नबिकेका सामानमा नयाँ मिति : कलङ्कीबाट झण्डै पाँच करोड मूल्य बराबरका खाद्यवस्तु बरामद

 असोज १९, २०७७ सोमबार ७:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चाडबाड नजिकिएसँगै म्याद नाघेका खाद्यवस्तुमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको भेटिएको छ । 

लकडाउनका बेला नबिकेका सामानमा नयाँ मिति राखेर पठाउने गरेको पाइएको हो । पुरानो तथा खान नमिल्ने भइसकेको खाद्यवस्तुमा नयाँ मिति राख्ने काममा सक्रिय केही व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाण्डौको कलङ्कीबाट झण्डै पाँच करोड मूल्य बराबरका त्यस्ता खाद्यवस्तु बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । मिति सकिएको खाद्यवस्तुलाई नयाँ मिति लगाएर बजार पठाउने तयारी गर्दै गर्दा भण्डारबाटै चार जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले बताउनुभयो । 

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कलङ्कीबाट पक्राउ गरेको हो । उनीहरुले लकडाउनका बेला नबिकेका सामानमा मिति सच्याएर बजारमा पठाउने तयारी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको साथबाट स्टिकर, छाप र छाप लगाउने मेसिनसमेत बरामद गरिएको छ । 

उनीहरूले चकलेट, बिस्कुट, आँटा, मैदा, तेल, चामल, दाललगायतमा मिति सच्याएको पाइएको छ । यसअघि वाणिज्य विभागले केही व्यवसायीलाई पक्राउ गरेको थियो । यस्ता गतिविधि बजारमा देखिएकाले निगरानी बढाएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया