बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन हिउँदसम्म भइ सक्छ: गृहमन्त्री थापा

 असोज १६, २०७७ शुक्रबार १८:१२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताउनुभएको छ । अस्थायी रुपमै भए पनि सिन्धुपाल्चोक, बागलुङ, कालीकोटलगायत देशभर बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन छिट्टै गरिने उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोकका प्रतिनिधिसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनु अगाडि नै पालमा बसेका नागरिकको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी, पहिरो प्रभावित पालमा बसेका छन्, चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने कदम चाल्छौँ । सकेसम्म न्यानो हुने अस्थायी  बसाइको व्यवस्था गर्छाैँ । हिउँदमा चिसोले मानवीय क्षति नहोस् भनेर हामीले ध्यान दिएका छौँ ।’

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न ठाउँमा गरी अहिले तीन सय ५१ बस्ती जोखिममा रहेको बताउनुभयो । यो वर्ष मानवीय र भौतिक क्षति भएका समेत गरी तीन सय ५१ बस्तीका ६ हजार पाँच सय ७१ परिवार जोखिममा रहेको उहाँले बताउनुभयो ।

यो वर्षको असार २४ गतेदेखि भदौ २७ गतेसम्म एक सय १३ जना गरेर पाँच वर्षमा सिन्धुपाल्चोकमा प्राकृतिक विपद्बाट तीन हजार आठ सय ८२ जनाको ज्यान गइसकेकाे छ । १७ सय ७० जना घाइते भएका छन् । ५५ करोड ८२ लाख रुपैयाँभन्दा धेरैकाे आर्थिक क्षति भएको छ ।

गएकाे असार २४ गते बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा पहिरोमा परेर २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परेर ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको ज्यान गएकाे थियाे । यो वर्ष देशका विभिन्न ठाउँमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया