पहिले पढाउन भ्याइनभ्याइ, अहिले दैनिकी चलाउन समस्या

 भदौ २६, २०७७ शुक्रबार १०:१:२५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – कीर्तिपुरका सन्देश श्रेष्ठ ६ महिनादेखि फुर्सदिलो हुनुहुन्छ । ६ महिना अघिसम्म उहाँलाई दिनभर स्कुल क्याम्पस पढाएर भ्याइनभ्याइ हुन्थ्यो । बिहान टाउकोमा हेल्मेट भिरेर मोटरसाइकल लिएर निस्केपछि बेलुका अबेर मात्रै घर फर्कनुहुन्थ्यो ।

अहिले हेल्मेट र मोटरसाइकल घरमै थन्किएको छ, उहाँको दैनिकी पनि फेरिएको छ । पहिले पढाउने कामले भ्याईनभ्याई हुँदा पनि उहाँलाई घरको काम गर्न जाँगर चल्थ्यो । अहिले दिनभर फुर्सद भए पनि काम गर्न मन नै लाग्दैन । टाउकोमा हात राखेर झोक्राइरहनुहुन्छ ।

गणित विषय पढाउने उहाँ कीर्तिपुरका ३ वटा स्कुल तथा कलेजमा पढाउँदै आउनुभएको थियो । लकडाउनपछि स्कुल बन्द छन् । एउटा स्कुलमा मात्रै १ घण्टाको अनलाइन कक्षा हुन्छ, बिहान १० बजेदेखि ११ बजेसम्म । त्यही एउटा कक्षा लिनुहुन्छ । अरु स्कुल तथा कलेजले अनलाइन कक्षा सञ्चालन गरेका छैनन् । चार महिनादेखि तलब पनि दिएका छैनन् । 

पहिले दिनमा ९ पिरियडसम्म पढाउँदा उहाँलाई शारीरिक थकान भए पनि अरु तनाव थिएन । अहिले दिनभर फुर्सद हुन्छ । काम गर्न मन लाग्दैन । सुत्दा निद्रा पनि लाग्दैन । भन्नुहुन्छ ‘कमाई छैन कसरी दैनिक खर्च चलाउनु ?’ 

लकडाउन अघिसम्म उहाँले महिनामा ६५ देखि ७० हजार रुपैयाँसम्म कमाउनुहुन्थ्यो ।  अहिले आम्दानीको स्रोत केही पनि छैन । एक पिरियड पढाउने अनलाइन कक्षाको पनि स्कुलले पैसा दिएको छैन । भूकम्पपछि बनाएको नयाँ घरको ऋण  तिर्न बाँकी छ । बैँकले ब्याज छोड्दैन ।

‘बैँकको किस्ता तिर्ने चिन्ता पनि थपिएको छ’ उहाँ भन्नुहुन्छ ‘मेरो त घर भने पनि छ । बैँकले लिलाम नगरे तनाव लिएरै भए पनि बस्छु । कतिपय भाडामा बस्ने साथीहरुलाई त झन् धेरै समस्या छ । उनीहरु अरु काम खोज्न थालेका छन् ।’ 

बिहानै मोटरसाइकल चढेर एउटा कलेजमा गयो, कक्षाकोठामै हेल्मेट राखेर पढायो । अनि फेरि हेल्मेट भिरेर अर्को कलेजमा पुग्यो । हेल्मेट नै बोकेर कक्षाकोठामा पुग्ने र फेरि लगाएर अर्को कलेजमा जान हतार हुने शिक्षकहरु अहिले फुर्सदिला छन् । लकडाउनपछि हेल्मेट कोठाको एउटा कुनामा थन्किएको छ भने घरभित्रै खुम्चिएको छ जिन्दगी । 

काठमाण्डौ र ललितपुरका विभिन्न नाम चलेका कलेजमा पढाउने स्याङ्जाका गणेश पाण्डेको दिनचर्या पनि लकडाउनपछि  बिथोलिएको छ । सामान्यतया बिहान साढे ४ बजेदेखि सुरु हुने उहाँको दिनचर्या खल्बलिएको छ । उहाँ बिहान साढे ४ बजे उठेर ६ बजेदेखि क्याम्पसमा पढाउन पुगी सक्नुहुन्थ्यो । तर अहिले पढाउनुपर्ने विषय घटेको छ, तर त्यति फुर्सद भने छैन । उहाँले पनि गणित विषय नै पढाउनुहुन्छ । लकडाउनपछि उहाँले बिहान १०  बजेदेखि ३ बजेसम्म दैनिक तीन पिरियड मात्रै पढाउँदै आउनुभएको छ । 

तीन घण्टा पढाउने तयारी गर्न उहाँलाई ६/७ घण्टा लाग्छ । उहाँ भन्नुुहुन्छ ‘कामको दुःख धेरै छ, तर पारिश्रमिक भने पाइएको छैन ।’ लकडाउनको सुरुको तीन महिना अर्थात् चैत, वैशाख र जेठ महिनाको उहाँले आधा मात्रै तलब पाउनुभयो । त्यो बेलादेखि स्कुल तथा क्याम्पसले तलब समेत दिएको छैन । १/२ पिरियड मात्रै पढाउने कलेजमा जागिर गयो । अलि धेरै पिरियड पढाउने कलेजमा पनि पारिश्रमिक कति दिने, के दिने भन्नेबारे छलफल हुन सकेको छैन । 

महिनाको ७० हजार भन्दा धेरै कमाउने उहाँको तलब अहिले निकै कम आउँछ । महिनामा १५ हजार कोठाभाडा तिर्नमै खर्च हुन्छ । १५ हजार खानाका लागि चाहिन्छ । ४ जनाको परिवार कसरी चलाउने भनेर उहाँलाई ठूलो चिन्ता छ । भन्नुहुन्छ ‘अनलाइनबाट कक्षा लिन त्यति सजिलो पनि छैन । कहिले बत्ति जान्छ । कहिले ल्यापटप बिग्रन्छ । बनाउन जाने ठाउँ खुला छैन । नयाँ किन्न पैसा छैन । जसरी नि पढाउनै पर्यो ।’  

अहिलेसम्म साँचेर राखेको पैसाले जेनतेन गुजारा चलिरहेको छ । अबका दिनमा के गर्ने भन्ने चिन्ताले उहाँलाई पिरोल्न थालेको छ । ‘अब पनि यस्तै भयो, स्कुल कलेज खुलेनन् र आम्दानीको स्रोत भएन भने कसरी निर्वाह हुन्छ ?’ उहाँ प्रश्न गर्नुहुन्छ, ‘बिरामी परे के गर्ने ? कसरी उपचार गर्ने ?’

राम्रो आम्दानी गरेका र दिन सक्ने क्याम्पस सञ्चालकले शिक्षकहरुलाई सहयोग गर्नुपर्ने र नभएकालाई सरकारले सहुलियत दरमा ऋण दिनुपर्ने उहाँको माग छ  । ‘नेपालमा एउटा मात्रै कलेज पढाएर निर्वाह गर्न सक्ने स्थिति छैन’ उहाँ भन्नुहुन्छ ‘त्यही भएर धेरै ठाउँमा पढाउनुपर्ने बाध्यता हो ।’ 

गुल्मीको सत्यवती गाउँपालिकाका मित्र ढकालको बाध्यता पनि यही हो । उहाँ र उहाँकी श्रीमतीसमेत निजी स्कुलमा पढाउनुहुन्थ्यो । स्कुल बन्द भएपछि काम र कमाइ ठप्प भयो । श्रीमतीले अनलाइनमार्फत् १÷२ वटा कक्षा लिने गर्नु भएपनि उहाँको पढाउने काम भने ठप्प जस्तै नै छ ।

चार जनाको परिवार पाल्न अहिले धौधौ भएको छ । अर्थशास्त्र विषयको अध्यापन गराउँदै आउनुभएका उहाँलाई अहिले घरखर्च चलाउन पनि गाह्रो भएको छ । भन्नुहुन्छ ‘आम्दानी नभएकाले घरखर्च चलाउनै गाह्रो छ, कसरी गुजारा गर्नु ? अहिले विकल्पमा गर्ने काम पनि केही छैन । अरु विकल्प केही खोजौँ भने पनि घरबाट बाहिर निस्कन पाएको छैन । के खोज्नु, के गर्नु ? नगरे कसरी गुजारा गर्नु ?’ 
 

अन्तिम अपडेट: असोज १, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया