बालिका बलात्कारकाे आरोपमा डोटीमा प्रहरी विरुद्ध मुद्दा दर्ता

 कात्तिक १७, २०७७ सोमबार १९:१३:५१ | विमल बिष्ट
unn.prixa.net

डोटीमा बालिका बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता भएको छ ।

जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशिल सिंहले त्यही ठाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा आज मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा प्रहरी जवान सिंह विरुद्ध मुद्दा दर्ता गरिएको हो । 

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति बालिकालाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे बालिकाको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि बालिका अर्धचेत अवस्थामा भेटिएको आफन्तको भनाइ छ ।  

‘सुनसान रात थियो, राति कोही चिच्च्याएको आवाज आयो’, पीडित बालिकाका बुवाले भन्नुभयो, ‘को रहेछ भनेर हेर्न गएको छोरीलाई उसैको दोपट्टाले रुखमा झुण्ड्याएको अवस्थामा भेट्यौँ र हतार हतार दोपट्टा काटेर बचायौँ ।’

अचेत अवस्थामा भेटिएकी छोरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात होस आएपछि आज बल्ल बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आएको पीडितका बुवाले बताउनुभयो ।

बालिकाको घाँटीमा दोपट्टाले लगाएको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया