निजगढमा ६५ हजार रुख गनेर सकियो, झण्डै ४ लाख रुख काट्नुपर्ने हुन सक्छ : पर्यटनमन्त्री भट्टराई

'विमानस्थल बनाउन स्थानीयबाट कुनै अवराेध छैन'

 असोज १८, २०७७ आइतबार १६:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको छ । 

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको हो । स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको सुरुवात भएको उहाँले बताउनुभयो ।

१९ सय हेक्टर क्षेत्रफल जमिनमा बन्ने एअरपोर्ट भएकाले कति रुख कटान हुन्छ भन्ने सम्बन्धमा रुखको गणना गर्ने काम भइरहेको पनि उहाँले बताउनुभयो । विभिन्न १२ वटा ब्लकमा विभाजन गरेर रुख गणनाको सुरुवात गरिएको र अहिलेसम्म दुई वटा ब्लकको गणना गर्ने काम सकिएको उहाँले बताउनुभयो । २ वटा ब्लकमा ६५ हजार रुख रहेको पनि उहाँले बताउनुभयो । उक्त तथ्याङ्कका आधारमा झण्डै चार लाख रुख कटान हुने अनुमान गरिएको पनि उहाँले बताउनुभयो ।

यस्तै विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम पनि लगानी बोर्डमार्फत भइरहेको उहाँले बताउनुभयो । लगानी बोर्डले जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई लगानीकर्ताको रुपमा छनाेट गरिसकेको र विभिन्न दुई चरणमा प्रपोजल आदान–प्रदान भइसकेको समेत मन्त्री भट्टराईले जानकारी दिनुभयाे ।

निजगढ विमानस्थलाई पछिल्लो पटक लगानीका लागि अन्तिम मौका दिइएको पनि उहाँले बताउनुभयो । त्यसपछि पनि लगानी सुनिश्चित नभए देश विदेशबाट लगानीकर्ता खोज्ने वा सरकार आफैले लगानी गर्ने भन्ने समबन्धमा छलफल गरी टुङ्गो लगाइने उहाँको भनाइ छ । यद्यपि विमानस्थल निर्माणका अन्य कामहरु भने भइरहेको मन्त्री भट्टराईले बताउनुभयो । 

बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको हित र अन्य लाभलाई हेर्दा पनि निजगढ विमानस्थल निर्माणको काम छिटो सुरु गर्नुपर्ने बताउनुभयो । विमानस्थल निर्माणमा कुनै बाधा व्यवधान भए तत्काल समाधान गरी निर्माण कार्य सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । आफू प्रधानमन्त्री भएको समयमा समेत यो विमानस्थल निर्माणका लागि उच्च प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले १० वर्ष भइ सक्दा समेत कुनै प्रगति हुन नसकेको बताउनुभयो । अब पनि कुनै समस्या भए उच्च तहबाट नै उच्चतम प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा उहाँकाे जाेड थियाे । 

बैठकमा सांसदहरुले निजगढ विमानस्थलको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका थिए । विमानस्थल निर्माणका लागि कति रुख काट्नुपर्ने हो, त्यसको निर्क्याेल गरी उच्च प्राथमिकताका साथ काम गर्न सांसदहरुले सुझाव दिएका छन् । त्यसबाहेक स्थानीय समुदायका कुनै समस्या छन् भने तत्काल समाधान गरी विमानस्थल निर्माणको वातावरण बनाउनुपर्ने सांसदहरुले बताए । यस्तै लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसमेत छिटो गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

यसबाहेक बैठकमा कोरोना सङ्क्रमणका कारण विदेशबाट उद्धार गर्नुपर्ने नागरिकहरुलाई छिटो ल्याउने व्यवस्था मिलाउन सांसदहरुले जोड दिएका छन् । 

तस्बिर : रासस

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • सबिन गुरुङ

    Oct. 5, 2020, 6:49 a.m.

    ४लाख रुख काटेर ८ लाख बिरुवा रोपेर छाड्ने बाचा पनि गर्नेकी हजुर!

  •  0 Reply

तपाईको प्रतिक्रिया