अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र, नगर...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - सुख होस् वा दुःख । आँसु होस् या हाँसो । उत्साह होस् या समस्या । जुनसुकै बेला पनि साहित्यकारको कलम रोकिँदैन । कोरोनाका कारण विश्वमा निराशा छाएको अहिले बेलामा पनि साहित्यकारहरु भने निरस छैनन् । कोही पढ्न व्यस्त छन् । कोही रचना रच्न मस्त छन् । कोही भने कोरोना अनुभवसहितका रचना लेख्दै छन् ।
साहित्यको विभिन्न विधामा कलम चलाउने धादिङका दिपेन्द्रसिंह थापाले विभिन्न साहित्यिक रचना रचेर समय बिताउँदै हुनुहुन्छ । घुमफिर गर्न मन पराउने उहाँले कोरोना अगाडि घुमेका स्मरणलाई लेख्दै हुनुहुन्छ । कतिपय लेखेर पूरा गरिसक्नुभयो । उहाँले थुप्रै गीत पनि लेखिसक्नुभएको छ । अरु विभिन्न विधामा पनि उहाँले सिर्जना गरिसक्नुभएको छ ।
उहाँका रचनामा जीवन भोगाइको कथा व्यथा, देशप्रेमको भाव तथा माटोको ममता पाइन्छ । लकडाउनको समयमा विदेशमा धेरै नेपालीले दुःख पाएका कुराहरु बाहिर आए । त्यही दुःखलाई व्यक्त गर्दै उहाँले कोरिया जानुभन्दा बरु खोरिया फाँड्न नै उचित हुने भन्दै यस्तो गीत रचना गर्नुभएको छ ।
आफ्नै भस्मे खोरियामा खोज्छु भविष्य
बिलाउनु छ यही माटोमा एक दिन अवश्य
खन्नेजोत्ने रमाउने उत्सव मेलापात
पसिना र पौरखको लय साथसाथ
टाढा छैनन् बाउबाजेका चिहानका दृश्य
बिलाउनु छ यही माटोमा एक दिन अवश्य
छैन ठूलो महल र सम्पत्तिको खात
बाँच्ने हाँस्ने आधार छन् आफ्नै खुट्टाहात
सिधा बाटो जिन्दगीको एउटै रहस्य
बिलाउनु छ यही माटोमा एक दिन अवश्य ।
कोरोनाकालमा उहाँले ‘हिउँचुलीमा घामका किरण झर्छन् दिनदिनै’ गीत तथा ‘त्रिशूलीको छालहरुमा रहर बगि गयो’ लगायतका गीत पनि रचना गर्नुभएको छ । नेपालमा कोरोना महामारी सुरु हुनुभन्दा पहिला घुम्न गएको बेला देखेको तर लेख्न नभ्याएको गीतलाई उहाँले कोरोनाकालमा लेख्नुभएको हो ।
आफू घुम्न जाँदा देखेको अनुभव सुनाउँदै थापा भन्नुहुन्छ, ‘त्रिशूलीका किनारमा बोटे समूहका मानिस बालुवा छान्न आउँदा रहेछन् ।’ काम सुन खोज्ने तर जीवन चाहिँ गरिब, यही कुरालाई गीतमार्फत् उहाँले यसरी लिपिबद्ध गर्नुभएको छ ।
त्रिशूलीका छालहरूमा रहर बगिगयो
किनारमा छुट्नेसँग उराठ बगर रह्यो
दिन बिते बालुवामा सुन भेट्ने आशमा
दुखियाको जीवन कस्तो सधैँ भासैभासमा
नभेटेरै सुख गए दुःख साथी भयो
किनारमा छुट्नेसँग उराठ बगर रह्यो
बैतडीका अर्का सर्जक कविराज भट्ट बिलौनालाई पनि कोरोनाले घरभित्र थुनिएको र हिँडडुल गर्न नपाएको अनुभव खासै छैन । उहाँ भन्नुहुन्छ, ‘कोरोनाका कारण सिर्जनाकै लागि घोत्लिरहन्छु ।’ छन्दमा कविता लेख्न रुचाउने उहाँले लकडाउन सुरु भएदेखि अहिलेसम्म ३० भन्दा धेरै कविता लेखिसक्नुभयो ।
कविराजले लेख्नुभएको कविता :
१. एकताको बखान
जगत भर जितेको स्वप्न हेर्ने भएमा
सहज सित धराको रुप फेर्ने भएमा
समय कम तथापि पूर्ण बन्ने छ काम
जति गर कम नै हो एकताको बखान
भुनुभुनु भुनु गर्दै साँझमा भर्छ घार
मधुर रस चुसेका माहुरीको कमाल
मनुज सब मिलेमा हुन्न के पो र काम
जति गर कम नै हो एकताको बखान
महल कति ठुला यी इँटाले जोडिएमा
कण कण उडिजान्छन् अस्त्रले तोडिएमा
किरण सब मिलेमा झुल्किने हुन्छ घाम
जति गर कम नै हो एकताको बखान
गगन असल तारा साथमै हुन्छ इन्दु
कण कण जल मिल्दै बिन्दुले बन्छ सिन्धु
मनुज सब मिलेमा विश्वमा मिल्छ मान
जति गर कम नै हो एकताको बखान
असल त कमिलाको पङ्क्तिमा हुन्छ शोभा
मनुज सब हिँडेको जन्तीमा हुन्छ शोभा
नर पशु सब मिल्दै रामको बन्छ काम
जति गर कम नै हो एकताको बखान
मालिनी छन्दमा रचिएको उहाँको यो कवितामा मानिस समाजमा बस्दा एकअर्कामा फुटेर होइन जुटेर बस्नुपर्छ भन्ने भाव अभिव्यक्त भएको छ । एकता नै बल हो । एकताले संसार जित्न सकिन्छ । मानिसभन्दा अन्य प्राणीहरु पनि एकतामा बाँधिएर ठूलाठूला काम गरिरहेका हुन्छन् । जसरी सानो कीरा माहुरीले एकत्रित भएर मह उत्पादन गर्ने कार्य गर्दछ ।
एकएक इटा जोडिएर महल बन्दछ । थोपा थोपा मिली समुद्र बन्दछ, आकाशका तारागण पनि मिलेर बसेका हुन्छन् । रामले बाँदरलगायत पशुहरुसँग पनि एकता गरेर युद्व जिते, एकतामा मानवता र मानवतामा सुन्दरता हुन्छ । यसकारण मानिसले पनि एकतामा बाँच्नुपर्छ भन्ने मानवतावादी दर्शन यो कवितामा पाइन्छ ।
राष्ट्रप्रेम, प्रकृतिप्रेम र शृङ्गार धारमा रचना गर्ने कविराजले कोरोनाका कारण मानिसहरुले पाएका दुःखहरु र यस्तो अवस्थामा मानिसको कर्तव्य के हुन आउँछ भन्ने कुरालाई पनि कविताका माध्यमबाट प्रस्ट पार्नुभएको छ ।
कतिपय वैदेशिक रोजगारीका लागि विदेश गएका युवायुवतीहरु बाटोमै अलपत्र परेका छन् । कति भोकै छन्, कतिपयले ज्यान गुमाउनुपरेको छ । यस्तो कारुणिक अवस्थाको चित्रण गर्दै विदेश जानुभन्दा स्वदेशमै बसेर केही गरौँ भन्ने भावको उहाँको अर्को कविता भने यस्तो छ ।
त्यागेर त्यो रौरव
काला बादलको उपस्थिति बिना के मेघ यो गर्जियो
ल्हासाका सुनको मुना मदनको उस्तै कथा फर्कियो
हाहाकार भयो अहो जगतमा सन्त्रास के फैलियो
एक्लै मौन बनेर बस्नु घरमा कस्तो चुनौती दियो
बाटोमै कति छौ कठै ! मदनझैँ फर्किरहेका जन
बा आमा र मुना बसेर घरमा पर्खिरहेका छन्
भोटे मस्त नसुत्न’ लेकतिरको बाटो भुली रातमा
कोरोनासित लड्न ती मदनका छैनन् कुनै साथमा
चौंरीको दूधमा हिमालतिरका ती औषधिको रस
घोट्दै मानवता मिसेर जनका घाऊहरुमा घस
लाग्छन् जिन्दगीमा कुनै बखतमा औशी अँध्याराहरू
बत्तीझैं तब बल्नु पर्दछ शखे छर्दै उज्यालो बरु
के गर्नु अब ती हिरा र सुनका थैलाहरूले भन
सिस्नोले नुनले बसेर घरमै सेक्ने गरौँ यो मन
पोखी सीप र श्रम जन्मस्थलमै रम्दै गरौँ पौरख
ए साथी घर फर्क आज सबले त्यागेर त्यो रौरव
मदन पुरस्कार विजेता रामलाल जोशी पनि यतिबेला विभिन्न सिर्जना रचनामै ब्यस्त हुनुहुन्छ । उहाँले कथा सङ्ग्रह प्रकाशनको तयारी गर्दै हुनुहुन्छ । कथा प्रकाशनको काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । साथै उहाँले अरु लेखनको कामलाई पनि सँगै अगाडि बढाइरहनुभएको छ ।
साहित्यकार कृष्ण धराबासी अहिले व्यस्त नै हुनुहुन्छ । गएको वैशाख १ गतेदेखि उहाँ बिहान साढे ९ बजेदेखि १ घण्टा नियमित फेसबुक लाइभमा आउनुहुन्छ । यस्तै टिकटकमा साहित्य अपलोड पनि गर्नुहुन्छ । उहाँ अहिले टिकटकले पनि निक्कै उत्साहित देखिनुहुन्छ । टिकटकले नयाँ पुस्तासँग जोडिने अवसर जुरेको उहाँ बताउनहुन्छ ।
अहिलेको समय वास्तवमै लेखनका लागि उर्वर समय भएको लेखन क्षेत्रमा लागेकाहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।