झण्डै ५ हजार सुन्तलाका बाेट सुकेपछि ताप्लेजुङका किसान चिन्तित

 भदौ १५, २०७७ सोमबार १६:०:५४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा सुन्तलाको राजधानी भनेर चिनिने फुङलिङ नगरपालिका ८ दोखुमा सुन्तलाका बोट सुकेपछि किसान चिन्तित बनेका छन् । त्यस क्षेत्रमा किसानले लगाएका झण्डै पाँच हजार सुन्तलाका बोट सुकेर नष्ट भएका छन् । 

त्यस क्षेत्रमा प्रत्येक घरमा पाँच सयदेखि एक हजार बोटमा सुन्तला फल्ने गरेका थिए । तर अहिले सबै बोट सुकेकाे त्यहाँका सुन्तला व्यवसायी जंघ सुनुवारले बताउनुभयो । बारीमा लगाइएका सात सय सुन्तलाका बोट सुकेपछि आफू चिन्तित भएको उहाँले बताउनुभयो । 

अर्का किसान कर्णबहादुर सुनवारले पाँच सय बोट सुकेकाे बताउनुभयो । उहाँले भन्नुभयो, ‘वार्षिक झण्डै पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको थिएँ, अब सबै बोट मरेपछि के गर्ने ? अन्योल छ ।’

सुन्तला उत्पादन हुँदा किसानलाई बजारको कुनै समस्या थिएन र अहिले पनि छैन । उत्पादन भएका सुन्तला जिल्ला सदरमुकाम फुङलिङ बजारमा खपत हुने गर्दछ । तर सुन्तलाको बोट नै मरेपछि अब किसानलाई समस्या मात्र भएको छैन, घर चलाउन नै धौधौ परेको छ । 

चार सय बोटमध्ये दुई सय बोट मरेपछि आगो बालेर सकिएको कृषक वसन्त सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुन्तलाका बोट रोग लागेर काम नलाग्ने भएका छन् । सबै सुकेर बाल्ने बेला भए पनि बारीमा सिमी, घिरौला, लौका जस्ता तरकारीमा थाक्रोको रुपमा प्रयोग गरिएको तर आम्दानी भने भएको छैन ।’ 

दोखुका ५० घरपरिवारले सुन्तला बिक्री गरेर घर खर्च धान्ने गरेको थिए तर अहिले आम्दानी नै भएको छैन । 

त्यस्तै ताप्लेजुङमै मिठो सुन्तला फल्ने मानिने मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघु तेल्लाबुङमा पनि सुन्तलाका बोट मरेका छन् । कृषक तुलसी खतिवडाले भन्नुभयो, ‘मीठा र रसिला सुन्तला उत्पादन हुन्थ्यो तर अहिले बोट नै मरेर सकिए ।’ 

सुन्तलाको बोट मरेपछि त्यस ठाउँमा अरु बाली पनि नहुने भएका कारण समस्यामा परेको किसान बताउँछन् । ताप्लेजुङका धेरै क्षेत्रमा सुन्तलाका बोट मर्नु मौसम परिवर्तन पनि एक कारण भएको विज्ञको भनाइ छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया