सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु नहुने : प्रधानमन्त्री ओली

 असोज १५, २०७७ बिहिबार ७:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु नहुने भन्दै सम्पादकहरुसँग गुनासो गर्नुभएको छ ।

केहि दिनअघि गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग हिजो बेलुका भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमका सम्पादकहरुसँग आफ्नो गुनासो रहेको बताउनुभएको हो ।

सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चारमाध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट विज्ञापन बजारको नियमन गरिने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृत्ति रहेको पनि बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया