मजदुरका भाषण गर्नेहरु हराए, तातो भात बाँड्नेहरु खुलामञ्चमै छन्

 असोज ३, २०७७ शनिबार १२:१:२७ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - कोही भोको बस्नु पर्दैन भन्दै खुलामञ्चमा नारा लगाउनेहरु कोही सत्तापक्षमा छन्, कोही प्रतिपक्षमा ।

नारा र भाषण सुनेर उत्साहित हुँदै ताली बजाउनेहरु त्यही खुलामञ्चमा एक छाक भातको आशामा कुरिरहेका छन् । गाँस, बास र कपासको निम्ती भन्दै चर्काचर्का नारा र भाषणले गुञ्जने काठमाण्डौको खुलामञ्च, नयाँ बानेश्वर लगायतका ठाउँ अहिले एक छाक भात खाने  थलोको रुपमा परिणत भएको छ ।

मञ्चमा न्यानो सोफामा बसेर रोजीरोटीको ग्यारेन्टी गर्नेहरु कता हराए पत्तो छैन । यी ठाउँहरुमा तातो भात खानका लागि दिनहुँ सयौं मजदुर निराश हुँदै लामबद्ध हुने गरेका छन् । लामो समय दुई पेट खानाका लागि पसिना बगाएका उनीहरुलाई कोरोनाका कारण गरिखाने बाटो गुमेपछि यही सहरमा अहिले पेट भर्न कठिन भएको छ । तर केही परोपकारी मन भएकाहरुले भने भाषणले भन्दा पनि भातले पेट भरिन्छ भन्दै खाना खुवाउँदै आएका छन् ।

भोकाहरुको पेट पर्दै जुजुकाजी महर्जन

यस्तै परोपकारी मध्येका एक हुनुहुन्छ, काठमाण्डौ स्वयम्भूका जुुजुकाजी महर्जन । हिजोआज महर्जनको दैनिकी  काठमाण्डौको विभिन्न ठाउँहरुमा भोका मानिसको पेट भर्दैमा बित्छ ।  उहाँले क्षेत्रपाटी, ठमेल, बसन्तपुर र टेकुमा  खाना खुवाउँदै आउनुभएको छ । उहाँले लकडाउनको दोस्रो दिनदेखि खाना खुवाउँदै आउनुभएको हो ।

दैनिक ज्याला मजदुरी गर्ने, लकडाउनका कारण रोजगारी गुमेका मानिसहरु प्राथमिकतामा पर्ने गरेका छन् । पछिल्लो समय भने काठमाण्डौमा घर भएका तर आम्दानी नभएकालेसमेत खाना खाने गरेका छन् । सरकारले निषेधाज्ञा गरेपछि काठमाण्डौमा घर भएका तर आयआर्जन गुमेकाहरु पनि खानाका लागि आउने गरेका हुन् ।

जुजुकाजीले लकडाउन नहुँदा पनि उहाँले असहाय र गरिब बालबालिकालाई सहयोग गर्दै आउनुभएको थियो । पहिलेदेखि नै स्कुलहरुमा गरिब असहाय विद्यार्थीहरुलाई उहाँले सहयोग गर्दै आउनुभएको थियो । लकडाउन भएको केही दिनपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने  एउटा परिवार खानाका लागि समस्या भएको भन्दै सानेपादेखि उहाँको घरसम्म आएको  देखेर उहाँमा दयाको भावना पलायो । यस्तो  समस्यामा परेका अरु पनि हुन सक्छन् भन्ने सोचले  सहयोग गर्न थालेको उहाँ बताउनुहुन्छ । 

त्यसपछि उहाँले आफ्ना साथीहरुसँग सल्लाह गर्नुभयो र १८/२० जना मिलेर स्वयंसेवी रुपमा खाना बनाएर खुवाउने काम गर्नुभयो ।  अहिले दैनिक रुपमा ३ सय जनालाई खाना खुवाउने गर्नुभएको छ । डल्लुमा उहाँहरुको साथीभाइ मिलेर ३ सय जनालाई दैनिक खाना तयार पार्नुहुन्छ ।

बिहानको खाना खाने समय १०/११ बजेतिर विभिन्न ठाउँमा पुगेर खाना वितरण गर्दै आउनुभएको छ ।  बाँकी साढे तीन सय जनालाई भने उहाँहरुले विभिन्न संस्थाको सहयोग लिनुहुन्छ । विभिन्न संस्थाहरुसँग दाल, चामल सहयोग मागेर पकाएर विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ।  

उहाँले स्वयंसेवकहरुका घर वा स्कुलका क्यान्टिनहरुमा खाना पकाउने गर्नुभएको छ । अहिले अरुले पनि सहयोग गर्छन् । कतिपयले आफैँ पकाएर पनि दिन्छन् भने कतिपयले अण्डा, चामल र दाल सहयोग गर्छन् । अहिले उहाँको समूहमा २० जना जतिले स्वयंसेवी रुपमा काम गर्छन् ।  

निषेधाज्ञा खुले पनि  ज्यालामजदुरी गरेर खानेलाई अझै समस्या हुने भएकाले केही दिन सहयोग गर्ने उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ ‘कतिपय रिक्सामा, कतिपय सडक पेटीमै सुतेका हुन्छन् । त्यस्ता व्यक्तिलाई सहयोग नगरी मनले नै मान्दैन ।’  

मान्छे भोको बस्न नपरोस् भन्ने आफ्नो चाहाना भएको उहाँ बताउहुनन्छ। सबैमा सहयोगी भावना भएमा र एक जनाले अर्को एक जना गरिब तथा दुःखीलाई सहयोग गरेमा कोही पनि भोकै बस्न नपर्ने  उहाँको भनाइ छ । 

मनको समेत उपचार गर्ने डाक्टर मनिषा केसी

बाहिरी घाउमा मलम मात्रै होइन, मनको घाउ समेत सिलाउने अर्की परोपकारी हुनुहुन्छ  डाक्टर मनिषा केसी । केसी किस्ट अस्पताल काठमाण्डौमा कार्यरत हुनुहुन्छ । उहाँको काम अहिले किस्ट अस्पतालमा बिरामीको उपचार गर्नेमा मात्रै सीमित छैन, कोरोनाको कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नमा पनि उहाँ त्यत्तिकै सक्रिय हुनुहुन्छ ।

अस्पतालको नियमित काम मिलाएरै उहाँ दुःखी, असहाय, खान नपाएका र दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई खाना खुवाउने काममा लाग्नुहुन्छ । सुरुमा उहाँले फ्राइ राइस, सादा खाना लगायतका खानेकुरा प्याकेट बनाएर रिक्सा चालक,  ट्याम्पु चालक तथा सडकमा एकदमै भोका भएकाहरुलाई बाँडेर सहयोग गर्नुभयो ।  भन्नुहुन्छ ‘खानाको अभावमा के कस्तो समस्या हुन सक्छ  भन्ने कुरा डाक्टर भएकाले मैले बुझेको छु । त्यही भएर पनि सामाजिक सेवा गर्दा सन्तुष्टि मिल्छ ।’ 

अस्पतालमा एक दिन चौबीस घण्टा काम गरेपछि केही दिन छुट्टी हुन्छ । त्यही समय मिलाएर उहाँ खाना बनाउने बाँड्ने, त्यति पनि नसके दाल, चामल सहयोग गर्नुहुन्छ । उहाँलाई उहाँको समूहमा रहेका अरु साथीहरुले पनि  सहयोग गर्छन् । 

उहाँले साथीहरुको सहयोगमा  स्कुल, क्षेत्रपाटी, ठमेल लगायतका ठाउँमा खाना वितरण गर्ने गर्नुभएको छ  । उहाँका साथीहरुको सहयोगमा दैनिक ३, ४ सय जनाले खाना खाने गरेका छन् ।  सडकमा मात्र होइन, समस्या भएका परिवारलाई घरमै पनि खाना पुर्याउँदै आउनुभएको छ । 

‘म त आँखामा नै भोक देख्छु’ भन्नुहुन्छ ‘एक पेट खानाका लागि टाढाटाढादेखि  आउनुपर्ने उहाँहरुको पनि बाध्यता नै हो ।’ भोको एक जनाको पेट भरिँदा पनि आफूलाई खुसी मिल्ने उहाँ बताउनुहुन्छ । कोरोनाको डर मानेर घरमै बस्दा मान्छे खान नपाएर ज्यान गुमाउन सक्छन् भन्ने उहाँलाई लाग्यो । त्यही भएर परिवार पनि कन्भिन्स गर्नुभयो । खाना बाँड्दा पनि उहाँहरुले सामाजिक दुरी कायम गर्ने, सुरक्षा सावधानीका उपाय अपनाउने गर्नुभएको छ । उहाँले मास्क नभएकाहरुलाई मास्क पनि वितरण गर्दै आउनुभएको छ । 

दैनिक ७ सयलाई खाना खुवाउने अंशु

काठमाण्डौ बानेश्वरका अंशु यादव पनि अहिले खाना खुवाउने काममा सक्रिय हुनुहुन्छ । उहाँ र उहाँको समूह मिलेर अहिले रत्नपार्कमा दैनिक ७ सय जनालाई खाना खुवाउँछ । सुरुमा उहाँले काठमाण्डौको पशुपतिबाट खाना वितरणको काम सुरु गर्नुभयो ।

त्यसपछि रत्नपार्क, नयाँ बानेश्वर, नयाँ बसपार्क, कलंकी र जडीबुटी लगायतका ठाउँमा खुवाउनुहुन्थ्यो । अहिले भने रत्नपार्कमा मात्र खुवाउने गर्नुभएको छ । दैनिक रुपमा ६ सयदेखि ७ सय जनालाई खाना खुवाउने गर्नुभएको छ । उहाँको पनि आफ्नै साथीहरुको सहयोग छ ।

साथीहरुले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् । देशका विभिन्न ठाउँ र विदेशबाट पनि सहयोग मिलेको उहाँले बताउनुभयो ।अंशुको समूहमा २५ जना छन् । अहिले उहाँको आफ्नै टोल, छिमेकी मिलेर खुवाउन थाल्नुभएको छ ।

लकडाउन सुरु भएपछि एक्लै ५ देखि १० जनालाई उहाँले खाना खुवाउनुभयो । त्यसपछि बिस्तारै बढाउँदै लैजानु भएको हो । अप्ठ्यारोमा भएकालाई चामल दिनुभयो । केहीलाई राहत पनि दिएको तर कसैको ग्याँस, मरमसला केही पनि नभएकाले उहाँले फेरि आफैँले पकाएर खुवाउन थाल्नुभएको हो ।

अंशु बिहान ७ बजेदेखि रातिसम्म यही काममा लाग्नुहुन्छ । भाँडा सफा गर्न मात्रै उहाँहरुलाई  डेढदेखि २ घण्टा लाग्छ । बाहिरको मानिसलाई ल्याउन परेको पनि छैन । टोल छिमेकीले नै सहयोग गर्दै आएका छन् । ज्याला मजदुरी गर्ने, अस्पतालमा कुरुवा बस्ने र आयआर्जन गुमाएकाहरुले निःशुल्क खान पाउँछन् ।

जुजुकाजी, मनिषा र अंशुजस्तै अरु केही व्यक्ति तथा संघसंस्थाहरु यसैगरी भोकाहरुको पेट भर्ने अभियानमा जुटेका छन् । हजारौंको भिडमा आश्वासन मात्रै दिने उधारो जिब्रोहरुभन्दा केही सय मानिसहरुको भोक मेटाउने यी हातहरु साँच्चै नै महान छन्  ।   

अन्तिम अपडेट: कात्तिक ५, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • राजेन्द्र भारी

    Sept. 19, 2020, 4:49 p.m.

    अति सह्रानीय काम गर्नुभएकाेमा हार्दिक धन्यवाद । वहांहरूकाे माेवाइल नं पाउन पाए केही सहयाेग मैले पनि गर्नेे थिएं ।

  •  0 Reply

तपाईको प्रतिक्रिया