कुलमानलाई दोहोर्‍याउन ऊर्जामन्त्रीको प्रस्ताव नै गएन, प्रधानमन्त्रीको रुचि भएन

 भदौ ३०, २०७७ मंगलबार ७:३४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन: नियुक्तिको लागि सोमबारको मन्त्रिपरिषद्को बैठकमा कुरा नै उठ्न सकेन ।

आइतबार नै चार वर्षे कार्यकाल सकिएका घिसिङलाई प्राधिकरणको नेतृत्व दिन सामाजिक सर्वसाधारण, विद्वान, कलाकार पूर्वप्रशासक लगायतले माग गरिरहेका छन् । तर मन्त्रिपरिषद्को सोमबारको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमान नियुक्तिको प्रस्ताव नै लैजानुभएन । ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली घिसिङलाई दोहोर्‍याउने मनस्थितिमै हुनुहुन्न । 

सोमबारको मन्त्रिपरिषद्को बैठकको अन्तिममा पनि ऊर्जामन्त्री वर्षमान पुनले मेरो मन्त्रालयको एउटा कुरा थियो भन्दै हुनुहुन्थ्यो तर प्रधानमन्त्रीले ‘मैले तपाइँको कुरा बुझिसकेँ,  केही मिल्ने रहेछ भने हेरौँला’ भन्नुभएको थियो ।

बैठकको नियमित समयमा कुलमान घिसिङको नियुक्तिका विषयमा कुरै नउठेको भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । ‘बैठकमा विभागीय मन्त्रीले नै कुलमान घिसिङको प्रस्ताव ल्याउनुभएन, अन्तिममा मन्त्रीको खै कुरालाई लिएर हाँसो भएको थियो, औपचारिक प्रस्ताव भने आएकै छैन ’ अर्यालले भन्नुभयो । 

केही दिनअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डले घिसिङलाई दोहोर्याउन प्रधानमन्त्री ओलीसँग कुराकानी गर्नुभएको थियो । ओलीले दुई वर्षको लागि भए पनि कार्यकाल थप्ने बताउनुभएको थियो । तर अहिले ओली दुई वर्षको लागि पनि कुलमानलाई नियुक्ति दिनको लागि आनाकानी गरिरहनुभएको छ ।

‘ऊर्जा मन्त्रालयमा कुलमानलाई नियुक्त गर्ने विषयमा प्रस्ताव लेख्ने काम पनि भएको थियो, तर अहिले प्रधानमन्त्रीको रुचि नभएको मात्रै होइन मन्त्रीज्यूले पनि प्रस्ताव नै लैजान नचाहेको जस्तो देखिएको छ ।’ ऊर्जा मन्त्रालय स्रोतले उज्यालोलाई भन्यो । 

दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्याउन माग गरेका छन् ।

२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा कामविहीन अवस्थामा राख्नुभएको थियो । तर पछि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Arjun

    Sept. 15, 2020, 10:03 a.m.

    मन्त्री र नेताको घरमा inverter व्यवसायीले घरैमा चौबिसै घण्टा बिजुली व्यवस्था गरिदिन्छन् जनताको लागि उज्यालो दिने मान्छेलाई किन पुनर्नियुक्ति गर्न नसक्ने कालो‌ कम्युनिष्ट पापि सरकार जनता सचेत भैसके फेरि पनी सर्वसाधारणको घरमा बत्ती बलेन भने नेता र कार्यकर्ताको घरको बत्ती काट्नु पर्छ ॥

  •  0 Reply

तपाईको प्रतिक्रिया