डोटीमा जहाज चार्टर्ड गरेर बिरामीलाई उपचारका लागि धनगढी लगियो

 कात्तिक ११, २०७७ मंगलबार १९:२१:४२ | विमल बिष्ट
unn.prixa.net

डोटीमा जहाज चार्टर्ड गरेर बिरामीलाई उपचारका लागि कैलाली लगिएको छ । 

दिपायल सिलगढी नगरपालिका–६ बस्ने ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशीलाई उपचारको लागि जहाज चार्टर्ड गरेर कैलालीको धनगढी लगिएको हो ।

एक घण्टा भित्रमा राम्रो अस्पतालमा नपुर्याए बिरामीको ज्यानमा खतरा हुनसक्ने जिल्ला अस्पतालमा रहेका चिकित्सकहरुले सल्लाह दिएपछि उहाँलाई जहाज चार्टर्ड गरेर पठाइएको हो । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीका अनुसार आज बिहान एकाएक बिरामी परेका जोशीलाई समिट एअरलाइन्सको जहाजबाट एक लाख ५० हजार रुपैयाँमा चार्टर्ड गरेर उपचारका लागि धनगढी लगिएको हो ।

समाजसेवी जोशीको अचानक नाक, मुखबाट रगत आउनुका साथै वान्ता समेत हुन थालेको तथा यहाँबाट कैलाली जानका लागि गाडी समेत नपाएका कारण जहाज चार्टर्ड गरिएको उहाँको परिवारले जनाएको छ ।

जिल्लामा समिट एअरलाइन्सले पछिल्लो समय जहाज सञ्चालन गरे पनि आज जहाज चल्ने दिन (बार) नपरेका कारण चार्टर गरिएको हो । जिल्लामा हवाइ उडान बन्द भएको लामो समयपछि पुनः जहाज सञ्चालनमा आएसँगै यहाँका नागरिकलाई बिरामी लैजान तथा यात्रा गर्नका लागि निकै सहज भएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया