काठमाण्डौमा पनि विद्यालय खुल्न थाले, केही पालिकामा भने तत्काल नखुल्ने

 मंसिर २१, २०७७ आइतबार ९:८:३४ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाे - कोरोना संक्रमणको जोखिम कम भएका ठाउँमा विद्यालयहरु खुल्न थालेका छन् । सरकारले कोरोनाको जोखिम कम भएका ठाउँमा पालिकासँगको समन्वयमा विद्यालय खोल्ने निर्णय गरेपछि विद्यालय सञ्चालनमा आउन थालेका हुन् । 

कोरोनाको अत्यन्तै जोखिम रहेको काठमाण्डौमा पनि केही विद्यालय खुलेका छन् । अरु विद्यालय खुल्ने क्रममा छन् । केही विद्यालय भने तत्काल नखुल्ने भएको छ । काठमाण्डौको दक्षिणकाली नगरपालिकामा वडा नम्बर ९ मा रहेको इन्द्रायणि आधारभूत विद्यालयमा गएको मंसिर ३ गतेदेखि पढाइ हुन थालेको छ । प्रधानाध्यापक भक्तनारायण मानन्धरका अनुसार सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गरिएको हो ।

विद्यालय खोले पनि पूरै पढाइ  भने नभएको उहाँले बताउनुभयो । बिहान  ९ बजेदेखि दिउँसो २ बजेसम्म स्कुल खुल्छन् । एउटा कक्षालाई तीन वटा सेक्सन बनाएर राख्ने गरिएको उहाँले बताउनुभयो । एउटा बेञ्चमा २ जना विद्यार्थी मात्र राखिन्छ ।

मास्क अनिवार्य गरिएको छ । हात धुनका लागि साबुन पानी र स्यानिटाइजरको पनि व्यवस्था गरिएको छ ।  विद्यार्थीलाई खेल्न दिइएको छैन । अहिले पनि झण्डै ७५ प्रतिशत विद्यार्थी उपस्थित हुने गरेका उहाँले बताउनुभयो । एक दिनमा एउटा कक्षाका विद्यार्थीलाई मात्र बोलाइन्छ । 

मानन्धरका अनुसार लामो समय विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिन कठिन भयो । ‘सबैको पहुँचमा ल्याप्टप, कम्प्युटर, मोबाइल तथा इन्टरनेट  भएन । त्यही भएर स्कुल खोल्नुको विकल्प भएन र स्कुल सञ्चालन गर्यौं’ प्रधानाध्यापक मानन्धरले भन्नुभयो । विद्यालय खुलेपछि विद्यार्थीहरु खुसी भएका र अभिभावक पनि मानसिक रुपमा आफ्ना बालबालिकालाई स्कुल पठाउन तयार रहेको उहाँले बताउनुभयो ।

दक्षिणकाली नगरपालिकाका अरु केही विद्यालय पनि सञ्चालनमा आएका छन् । आवश्यक सरसफाइ र भौतिक दूरी कायम गरी खोल्न आग्रह गरिएको मेयर मोहन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको विषयलाई कोर्षकै रूपमा ३० मिनेट जानकारी दिने गरिएको छ । 

केही पालिकामा खुल्ने तयारी, केहीमा तत्काल नखुल्ने

काठमाण्डौको गोकर्णेश्वर नगरपालिकामा पनि विद्यालय खोल्ने तयारी भैरहेको छ ।  विद्यालय खोल्ने निर्णय गरिसकेको र अबको १,२ दिनमै सञ्चालनमा आउने नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाको बौद्ध इन्टरनेशनल स्कुल पनि अबको एक हप्ताभित्र सञ्चालनमा आउने प्रंधानाध्यापक हरि लामाले जानकारी दिनुभयो । आवश्यक सबै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने उहाँले बताउनुभयो । 

यस्तै बुढानिलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ । 

जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर मात्र विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो। 

तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर केही दिनमै विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा संक्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताउनुभयो । 

कागेश्वरी मनोहरा नगरपालिकाले पनि केही दिनमै विद्यालय सञ्चालन गर्ने जनाएको छ । जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । 

कीर्तिपुर नगरपालिकाले संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले दुई, चार दिन विद्यालयमा पढाइ सुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताउनुभयो ।  ‘जाडो पनि बढिरहेको छ, पुसको १५ तिरबाट मात्र विद्यालय खोल्छौँ होला’ उहाँले भन्नुभयो ।

शंखरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर अनुकूल हुने गरी पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको मेयर सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । मिति नै तोकेर पठनपाठन गर्न नभनेको तर विद्यालयको अनुकूलतामा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । 

टोखा नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर मात्र विद्यालय खोल्ने तयारी गरेको मेयर प्रकाश अधिकारीले बताउनुभयो । उहाँका अनुसार हतारमा विद्यालय सञ्चालन गर्दा संक्रमणको जोखिम झन् बढ्न सक्ने भएकाले आवश्यक तयारी गरेर मात्र खुल्नेछन् ।

काठमाण्डौ महानगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको  छ । महानगरपालिकाभित्र कोरोनाको जोखिम बढेकाले स्वास्थ्य विज्ञ, शिक्षाविद् लगायतसँग छलफल गरेर मात्र विद्यालय खोल्ने निर्णय गर्ने काठमाण्डौ महानगरपालिका प्रवक्ता इश्वरमान डङ्गोलले जानकारी दिनुभयो । 

नागार्जुन नगरपालिकाले पनि तत्काल विद्यालय नखोल्ने भएको छ । संक्रमणको जोखिम बढिरहेकाले विद्यालय खोल्ने निर्णय नभएको नगरपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया