डोटीमा नियमित औषधि प्रयोग गर्ने एचआईभी सङ्क्रमितकाे सङ्ख्या बढ्याे

 मंसिर २८, २०७७ आइतबार ११:३२:५२ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा सात सय ९९ जना एचआईभी सङ्क्रमितले नियमित रुपमा एआरटी औषधि प्रयोग गर्न थालेका छन् ।

यसअघि एचआईभी सङ्क्रमितहरु रोग लुकाएर बस्ने गरेकामा पछिल्ला दिनमा परीक्षण र औषधिको प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको हाे । परीक्षण गराउने बढे पनि एचआईभी सङ्क्रमित थपिने क्रम भने घटिरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६४/६५ मा दुई सय २२ जना नयाँ सङ्क्रमित भेटिएकोमा गएको आर्थिक वर्ष २९ जनामा मात्रै सङ्क्रमण भेटिएको छ । डोटीमा अहिलेसम्म एचआईभी सङ्क्रमणबाट एक सय ७२ जनाको ज्यान गइसकेको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआईभी सङ्क्रमितहरुमा कामका लागि भारत गएर फर्केका र उनीहरुका घरका सदस्यमा देखिएको छ । डोटी धेरै एचआईभी सङ्क्रमित भेटिएको सुदूरपश्चिम प्रदेशको तेस्रो जिल्लाको रुपमा रहेको छ ।

कैलाली र अछाममा एचआईभी सङ्क्रमित धेरै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सरकारले एचआईभी सङ्क्रमितहरुका सवालमा केन्द्रीत रहेर अहिलेसम्म पनि खासै ठोस कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमितहरु दुःखमा पर्ने गरेको सङ्क्रमितहरुको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजकी अध्यक्ष कमलादेवी मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरेको छ । गाउँघरमा एचआईभी सङ्क्रमितका समस्या जस्ताका त्यस्तै छन, सङ्क्रमितको समस्यामा ध्यान दिन अति जरुरी छ ।' पछिल्लो समयमा देशमा शासकीय संरचना परिवर्तन भएसँगै पालिकाले बजेट निर्माणमा एचआईभी सङ्क्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको पूर्वीचाैँकी गाउँपालिकाकी एचआईभी सङ्क्रमित रमा कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, 'सङ्क्रमितले एआरटी सेवन गर्ने समयमा नियमित पौष्टिक आहार खानुपर्छ, हामीलाई दैनिक हात मुख जोर्न नै धौ धौ छ, कहाँबाट पौष्टिक आहार खानु ।'

जिल्लामा एचआईभी सङ्क्रमितहरुको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआईभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघु उद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया