उज्यालो समाचार प्रभाव : साउदीमा अत्महत्या गरेका कुमारको परिवार त भेटियो, परिवारले कुमारको शव देख्न पाएनन्

 भदौ १५, २०७७ सोमबार १२:१२:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीमा आत्महत्या गरेका कुमार थापाको परिवार भेटिएको छ ।

उज्यालो अनलाइनमा साउदीमा आत्महत्या गरेका कुमार थापाको नेपालको ठेगाना र परिवारको बारेमा थाहा नहुँदा शव अलपत्र परेको खबर देखेपछि परिवार सम्पर्कमा आएका हुन् ।

कुमारको नेपालको घर पर्वतको महाशिला गाउँपालिका १ भएको भन्दै उहाँका आफन्त, छिमेकी र जनप्रतिनिधिले नै प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा सम्पर्क गरेका हुन् । पीएनसीसीकी कार्यक्रम अधिकृत शान्ति सिंहका अनुसार परिवारले सम्पर्क गर्नासाथ कुमारको परिवारको बारेमा जानकारी भेटिएको खबर साउदीमा रहेको नेपाली दूतावासमा गरिएको थियो ।

 

तर दूतावासले परिवार भेटिएको खबर साउदी प्रहरीलाई गर्न खोज्दा प्रहरीले कुमारको शव अन्त्येष्टि गरिसकेको पाइएको छ ।

प्रहरीले शव अन्त्येष्टि गरेको प्रमाण दूतावासलाई उपलब्ध गराएको सिंहले बताउनुभयो । उज्यालोमा प्रकाशित समाचार सबैभन्दा पहिला कुमारको गाउँलेले देखेपछि परिवारलाई देखाएका थिए ।

 

परिवारले केही वर्षदेखि सम्पर्कमा नरहेका आफ्नो मानिस हो भनि प्रमाणित गरेका थिए । परिवारका एक्ला छोरा कुमारको दुई छोरी र एक छोरासमेत रहेको र छोरीको नामबाट शव स्वदेश मगाउने प्रयास थाल्ने सल्लाह भइरहँदा शव अन्त्येष्टि भइसकेको खबर पाउँदा परिवारमा थप निराशा छाएको छ ।

रोजगारीका लागि साउदी गएका कुमार १२ वर्षदेखि घर फर्कनुभएको थिएन । कुमारको श्रीमती पनि वैदेशिक रोजगारीमा यूएईमा रहेको पाइएको पीएसीसीकी कार्यक्रम अधिकृत सिंहले बताउनुभयो । साउदी प्रहरीले नेपाली नागरिक कुमार थापाको बारेमा निकै पछि मात्र दूतावासमा जानकारी गराएको र त्यसपछि परिवार खोज्न पीएनसीसीसँग समन्वय गरेको थियो ।

कुमारको बारेमा गएको बिहीबार उज्यालोमा समाचार छापियो । परिवार भेटियो पनि । तर यो अवधिमा दूतावासलाई जानकारी नै नगराई प्रहरीले कुमारको शव अन्त्येष्टि गरिदिएको छ । कुमारले साउदीको रियादमा गएको मे १ मा नै आत्महत्या गरेको दूतावासले जनाएको छ ।

गैरकानुनी रुपमा काम गरिरहेकाले कुमारको बारेमा कुनै पनि जानकारी हुन सकेको थिएन ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया