झुलाघाट नाका ५ दिनका लागि खाेलिने, पेन्सनधारीलाई राहत हुने

 मंसिर ५, २०७७ शुक्रबार १८:५५:१२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ । मङ्सिर ८ गते सोमबारदेखि मङ्सिर १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । 

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्ने तयारी भएको उहाँले बताउनुभयो । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिनुभयो ।

पेन्सनधारी नागरिकहरूले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरूले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिनुभयो । बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन् । पाँच दिनभित्र पेन्सन बुझ्नका लागि नाका खोलिन लागेको हो ।

नाकामा पेन्सनधारीहरूले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया