बजार खुल्यो, व्यापार भएन

 असोज ६, २०७७ मंगलबार ७:५:२२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – गएका वर्षहरुमा दशैँ आउनुभन्दा महिना दिन अघिदेखि नै बजारमा चहलपहल भइसक्थ्यो । किनमेल गर्नेहरुको घुईंचो हुन्थ्यो । बजारको चहलपहल देखेर दशैँ आउन लागेको झल्को मिल्थ्योे ।

तर यो पटक कोरोनाका कारण बजारमा किनमेल गर्ने मानिसहरुको चाप कम भएसँगै व्यापार व्यवसाय गर्नेहरुमा पनि त्यति उत्साह देखिँदैन । अहिले बजार सबै खुले पनि ब्यापार नभएकाले दशैँ कसरी मान्ने भन्ने चिन्ता व्यापारीलाई छ । 

उदयपुरका रमेश अधिकारी कीर्तिपुरमा ठेलामा फलफुल र तरकारीको ब्यापार गर्नुुहुन्छ । उहाँले व्यापार गर्न थाल्नुभएको ३ वर्ष भयो । गएका वर्षहरुमा चाडपर्व आउनै लाग्दा फलफुलको व्यापार राम्रो हुने गरे पनि यो वर्ष त्यति राम्रो व्यापार नभएको उहाँ बताउनुहुन्छ ।  तीन वर्षको अवधिमा  ठेलामा कहिले तरकारी त कहिले फलफुल बेच्दा राम्रै कमाइ हुन्थ्यो ।  तर कोरोना नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउनपछि ओरालो लागेको व्यापार अहिले पनि उंभो लाग्न सकेको छैन । मुख्य चाडपर्वहरुमा पनि व्यापार सप्रिंदैन कि भन्ने चिन्तामा हुनुहुन्छ उहाँ  ।  

५/६ महिनासम्म राम्रो ब्यापार भएन । भन्नुहुन्छ, ‘पसल ब्यवसाय खुल्यो, अझै राम्रो व्यापार हुन सकेको छैन ।’ लकडाउनको समयमा पनि उहाँ लुकिछिपी ठेला धकल्दै हिँड्नुभयो । तर  राम्रो व्यापार भएन । अहिले सामान्य अवस्थामा जस्तो व्यापार भइनसकेको उहाँको भनाई छ  ।

‘लकडाउन त खुल्यो, तर के गर्नु ? मान्छेको पहिलो प्राथमिकता भात रहेछ । भात खाएर बचेको पैसाले पो फलफुल किन्ने हुन् नि । अहिले मान्छेको आम्दानी घटेको छ, भात त कसरी खाउँ भनेको बेला फलफुल कसरी किनेर खालान् र खै ?’ उहाँ भन्नुहुन्छ ।

धेरै लगानी गरेर ठूलै व्यवसाय सञ्चालन गर्न मन लागेको छ उहाँलाई । तर बुबाआमाले आशीर्वाद दिँदा ठूलो हुनु भनेजस्तो ठूलो हुने, पैसा कमाउने दिन कहिल्यै आएन उहाँको । 

नुवाकोटका दीपक श्रेष्ठको कीर्तिपुरमा कपडाको पसल छ । उहाँले कपडाको पसल सञ्चालन गर्न थाल्नुभएको साढे दुई वर्ष भयो । लकडाउनपछि व्यवसाय निकै कम भएको उहाँको भनाई छ । पहिला दैनिक रुपमा १२ देखि १५ हजार रुपैयाँ ब्यापार हुन्थ्यो ।

तर अहिले २/३ हजार रुपैयाँ मात्र हुन्छ । उहाँले सटरभाडा बापत महिनाको ११ हजार रुपैयाँ तिर्दै आउनुभएको छ । पोहोर परार  दशैँ आउनुभन्दा अगाडि राम्रो ब्यापार हुने गरेको थियो । तर अहिले पोहोरको तुलनामा ३ भागको १ भाग पनि कमाई नभएको उहाँको भनाई छ । उहाँले १/२ महिनादेखि सटरको भाडा समेत तिर्न सक्नुभएको छैन ।  

‘गाडी चलेकाले मानिस झन् गाउँ फर्किएका छन् ।  र पहिला गाउँ फर्किएकाहरु पनि काठमाण्डौ नफर्केकाले व्यापार राम्रो होला जस्तो देखिंदैन’ उहाँले भन्नुभयो ।

कोरोना संक्रमित बढिरहेकाले कतै फेरि पनि लकडाउन भएर व्यापार झन् थला पर्ने त होइन भन्ने चिन्ता पनि उहाँलाई उस्तै छ । 

धादिङका दिनेश भट्टले काठमाण्डौमा पसल सञ्चालन गर्नुभएको ९ वर्ष भयो । उहाँको तरकारी पसलमा पनि अहिले खासै व्यापार छैन । एकातिर तरकारीको भाउ महङ्गो भएको छ भने अर्कोतिर मानिसको आम्दानी घटेकाले पनि व्यापार निकै कम मात्रै हुने गरेको उहाँको भनाई छ ।

कीर्तिपुरमा प्रायः विद्यार्थीहरु पढ्नका लागि बस्ने गर्छन् । धेरै विद्यार्थीको पढाई अहिले अनलाइनमार्फत् भए पनि प्रत्यक्ष कक्षा कोठामा छैन । त्यसले गर्दा पनि विद्यार्थीहरु घर गएकाले मानिस नै कम भएकोले व्यापार नभएको उहँको भनाई छ । यस्तै कतिपय ग्राहकहरु घर गएकाले उहाँको पसलमा पनि राम्रोसँग व्यापार हुन सकेको छैन । 

सुरुमा उहाँले कीर्तिपुरको चौकी नजिकै त्रिपालमा तरकारी राखेर बेच्ने गर्नुभएको थियो । नगरपालिकाले त्यसरी  राख्न नदिएपछि उहाँले ठेलामा पनि केही समय तरकारी राख्नुभयो । त्यसपछि फेरि सटर भाडामा लिएर तरकारीको व्यापार थाल्नुभएको हो । सुरुका दिनमा ग्राहक रिजाउन दुःख थियो । पछि उहाँको पसलमा धेरै मानिस आउन थालेका थिए ।

भन्नुहुन्छ ‘मिलनसार स्वभाव भएकाले पनि होला धेरै मानिस मेरोमा किन्न आउँथे । तर अहिले भएका पनि घर गएका छन् ।’ दशैँ खर्च पनि हुन्छ कि हुँदैन भन्ने उहाँलाई चिन्ता लागेको छ । ५/६ महिना बन्द भएकाले पुरानो लयमा फर्काउन समस्या भएको उहाँको भनाई छ ।

पहिला पनि उहाँले धादिङमै खेतीपाती गर्नुभएको थियो । उत्पादन ग¥यो, बजारमा पुर्यायो, तर भाउ नहुने ।  केही सिप नलागेपछि उहाँ काठमाण्डौ छिर्नुभएको हो । अहिले त झनै गाह्रो भएको उहाँले बताउनुभयो । लकडाउन र निषेधाज्ञा खुले पनि सोचे अनुसार व्यापार हुन सकेको छैन । किन्न आउनेहरुले पनि उहाँसग पैसा नभएको गुनासो गर्छन् ।

पहिला दैनिक रुपमा ५/६ हजार रुपैयाँसम्म ब्यापार हुन्थ्यो । तर अहिले लगानी उठाउनै गाह्रो भएको उहाँ बताउनुुन्छ । कहिलेकाहीँ त आफूले किनेको रेटभन्दा पनि सस्तोमा बेच्नुपर्ने बाध्यता छ उहाँलाई । 

काभ्रेकी बिनिता तामाङले  पनि कीर्तिपुरमै मःम पसल सञ्चालन गर्नुहुन्छ । मःम पसल सञ्चालन गर्नुभएको २ वर्ष भयो । लकडाउन भएपछि उहाँ आफ्नै गाउँ फर्कनुभयो । काठमाण्डौमा सबै खालको ब्यवसाय सञ्चालन गर्न पाइने भनेपछि उहाँ गाउँबाट काठमाण्डौ फर्कनुभयो । तर अहिले बेकारमा फर्किएछु भन्ने लाग्छ बिनितालाई ।

हिजोआज हाई काढेरै उहाँको दिन बित्ने गरेको छ । ‘१/२ घण्टामा बल्ल एक, दुई जना मानिस मःम खान आउँछन्, बस्दाबस्दा दिक्कै लाग्छ’ उहाँले भन्नुभयो, ‘पसल त खोलियो । मान्छे आउँदैनन् के गर्ने ?’ 

महिनामा १० हजार रुपैयाँ सटरको भाडा तिर्दै आउनुभएका्े छ उहाँले । ‘अब दशैँ लाग्न लागिसक्यो कसरी गुजारा गर्ने होला ? रित्तै घर फर्कनु कि अलिअलि कमाएर फर्कनु ? कमाएर फकौँ भने कसरी कमाउनु ?’ उहाँले मेसो पाउनुभएको छैन ।

अन्तिम अपडेट: फागुन २९, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया