विवाहले बढायो सुनको कारोबार

 मंसिर १६, २०७७ मंगलबार ७:४४:३४ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – सुनको व्यापार बढ्न थालेपछि काठमाण्डौ स्वयम्भूका सुन व्यापारी रमेश सदाशंकरको मुहारमा खुसी फर्किएको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण शून्यमा पुगेको कारोबार बढ्न थालेपछि उहाँमा खुसी फर्किएको हो ।

८ वर्षदेखि काठमाण्डौको भगवानपाउ नजिकै सुनचाँदीको कारोबार गर्दै आउनुभएका उहाँ कोरोना सुरु भएपछि व्ययापार नहुँदा चिन्तित हुनुहुन्थ्यो । दशैँसम्म कारोबार ठप्पजस्तै रह्यो । लकडाउन खुलेपछि भने विबतारै कारोबार बढ्दै गएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पोहोर परार बिहेको लगनमा हुनेजस्तो सुनको कारोबार त भएको छैन । तर आत्तिनुपर्ने अवस्था भने छैन ।’

दशैँ अगाडिसम्मको तुलनामा अहिले उहाँलाई निक्कै आशा जागेको छ । यसअघि कोरोनाका कारण तीन महिना बन्द गरेको पसल खोल्न थालेको लामो समयसम्म पनि सुन किन्न कोही आएका थिएनन् । बरु बेच्नेहरु आउने गर्थे । तर अहिले भने दिनहुँ १ देखि २ किलोसम्म कारोबार हुने गरेको उहाँ बताउनुहुन्छ । कीर्तिपुरका नरेश महर्जन पनि सुनको कारोबार बढ्न थालेकोमा उत्साहित हुनुहुन्छ । मानिसहरु पेशा व्यवसायमा फर्केको कारण सुन किन्न थालेका हुन सक्ने उहाँको अनुमान छ ।

उहाँ भन्नुहुन्छ ‘दशैँसम्म मानिसहरु सुन बेच्नका लागि मात्रै सुन पसलसम्म पुग्ने गर्थे । तर अहिले थोरै थोरै सुन किन्नेको सख्या पनि बढ्न थालेको छ ।’

भाउ घटेको र जनजीवन सामान्य भएकाले कारोबार बढ्यो : 

नेपाल सुनचाँदी व्यवसायी महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्य सुनको भाउ घटेकाले कारोबार बढेको बताउनुहुन्छ । केही समय यता सुनको भाउ घट्दै गएको छ । कोरोना भाइरस विरुद्धको खोप निर्माणले गति लिनु, अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी भएपछि चीनसँगको सम्बन्ध सुधार्ने बताउनु लगायतका सकारात्मक कदमका कारण सुनको भाउ घटेको उहाँको बुझाई छ ।

सुनको भाउ अझै १/२ हजार रुपैयाँसम्म घट्न सक्ने उहाँ बताउनुहुन्छ । लकडाउनका कारण थला परेको ब्यवसाय लयमा फर्कन थालेको शाक्यको भनाई छ । तिहारपछि सुनको कारोबार केही बढे पनि पोहोर परारको समयमा जस्तो कारोबार भने भएको छैन । गएका वर्षहरुमा मंसिर महिनामा दैनिक ३० देखि ४० किलोको दरले सुनको कारोबार हुन्थ्यो । तर यो वर्ष १५ देखि २० किलोको हाराहारीमा कारोबार हुने गरेको छ ।

गएका वर्षहरुको तुलनामा यो कम भए पनि तिहार अगाडिसम्मको तुलनामा भने राम्रो भएको उहाँको भनाई छ । गएको वर्ष मंसिर महिनामा सुनको भाउ तोलामा औषतमा ७३/७४ हजार रुपैयाँको हाराहारीमा थियो । यो वर्ष ९० देखि ९२ हजार रुपैयाँको हाराहारीमा छ । तिहारको केही दिनमै सुनको भाउ शून्यबाट झण्डै ५० प्रतिशतले बढ्नुमा अरु पनि कारण भएको शाक्य बताउनुहुन्छ ।

कोरोनाका कारण यो वर्ष वैशाख पनि विवाह हुन सकेन । आउने माघ फागुनमा पनि विवाहको लगन छैन । त्यही भएर धेरै मानिसले यही मंसिर महिनामा विवाह गर्ने भएकाले सुनको कारोबार बढेको हुन सक्ने उहाँको अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा सुधारतिर अगाडि बढेकोले सुनको कारोबार केही बढ्नुका साथै शेयर बजारले पनि सकारात्मक रेकर्ड राख्न थालेको छ ।

कालिगढ काममा फर्कन थाले देशभर २२ हजारभन्दा धेरै सुनचाँदी व्यवसायी छन् । २ लाखको हाराहारीमा कालिगढ रहेका शाक्यले बताउनुभयो । धेरैजसो कालिगढ भारतका छन् । अब बिस्तारै भारतबाट कालिगढहरु पनि फर्कन थालेका छन् । पछिल्लो समय शहरीकरण र मानिसहरुको सुनचाँदीप्रतिको मोह बढ्दै गएकाले नेपाली बजारमा पनि सुनचाँदीको कारोबार फस्टाउँदै गएको थियो ।

नेपालमा वर्षमा ६० अर्ब रुपैयाँको सुनको कारोबार हुँदै आएको छ । हुन त २०७६ सालदेखि नै सुनको भाउ निरन्तर उकालो नै लाग्यो । त्यसले गर्दा कारोबार कम नै हुन थालेको थियो । तर लकडाउनपछि भने सुनबजार नराम्ररी प्रभावित भएको थियो । बजार प्रभावित भए पनि सुनको भाउ भनेर बढेर तोलाको एक लाख रुपैयाँसम्म पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया