि उहाँले अनलाइनमार्फत् तालिम दिनुभयो । पछिल्लो समय तरकारीको भाउ साह्रै महङ्गो अनि विषादीरहित तरकारी पाउन गाह्रो हुन थालेपछि कौसी खेतीप्रति आकर्षण बढ्दै गएको उहाँ बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ ‘मैले तरकारी खेती गर्दा धेरैका कौसी खाली थिए । तर हिजोआज धेरैका कौसी हरिया भएका छन् ।’ कौसी खेतीमा जोड दिन सके किन्नु नपर्ने भएकाले पैसाको बचतसँगै आयात गर्नुपर्ने बाध्यता हट्ने र वातावरण पनि स्वच्छ हुने उहाँ बताउनुहुन्छ ।

उहाँले आफूलाई कौसी खेतीले नै तरकारी खान पुगेको र कहिलेकाहीँ मात्र किन्न परेको बताउनुहुन्छ । भण्डारीले टोखामा रहेको आफ्नो घरमा कौसी खेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘लकडाउनको समयमा पनि खाली बस्नुपरेन ।’

काठमाण्डौ महानगरपालिकाकी वातावरण अधिकृत सानुमैया महर्जन पनि हिजोआज व्यस्त हुनुहुन्छ । उहाँ कौसी खेती र त्यसका लागि आवश्यक गड्यौला मल बनाउनको लागि फोन र अनलाइनमार्फत् जानकारी दिने गर्नुहुन्छ । 

विशेष गरी घरबाट निस्केको कुहिने फोहोरको सदुपयोग कसरी गर्ने भन्ने विषयमा तालिम दिइरहेको उहाँ बताउनुुहुन्छ । उहाँले कौसी खेती र कुहिने फोहोरदलबाट कम्पोस्ट मल बनाउन थालेको दुई दशक भयो । उहाँ भन्नुहुन्छ, ‘घरको फोहोर कुहाएर बनाएको वार्षिक एक टन गड्यौला मल बिक्री गर्छु ।’ त्यसका लागि उहाँले घरमै ६५ वर्गफिट जग्गामा गड्यौला मल प्लान्ट बनाउनुभएको छ । 

‘घरमै भएको फोहोरलाई थोरै मात्र मेहनत र प्रयासले गड्यौला बनाउन सकिन्छ’ महर्जन भन्नुहुन्छ, ‘यसबाट मासिक १७ हजारदेखि ३५ हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।’ तर कौसी खेती गर्दा आफ्नो घरको भार बहन क्षमता अनुसार मात्र गर्न उहाँको आग्रह छ । अरुले यस्तो गर्‍याे, म पनि यस्तै गर्छु भन्नुभन्दा पनि आफ्नो घर कस्तो हो,  नयाँ हो कि  पुरानो, कति भार बहन क्षमता छ भनेर जानकारी लिन उहाँको सुझाव छ । 

कौसी खेती गर्न आवश्यक पर्ने सर-सामान

कौसी खेतीको लागि माटोको गमला, प्लास्टिकको गमला, काठको बाकस, सिमेन्टको बोरा र प्वाल भएको डोको आवश्यक पर्छ । यस्तै खाली टिन, आधा काटिएको ड्रम लगायतका सामान भए पनि हुन्छ । 

त्यसपछि मलिलो पाँगो माटो वा जङ्गलको माटो २ भाग, गोबर मल १ भाग, र बालुवा १ भाग मिलाउनुपर्छ ।  यस्तै साना साना ग्राबेल वा इँट्टाका टुक्राहरु, प्लास्टिकको डोरी वा बाँसका ४-७ फुटसम्मका भाटाहरु, बाँध्नको लागि जुटको सुतली, पिना, हड्डीको धुलो र सुक्ष्म खाद्य तत्वहरु आवश्यक पर्छ ।

कुन समयमा कुन खेती लगाउने ?

कौसी खेती गर्नका लागि मौसमअनुसारका बिरुवा छनोट गर्नुपर्ने ललितपुरको खुमलटारमा रहेको बागबानी अनुसन्धान महाशाखाका प्रमुख एवम् मुख्य वैज्ञानिक डा. ईश्वरी प्रसाद गौतम बताउनुहुन्छ । उहाँका अनुसार विशेषगरी हिउँदे र वर्षा गरी दुई मौसममा खेती गर्न सकिन्छ ।

हिउँदको समयमा बिरुवा उमार्न तुलनात्मक रुपमा सजिलो हुन्छ । यो समयमा धेरै प्रकारका बाली उमार्न सकिन्छ । वर्षा मौसममा उमार्ने विरुवाहरु छुट्टै प्रकारका हुन्छन् । अमिलो जातका बिरुवाहरु वर्षा मौसममा लगाउन सकिन्छ । हिउँदमा विशेष गरेर लहरे बाली लगाउन सकिन्छ । 

वर्षायाममा लौका, घिरौँला, काँक्रो, करेला र फर्सी ठाउँअनुसार रोप्न सकिन्छ । यसैगरी गोलभेँडा, मटरकोसा, खुर्सानी, रायोको साग, चम्सुर, पालुङ्गो र लसुनजस्ता सागसब्जी लगाउन सकिन्छ । फलफुलमा आलुबखडा, आरु, नास्पाती, जापानिज हलुवाबेद र अरु नयाँ हाइब्रिड प्रजातिका बिरुवाहरु रोप्न सकिन्छ ।

वर्षायाममा अमिलो बिरुवाहरु रोप्न सकिन्छ । सुन्तला, कागती, मुन्तला, अम्बाजस्ता बिरुवा वर्षामा निकै फस्टाउँछन् । तरकारीमा विभिन्न किसिमका सागसब्जीका साथै मुला र सलगम रोप्न सकिन्छ । 

खेतबारीमा जस्तैगरी मौसमी तरकारीहरु कौसीमा रोप्न सकिन्छ । विशेषगरी हाइब्रिड जातका तरकारी कौसी खेतिको लागि उपयुक्त मानिन्छ । खेतबारी कम भएको कारण सहरमा बढी प्रभावकारी मानिएकाले यसलाई सहरी खेतीको नाम समेत दिन थालिएको छ । पछिल्लो समय सहरमा यो खेती लोकप्रिय हुँदै गएकोले धेरै जनाको कौसी हराभरा देखिन थालेको छ  ।

अन्तिम अपडेट: चैत १, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • मैया बज्राचार्य मैयन2022धपसि

    Aug. 7, 2020, 9:31 a.m.

    मलाई याे कार्यक्रम अति राम्राे लाग्याे।अाफु बनस्पति शास्त्रीय बिध्यार्थी तथा शिक्षका भएकाे कारणले हाेला मलाई रुचि लाग्छ ।मेरााेाे खेतबारी केहि छैन। र पनि घरकाे छतमा काैसीखेतीकाे प्रभावले केहि फूलका बाेट तरकारीको बाेटहरु पलाएकाे देख्दा खुशी लाग्छ । यसलाई गाेदमेल गरेर केहि फलेको सप्रेकाे पाउँदा मनै अानन्द ला ग्छ।यति मात्र नभएर घरकाे फाेहर व्यवस्थापन का साथमा काैसीकाे हरियाली पनले त झन स्वच्छ वातावरण काे अाभास हुन्छ।यसले घरपरिवारलाई सकरात्मक प्रभाव पारेकाे देखिन्छ भने पढ्ने बालबालिका हरुलाई बिज्ञान बिषयकाे जटिलतालाई सहज बनाउनमा मद्दत गर्छ।घरैबाट बनस्पति बिज्ञानकाे ज्ञानलाई ब्यबहारमा उतार्न सकिन्छ जस्ले गर्दा बिषयगत रुपमा रुचि बढ्दै जान्छ । अार्थिक बाेझमा पनि हल्का गर्ने हुँदा जाे काेहि पनि रमाउन ठाल्छन।यसलाई मजबुत बनाउनेतर्फ लाग्नु अाबश्यक देखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया