बल्ल आयो डीएपी मल

 कात्तिक १६, २०७७ आइतबार १६:३३:५० | विमल बिष्ट
unn.prixa.net

डोटी – धान काटेर गहुँ छर्ने बेला भइसक्दा समेत मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डीएपी मल आएको छ । 

डीएपी मल आएसँगै मल किन्नका लागि यहाँका किसानहरुको पसलमा भीड लाग्न थालेको छ । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रहेको साजन एग्रोभेट तथा शाही एग्रोभेटले डीएपी मल ल्याएका हुन् ।

लामो समयपछि जिल्लामा मल आएपछि किसानहरुलाई केही राहत भएको स्थानीयबासी हर्कहबहादुर बमले बताउनुभयो ।

कैलालीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट यहाँका व्यापारीले मल ल्याएका हुन् । व्यापारीहरुले कम्तिमा पनि दुईदुई टन डीएपी मल ल्याएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले कम्पनीमा मल पठाउनका लागि आग्रह गरेपछि बल्ल जिल्लामा मल आएको हो ।

डीएपी मल आए पनि युरिया मल भने अहिले सम्म आउन सकेको छैन् । कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल नभएका कारण पठाउन नसकिएको कम्पनीले जनाएको छ । भारतबाट नै मल नआएका कारण यहाँका जिल्लामा मल पठाउन नसकिएको कम्पनीको दाबी छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया