चितवनमा ४२ जना सशस्त्र प्रहरीसहित ४६ जनामा कोरोना पुष्टि

 भदौ २, २०७७ मंगलबार १०:२८:५२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा ४२ जना सशस्त्र प्रहरीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

चितवनको राप्ती नगरपालिका-६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीमा कार्यरत ४२ जना सशस्त्र प्रहरीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कुल ६० जनाको परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा  पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

सङ्क्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयो । 

सङ्क्रमित पुरुषहरु १९ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् भने महिलाहरु २८ र ३४ वर्ष उमेर समूहका रहेका छन् । यसअघि त्यही गणमा कार्यरत ८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना त्यही गणमा छन् ।

चितवनको भरतपुर-१० मा रहेको भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना नर्स र दुई जना सरसफाई कर्मचारीमा कोरोना  सङ्क्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका-५, ७ र १० का तीन जना, गोरखा र मकवानपुरका एक/एक जना रहेका छन् । हिजो परीक्षण गरिएको ३ सय ५५ नमुनामध्ये ५० वटा नमुनामा कोरोना पोजेटिभ भेटिएको थियो । ४६ जना सङ्क्रमित थपिएसँगै चितवनमा कुल सङ्क्रमितको संख्या २ सय ५५ पुगेको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया