ट्युसन इन्स्टिच्युटका सञ्चालक र पढाउने शिक्षक मारमा

 भदौ ३०, २०७७ मंगलबार ७:१२:८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - स्नातकोत्तर तह पास गरेपछि देशमै केही गरौँ भन्ने सोचले इलामका दुर्गा घिमिरे काठमाण्डौको कीर्तिपुरमा रहेको एउटा इन्स्टिच्युटमा आबद्ध हुनुभयो । दुई वर्षअघि उहाँले ओडीसी नामक इन्स्टिच्युट किन्नुभयो । हातमा पैसा  थिएन ।  ऋण गरेरै भए पनि किन्ने निधो गर्नुभयो । सफल पनि हुनुभयो । 

ओडीसीमा भाषा कक्षा सञ्चालन, लोक सेवा तयारी कक्षा सञ्चालन र  विभिन्न ट्युसनका कक्षाहरु सञ्चालन हुँदै आएका थिए । संस्थामार्फत्  शिक्षक, कर्मचारी गरी १० जनाले रोजगारी पनि पाएका थिए । दैनिक ५ सय विद्यार्थी ओहोरदोहोर गर्ने  संस्था अहिले बन्द छ । 

अनलाइनमार्फत् कक्षा सञ्चालन गर्ने अवस्था छैन । ‘हाम्रो इन्स्टिच्युटमा पढ्ने सबै विद्यार्थीमा इन्टरनेटको पहुँच छैन,  एक्कासी सरकारले लकडाउनको घोषणा गरेकाले त्यतिबेला विद्यार्थीको सबै डिटेल्स राख्न पनि भ्याइएन, समस्या भएको छ’ उहाँले दुखेसो पोख्नुभयो । 

इन्स्टिच्युटमा भाडा ज्यादै महङ्गो भएको उहाँ बताउनुहुन्छ । ‘न घरको भाडा तिर्न सकिएको छ, न त शिक्षक कर्मचारीलाई तलब दिन नै’ उहाँले भन्नुभयो । केही दिन केही महिना  त बन्द होला नि भन्दाभन्दै आधा वर्ष बितिसक्यो । अहिले संस्था मात्रै बन्द छैन,  त्यहाँ भएका कम्प्युटरलगायतका  मेसिनरी सामान पनि बिग्रिएको छ । तत्काल सरकारले निषेधाज्ञा खोलेर जनजीवन सञ्चालन नगर्ने हो भने अवस्था झनै कठिन हुने उहाँले बताउनुभयो । 

संस्था तत्काल खुलिहाल्ने सम्भावना छैन । लामो समय बन्द भएर पछि खोल्दा नियमित लयमा विद्यार्थी र कार्यरत शिक्षकलाई फर्काउन चुनौती हुने उहाँको भनाइ छ । लोक सेवा आयोग तयारीका लागि अधिकांश विद्यार्थी जाने काठमाण्डौको सेडेप इन्स्टिच्युट पनि लकडाउनको घोषणा भएदेखि बन्द छ । लामो समय बन्द हुँदा सञ्चालक समस्यामा छन् भने लोकसेवा आयोगको तयारीका लागि विभिन्न ठाउँबाट आएका हजारौँ विद्यार्थी पनि चिन्तित छन् । 

संस्थाका कोओर्डिनेटरका माधव पाण्डे संस्था बन्द हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारेको बताउनुहुन्छ । अनलाइन कक्षा सामान्य रुपमा सञ्चालन भइरहे पनि कक्षाकोठाको तुलनामा निकै कम विद्यार्थी मात्रै सहभागी हुने गरेका उहाँको भनाई छ । लकडाउनपछि धेरै विद्यार्थीहरु गाउँ फर्किएका छन् । 

गाउँमा इन्टरनेटको पहुँच छैन । कतिपय ठाउँमा त बिजुली बत्तीसमेत नभएकोले अनलाइन पढाइ प्रभावकारी नभएको उहाँ बताउनुहुन्छ । कतिपय विद्यार्थीहरुले दुर्गम गाउँमा रुखमा बसेर, डाँडामा चढेर मोबाइलको डाटाबाट पढ्नुपर्ने अवस्था रहेको छ । कतिपयलाई प्रविधिबारे ज्ञान भएका कारण चुनौतीपूर्ण भएको उहाँको भनाइ छ । सेडेपमा पढाउने १ सय ५० भन्दा धेरै शिक्षकहरु छन् ।  त्यसमध्ये कतिपय पूरा समय पढाउने शिक्षकहरु पनि भएकाले अहिले संस्था बन्द हुँदा उनीहरु बढी समस्यामा छन् ।

 संस्थाको भविष्य र पूरा समय पढाउने शिक्षकसमेत संकटमा परेको उहाँले बताउनुभयो । पुस्तक पसल, प्रिन्ट प्रेसमा काम गर्ने कर्मचारीलाई पनि असर परेको छ । तीनवटा प्रेस  सेडेपसँग मात्र आबद्ध भएका पाण्डेले बताउनुभयो । ती तीन वटा प्रेसमा एउटामा २० जनाका दरले कम्तीमा पनि ६० जना कर्मचारी भएका र उनीहरुलाईसमेत निकै समस्या भएको उहाँ बताउनुहुन्छ । 

भाडा तिरेर बस्नुपर्ने अवस्थाकालाई झनै असर पारेको उहाँले बताउनुभयो । यो संस्था स्थापना भएको २५ वर्ष भइसकेको छ । सेडेपमा  अहिले एउटा कोर्स पूरा गर्न २ देखि ३ महिना लाग्छ । २ देखि ३ महिनाको अवधिमा झण्डै १५ देखि २० हजारको संख्यामा विद्यार्थीहरु हुने गरेका छन् । पाण्डेका अनुसार अहिले तत्कालको लागि खासै विकल्प सोचिएको छैन । निक्कै दुर्गमका विद्यार्थीहरु तयारीका लागि आउने गर्छन् ।

शिक्षा मन्त्रालयले विभिन्न कोर्सको तयारीमा रहेका विद्यार्थीको लागि केही राहतको प्याकेज ल्याउने बताएको छ । सरकारले ल्याउने प्याकेज सस्तो भन्दा पनि गुणस्तरीय हुनुपर्ने उहाँको भनाइ छ । सस्तो इन्टरनेट प्याकेज ल्याए पनि लकडाउनका कारण अत्यधिक इन्टरनेटको प्रयोगका कारण सहज भने नहुने उहाँको भनाइ छ  । 

लामो समय इन्स्टिच्युट बन्द हुँदा सञ्चालकका मात्रै होइन त्यहाँ काम गर्ने शिक्षकहरुको पीडा पनि उस्तै छ । बागबजारको वेभ इन्स्टिच्युट आइक्यूको कक्षा सञ्चालन गर्दै आएका तुलसीराम ढकाल पनि शैक्षिक संस्थाहरु नखुल्दा समस्या भएको बताउनुहुन्छ । 

गुल्मीका ढकाल आफ्नो भविष्य खोज्दै २०६३ सालमा काठमाण्डौ छिर्नुभएको थियो । पहिले कम्प्युटर र आइक्यू पढाउने उहाँले अहिले आइक्यूको कक्षा मात्र अनलाइनमार्फत् पढाउँदै आउनुभएको छ । उहाँले लामो समय विभिन्न स्कुल तथा कलेजमा पढाउनुभएको थियो । लामो समय विभिन्न स्कुल तथा कलेजमा पढाएका उहाँले इन्स्टिच्युटमा अझ राम्रो आम्दानी हुने सोचाइले त्यसतर्फ आकर्षित हुनुभयो । 

कक्षाकोठामा भन्दा अनलाइनमा विद्यार्थीहरु कम मात्रै उपस्थित हुने गरेका छन् । अनलाइनमार्फत् मात्रै पढाउँदा पहिलाको तुलनामा आम्दानी  भने कम मात्रै हुने गरेको छ । त्यसमाथि कहिले बत्ति जाने कहिले नेट बिस्तारै चल्ने लगायतका समस्या भोग्नु परेको उहाँ गुनासो गर्नुहुन्छ ।

कोरोना जोखिमका कारण अरु क्षेत्र र सेवा बिस्तारै खुल्न थाले पनि विद्यालय, क्याम्पस र शिक्षण संस्था कहिले खुल्छन् भन्ने ठेगान छैन । यसले पनि शिक्षण संस्थाका सञ्चालक तथा शिक्षण थप अन्योलमा छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया