‘एन्टिजिन विधिबाट गरिने परीक्षण पीसीआर जत्तिकै विश्वसनीय’

 मंसिर १९, २०७७ शुक्रबार १०:५७:३८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - सरकारले काठमाण्डौ उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना सङ्क्रमणको अवस्था पत्ता लगाउन एन्टिजिन विधिबाट परीक्षण थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड सङ्क्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाण्डौ उपत्यकामा परीक्षण सुरु भएको हो । 
गएको सोमबारदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ उपत्यकाभित्रका बढी सङ्क्रमण देखिएको ६ वटा वडामा ३ हजार नमुना लिएर परीक्षण गर्न लागिएको जनाएको छ ।

मन्त्रालयबाट स्वीकृत भएअनुसार ५ सयभन्दा बढी सङ्क्रमित भएका क्षेत्रहरूमा एन्टिजिनमार्फत परीक्षण गरिनेछ । पछिल्लो समय उपत्यकामा सङ्क्रमण दर बढ्दै गएको छ । यस्तो अवस्थामा एकैपटक समुदायमा परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोग गरिने पनि मन्त्रालयको भनाइ छ ।

एन्टिजिन परीक्षण खासगरी समूहमा बसेर काम गर्ने क्षेत्रमा प्रयोग गरिने छ । मास स्क्रिनिङ, अस्पतालमा उपचाररत बिरामीहरुको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, आकस्मिक अप्रेशन गर्नु परेमा, सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवास गृह र सुरक्षाकर्मीमा एन्टिजिनको प्रयोग गरी परीक्षण गरिने मन्त्रालयले जनाएको छ । 

एन्टिजिन परीक्षणले शरीरमा भाइरसको जिनको अवस्थालाई पत्ता लगाएर नतिजा दिन्छ । त्यसैले यसलाई पीसीआर बराबर भएको मानिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

पीसीआर जत्तिकै विश्वसनीय

डाक्टर गौतमका अनुसार भाइरस इन्फेक्सन भएपछि २/३ दिनमै नतिजा पोजेटिभ आउने जाँच नै एन्टिजिन जाँच हो । यो परीक्षण  गर्नका लागि पनि निक्कै सजिलो छ । आधा घण्टामै रिपोर्ट आउँछ । एकै पटक धेरैवटा गर्न सकिन्छ । पीसीआर परीक्षण भन्दा सस्तो छ । 

एन्टिजिन र पीसीआर परीक्षण गर्ने विधि नै फरक भएको प्रवक्ता गौतमले बताउनुभयो । नाप्ने तरिका पनि फरक हुन्छ । यसले भाइरस छ या छैन भनेर एन्टिजिनको रुपमा हेर्ने हो । यो पनि पीसीआर टेस्ट जत्तिकै विश्वसनीय भएको उहाँको भनाइ छ । अस्पतालमा उपचाररत बिरामीहरूको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, सफाइकर्मी, तरकारी बजारलगायतका बढी भिडभाड हुने ठाउँमा एन्टिजिनको प्रयोग गरी परीक्षण गरिनेछ ।

डा. गौतमकाअनुसार एन्टिजिनमा परीक्षण गर्दा नतिजा पोजेटिभ आयो, तर लक्षण छैन भने पीसीआर परीक्षण गर्नुपर्दैन । नेगेटिभ आएमा पनि पर्दैन । तर एन्टिजिनमा परीक्षण गर्दा नेगेटिभ आयो र लक्षण देखिएको छ भने पीसीआर परीक्षण पनि  गर्नुपर्ने डाक्टर गौतम बताउनुहुन्छ । एन्टिजिन प्रविधिमार्फत गरिएको परीक्षणको नतिजालाई ढुक्क भएर विश्वास गर्न सकिने उहाँको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएअनुसार ५ सयभन्दा बढी सङ्क्रमित भएका क्षेत्रमा एन्टिजिनमार्फत परीक्षण गरिनेछ । जसअनुसार सक्रिय सङ्क्रमितको नजिकमा रहेकाको मात्रै परीक्षण गरिनेछ । यो विधिअन्तर्गत पीसीआर परीक्षणका लागि नमुना लिए जस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिनेछ र किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालमा अहिलेसम्म कोभिड सङ्क्रमणको पहिचान गर्न पीसीआर विधि मात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजिन परीक्षण गर्न लागिएको हो । पछिल्लो समय उपत्यकामा सङ्क्रमण दर बढ्दै गएको छ । यस्तो अवस्थामा एकैपटक समुदायमा परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोग गरिने मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया