नेपालका लागि ईयूकी नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाकाे प्रमाणपत्र पेस

'म नेपाललाई हेर्न, बुझ्न र सबै पक्षसँग मिलेर काम गर्न उत्साहित छु'

 असोज ११, २०७७ आइतबार १९:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका लागि युरोपियन (ईयू) युनियनकी नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासका भएको कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत नोना डेप्रेले ओहदाको प्रमाणपत्र पेस गर्नुभएको हो । उहाँले नेपालका लागि युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न पाउँदा आफू निकै खुशी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘म नेपाललाई हेर्न–बुझ्न, नेपाली जनतालाई भेट्न र नेपाली संस्थाहरु एवं  नागरिक समाज, निजी क्षेत्र, मिडिया, अन्तर्राष्ट्रिय साझेदारहरु र सम्बद्ध सबै राजनीतिक, सामाजिक र आर्थिक सरोकारवालाहरुसँग मिलेर काम गर्न उत्साहित छु ।’

झण्डै पाँच दशकदेखि युरोपियन युनियन नेपालको एउटा भरपर्दाे विकास साझेदार र मुख्य दाताका रुपमा रही आएको छ । ईयूले नेपाल सरकारसँगको सहमति अनुरुप तीन प्राथमिक क्षेत्रमा सहकार्य गरिरहेको छ । 

सन् २०१४–२०२० मा ईयूले नेपाललाई प्रदान गर्ने सहायताको कुल लागत ३६ करोड युरो अर्थात् झण्डै ५० अर्ब रुपैयाँ रहेको छ । नेपालमा कोरोना महामारीको बेला युरोपियन युनियनले सात करोड ५० लाख युरो अर्थात् १० अर्ब रुपैयाँ तत्काल उपलब्ध गराएको थियो । 

यो सहयोगका लागि ईयूले ‘टिम युरोप इनिसिएटिभ’ को मर्मअनुरुप अन्य ईयू सदस्य राष्ट्रहरुसँग निकट रुपमा संयोजन गरेको थियो । विश्वव्यापी रुपमा पनि ईयूले १६ अर्ब युरोको कोष निर्माण गर्न सहयोग गरेको थियो ।  

विश्वका लागि नै कोरोनाको खोप, परीक्षण तथा उपचार गर्न त्यो कोषलाई उपयोग गरिने नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले निकालेको विज्ञप्तिमा उल्लेख छ । 
   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया