अस्वस्थ खानपान र जीवनशैलीका कारण मुटु रोग लाग्ने सम्भावना

 असोज १३, २०७७ मंगलबार ८:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अस्वस्थ खानपान र जीवनशैलीका कारण मुटु रोग लाग्ने सम्भावना धेरै हुने भएकाले ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।

पछिल्लो समय तयारी खानेकुरा खाने, घर बाहिर खाने, चिल्लो, बोसोयुक्त खानेकुराका साथै रक्सी, चुरोट खाने तर व्यायाम नगर्ने कारणले मुटुका रोगी बढेका मुटुरोग विशेषज्ञ डाक्टर अमित श्रेष्ठले बताउनुभयो ।

चिल्लो तथा बोसो भएको खानेकुरा कम खाने, कसरत गर्ने र नुन कम खान सके मुटु रोग लाग्नबाट केही हदसम्म बच्न सकिने उहाँको भनाइ छ । यस्तै अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मुटुरोगीलाई समस्या थपिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीले बताउनुभयो ।

मुटुसम्बन्धी कुनै पनि रोग गम्भीर स्वास्थ्य अवस्था भएकाले त्यसलाई बेवास्ता गर्दा घातक परिणाम निम्तिन सक्ने बताउँदै उहाँले आफूलाई रक्तचाप, हाई कोलेस्टेरोल, मधुमेह वा अन्य किसिमका समस्या भएको जस्तो लाग्नासाथ उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचारबापत बेहोर्दै आएको छ । १५ वर्षभन्दा मुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रुपमा गरिरहेको छ ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टरलगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दा कम र ७५ वर्ष उमेरभन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ । यस्तै मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ ।

मुटुको भल्ब फेर्नुपर्ने व्यक्तिलाई पनि भल्ब निःशुल्क उपलब्ध गराउँदै आएको छ । मुटुको भल्बमा उमेरको छेकबार लाग्दैन । त्योबाहेक अरू कारणले बिग्रेको छ भने सरकारले सहयोग गर्दैन । यस्तै बाइपास अपरेसनमा पनि सरकारी सुविधा छैन ।

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गरेका विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । संगठनले सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा अहिले झण्डै ७५ लाख मुटुरोगी छन् । ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदैछ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया