राष्ट्रपति ट्रम्पका सासू–ससुरालाई अमेरिकी नागरिकता !

 साउन २५, २०७५ शुक्रबार १३:३८:२४ | रासस
unn.prixa.net

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासू अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिनुभएको आप्रवासनसम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताउनुभयो । 

नागरिकता प्राप्त गर्न कति समय लाग्यो वा स्थायी अनुमतिका लागि प्रथम महिला मेलानियाले सिफारिस गरेको हो होइन भन्ने उनले जानकारी दिएनन् । 

ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन् । अमेरिकी नागरिकता लिएका कतिपय मुलुकका नागरिकले आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गर्दै स्थायी आवासीय अनुमति दिलाउने र पछि नागरिकता लिने गर्दा अमेरिकामा विदेशीको संख्या बढेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आउनुभएको छ । 

राष्ट्रपति ट्रम्पले विदेशीका कारण रोजगारी गुमेको र राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना भइरहेको बताउनुभएको छ । योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाई मात्र अमेरिकामा प्रवेश दिनुपर्ने उहाँको जोड छ । 

स्लोभेनियामा कार बिक्रेता भिक्टर नाभ्स र कपडा कारखानामा काम गर्ने अमालिजा दुवैको उमेर ७० वर्षभन्दा बढी छ । अवकाश जीवन बिताइरहेका उनीहरु दुवै धेरैजसो अमेरिकामै बस्दै आएका छन् । उनीहरु छोरी मेलानिया र नाति ब्यारोनसँग रमाइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया