उचित संरक्षणको अभावमा जीर्ण बन्दै डोटीका दरबार र धर्मशाला

 असोज १३, २०७७ मंगलबार १२:५३:४२ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा राणाकालमा निर्माण गरिएका सयौं धर्मशाला तथा दरबार उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

सम्बन्धित निकायले संरक्षण तथा संवर्द्धन गर्न नसकेका कारण ती धर्मशाला तथा दरबारहरु भत्किन थालेका हुन् । यतिमात्र नभएर सरकारी उदासीनताका कारण यहाँका कतिपय धर्मशाला त व्यक्तिले आफ्ना निजी काममा समेत प्रयोगमा ल्याएको स्थानीयबासी बताउँछन् । 

जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, बडीकेदार गाउँपालिका लगायतका विभिन्‍न गाउँपालिकाका राणाकालमा निर्माण गरिएका सयौं धर्मशाला अहिले उचित संरक्षण तथा मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन् । 

गाडी सञ्चालन नभएको समयमा बटुवाहरुका लागि विश्राम गर्नका लागि राणाकालीन अवस्थामा निर्माण गरिएका धर्मशालाहरुमा अहिले सरकारी तथा स्थानीय स्तरबाट उचित संरक्षण र मर्मतका लागि पनि पहल नभएको जोरायल गाउँपालिका-३ का स्थानीयबासी दिनेशबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो,'गाडी नहुँदा बटुवाहरु बास बस्नका लागि बनाइएका धर्मशालाहरु अहिले पालिकाले संरक्षण नगर्दा भत्किन थालेका छन्, यसको संरक्षण तथा जगेर्ना गर्न जरुरी भएको छ ।' सरकारी सम्पत्तिका रुपमा रहेका धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गर्ने तथा केही भत्किन थालेका भए पनि सम्बन्धित निकायले संरक्षणका लागि कुनै पहल नचालेको स्थानीयवासीको आरोप छ ।

तराईबाट पहाड आउने तथा पहाडबाट तराई जाने बटुवाका लागि डोटीको जोरायल गाउँपालिका तथा शिखर नगरपालिकाको नापानी, तेलेलगायत ठाउँमा निर्माण गरिएका राणाकालीन धर्मशाला अहिले कतिपय जीर्ण बनेका छन् । कतिपय भैंसी गोठालाले आफ्ना खर्क बनाएको पाइएको जोरायल गाउँपालिका-५ का स्थानीयबासी निरोज विष्टले बताउनुभयो ।

 शिखर नगरपालिका-१ नापानी भन्ने ठाउँमा तत्कालीन स्व.राजा वीरेन्द्रको पालामा बनेको सिलेटले छाएको एकतले पक्की धर्मशालामा एकजना कर्मचारी भर्ना गरी विगतमा बटुवाले गाईगोरु बाँधेको र मान्छे सुतेको पैसा लिने गरिएको र त्यही रकमबाट निज कर्मचारीलाई तलब खुवाउने गरिएको थियो ।

अहिले नगरपालिकाले वनभोज खाने स्थल ‘पिकनिक स्पट’ बनाउने भन्दै कर्मचारी हटाइएपछि याे धर्मशाला व्यक्तिले निजी बनाएको स्थानीयबासी बताउँछन् । यसरी निजी रुपमा प्रयोगमा ल्याउँदा पनि कसैले किन व्यक्तिगत बनाएको भन्नेसम्म आवाज नउठाएको शिखर नगरपालिका-१ का श्याम बोगटीले बताउनुभयो ।

डोटीसहित यहाँका अन्य अछाम, डडेल्धुरा, बाजुरा, बझाङ, कालीकोट र सुर्खेत जिल्लामा तराईबाट आवतजावतका लागि छोटो तथा सजिलो बाटो डोटी भएका कारण पनि तत्कालीन राणाकालमा डोटी जिल्लामा सबैभन्दा बढी धर्मशाला निर्माण भएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाठकले बताउनुभयो ।

सदरमुकाम सिलगढीको ‘मल्लोढोका’ नामले चिनिने राणाकालीन दरबार पनि संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । राणाकालीन गौँडा रहेको समयमा लामो समयसम्म बडा हाकिमको निवासको रुपमा प्रयोग भएको थियो ।

डोटीको दिपायल सिलगढी नगरपालिका- ६ नाचन्थलीमा रहेको याे दरबार राणाकालमा वडा हाकिमको निवासका रुपमा प्रयोग हुँदै आएकामा राणाशासन पछिका धेरै वर्षसम्म जिल्ला पञ्चायत लगायतका विभिन्न सरकारी कार्यालयले प्रयोग गर्दै आएका थिए ।

सिलगढीका स्थानीयबासी सिद्धराज श्रेष्ठका अनुसार दरबार र यस वरपर रहेको कुल ४६ रोपनी जग्गा त्यतिबेलाको १० हजार रूपैयाँ खरिद गरिएको भन्ने सुन्नमा आए पनि कुन वर्षमा कति रुपैयाँमा खरिद गरिएको हो भन्ने तथ्य जानकारी भने कसैसँग पनि छैन । विसं १९९० ताका डोटीमा गौँडा रहेको यहाँका बूढापाका बताउँछन् ।

दरबारमा ४० वटा कोठा रहेका छन् । दरबारको वरिपरि सुसारे निवास, मनोरञ्जन घर, पूजा घर, कोत गार्डसमेत रहेकामा अहिले ती घरहरुका भग्नावशेषमात्र बाँकी रहेका छन् । अहिले यस दरबारलाई सरकारी स्तरबाट विभिन्न प्रयोजनका लागि पटक-पटक खरिद गर्ने प्रयास गरिएको पनि बताइन्छ ।  

पछिल्लो पटक डोटी क्याम्पसमा कृषि विषय अध्यापन कार्य सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले यस दरबार र आसपासको जग्गा खरिदका लागि प्रयास गरिएको भए पनि रकममा कुरा मिल्न नसकेको नगर उपप्रमुख शिवराज खड्काले बताउनुभयो ।

यी ऐतिहासिक धरोहरको संरक्षण र सुधार गर्न सके पर्यटकको आकर्षण पनि बन्न सक्ने स्थानीयबासी तथा दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया