दिपायल विमानस्थलमा साप्ताहिक रुपमा हवाई सेवा सुरु

 असोज ३०, २०७७ शुक्रबार १८:०:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – यात्रु अभाव तथा स्तरोन्नतिको कारण देखाइ लामो समयदेखि बन्द रहेको दिपायल विमानस्थलमा शुक्रबारदेखि साप्ताहिक रुपमा हवाई सेवा सुरु भएको छ । समिट एअरले दिपायलदेखि धनगढीका लागि हप्तामा एक पटक उडान सुरु गरेको हो । 

शुक्रबार पहिलो उडानमार्फत समिट एअरले १३ जना यात्रु बोकेर धनगढीका लागि उडेको हो । डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको झण्डै दश वर्ष पछि शुक्रबार पहिलो उडान भएको हो । 

नेपाल सरकारको आठ करोड रुपैयाँको लागतमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाई कम्पनी समिट एअरले उडान गर्ने सहमति भएको थियो ।

दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले भन्नुभयो, ‘समिट एअरले जहाज चलाउने सहमति भएपछि शुक्रबार पहिलो उडान भएको छ, यात्रु पनि राम्रै पाएको छ ।’ 

अहिलेलाई दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति तीन हजार दुई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । अहिलेलाई हप्तामा एक दिन उडान हुने भए पनि पछि यात्रुको चापको आधारमा उडान सङ्ख्या थप्न सकिने नागरिक उड्डयन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले बताउनुभयो । 

हवाई उडान फेरि सुरु भएसँगै दशैँमा घर आउने तथा जाने यात्रुलाई सहज भएको दिपायल पिपल्लाका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो । 

दिपायलमा शुक्रबार गरिएको पहिलो उडानमा समिट एअरले तीन जना यात्रु छोडेर गएको छ । यात्रुहरु समयमै विमानस्थल नआएको भन्दै उनीहरुलाई छोडेर गएको कम्पनीले जनाएको छ । 
दिपायलदेखि धनगढीसम्मको हवाई यात्रा २० मिनेटको रहेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया