भारत र चीन जोड्ने सबैभन्दा छोटो ओलाङचुङगोला लोकमार्गको ट्र्याक खोल्न ५ किलोमिटर मात्रै बाँकी

 भदौ २३, २०७७ मंगलबार १७:११:१७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – भारत र चीनलाई जोड्ने नेपालकै सबैभन्दा छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गको ट्र्याक खोल्न अब पाँच किलोमिटर मात्र बाँकी छ । 

पूर्वको समृृद्धिको ढोका मानिएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गको काम धमाधम भइरहेको छ । कोभिड–१९ को प्रकोप विश्वभरि परिरहँदा पनि अहिले फक्ताङलुङ गाउँपालिका ६ लेलेपको फेदीखोलाको खोचमा सडकको ट्र्याक खोल्ने काम भइरहेको उत्तर–दक्षिण ओलाङचुङगोला कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर संजीवकुमार गुप्ताले बताउनुभयो ।  ठूल्ठूला चट्टानका कारण बाँकी रहेको पाँच किलोमिटर ट्र्याक खोल्न भने ढिला हुने उहाँले बताउनुभयो । इन्जिनियर गुप्ताले ब्लास्टिङ गर्न निवेदन दिएको र नेपाली सेनाले त्यो काम गर्नुपर्ने भएका कारण समस्या भएको बताउनुभयो । 

बाँकी रहेको पाँच किलोमिटरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको वन क्षेत्र परेको र ६ सय ३८ वटा रुख कटान गर्नुपर्ने भएकाले सिफारिस गरिसके पनि मन्त्रिपरिषद्बाट कटान आदेश पारित भएर आउन ढिला भएको गुप्ताले बताउनुभयो ।

चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङबाट आलाङचुङगोलासम्म २३ किलोमिटर सडक तीन वर्ष अगाडि नै स्थानीयको पहलमा खनिसकिएको छ । चीनलाई जिम्मा दिइएको आलाङचुङगोलादेखि सदरमुकाम आउने सडक १० किलोमिटर खनिसकिएको छ । 

यो सडक चालु आर्थिक वर्ष २०७७\०७८ मा खुल्ने बताइएको छ । लोकमार्ग खुलेपछि ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, भोजपुर, सङ्खुवासभालगायत पूर्वको समृद्धिका लागि महत्त्वपूर्ण काम गर्ने छ । उत्तर–दक्षिण ओलाङचुङगोलामा पर्ने तमोर करिडोरका लागि चालु आर्थिक वर्षमा एक अर्ब १० करोड रुपैयाँ विनियोजन भएको भए पनि मध्य पहाडी लोकमार्गमा ९० करोड रुपैयाँ गएको छ । त्यो ९० करोड रुपैयाँ उत्तर–दक्षिण ओलाङचुङगोला सडकमा खर्च गरिनु पर्ने माग गर्दै प्रमुख रामबहादुर गुरुङ विभाग जानुभएको छ । 

भारतको रानी भन्सारबाट ताप्लेजुङको टिप्ताला भञ्ज्याङ तीन सय चार किलोमिटर दुरीमा रहेको उत्तर–दक्षिण ओलाङचुङगोला सडक कार्यालयका सूचना अधिकारी संजीवकुमार गुप्ताले बताउनुभयो । 

उता कोशी राजमार्ग अर्थात् भारतको रानीभन्सारदेखि किमाथाङ्कासम्म पुग्न तीन सय १४ किलोमिटरको दुरी छ । किमाथाङ्कादेखि चीनको बजार रिउ पुग्न ६० किलोमिटर र ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट रिउ पुग्न २८ किलोमिटर रहेको फक्ताङलुुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया