ठाउँ अभावमा प्रहरीसँगै सुत्छन् थुनुवा

 पुस ८, २०७७ बुधबार १८:४७:४८ | विमल बिष्ट
unn.prixa.net

प्रतिकत्मक तस्बिर

डोटी – सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरी चौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको हो । विगतका सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश प्रहरी चौकी अहिलेसम्म पनि पुनर्निर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा प्रहरीका आफ्नै भवन नहुँदा थुनुवा राख्न समस्या हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार प्रदेशमा सशस्त्र द्वन्द्वको समयमा भत्काइएका चार दर्जनभन्दा बढी प्रहरी इकाइमध्ये अहिलेसम्म १५ भवन मात्रै निर्माण गरिएका छन् । केही निर्माणका क्रममा भएका कारण थुनुवा राख्न समस्या भएको हो ।    

थुनुवा राख्ने ठाउँ नभएका कारण यहाँका अधिकांश प्रहरी चौकीका प्रहरीले थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय प्रहरी चौकीमा अहिलेसम्म पनि थुनुवा राख्ने अलग्गै ठाउँ छैन, राति भागे समस्या पर्छ, त्यसैले थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य छन् ।’

कहिलेकाहीँ प्रहरीको भन्दा थुनुवाको सङ्ख्या बढी हुने भएकाले पनि प्रहरी चौकीमा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय वीपीनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लालबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कैयौँ प्रहरी कार्यालय पुनर्निर्माण गरिएका छैनन्, निर्माण भएका ठाउँमा पनि थुनुवा राख्ने ठाउँ कमी हुने भएकाले झन् समस्या हुने गरेको छ ।’

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको इलाका प्रहरी कार्यालय दिपायलमा थुनुवा कोठाको अभावमा प्रहरीलाई लामो समयदेखि समस्या हुँदै आएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) धर्मानन्द जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रहरी भवन निर्माण प्रक्रियामा छ, हामी विमानस्थलमा सरेका छौँ, यहाँ हिरासत नभएका कारण थुनुवा राख्न समस्या भएको छ, थुनुवा राख्ने ठाउँ नहुँदा हामी जिल्ला प्रहरी कार्यालय पठाउन बाध्य छौँ ।’

यहाँका प्रहरी चौकीमा महिला थुनुवा राख्ने ठाउँ नभएका कारण पनि प्रहरीलाई झनै समस्या हुँदै आएको छ । जोरायल, वीपीनगर, बायल, बोगटान तथा जिल्ला प्रहरी कार्यालयबाहेक अन्य क्षेत्रमा रहेका प्रहरी चौकीमा महिला थुनुवा राख्ने ठाउँ नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

प्रहरी चौकीमा महिला र पुरुष थुनुवा राख्ने अलग्गै हिरासत कक्ष बनाउनुपर्ने नेपाल प्रहरीको मापदण्ड भए पनि यहाँका ग्रामीण क्षेत्रका पालिकामा निर्माण भएका चौकीमा महिला हिरासत कक्ष नभएकाले कुनै कारणवश महिला बन्दी थुन्नु परे समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) जनकराज पाण्डेयले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘इलाका तथा प्रहरी चौकीमा अनिवार्य महिला हिरासत राख्नुपर्ने मापदण्ड तोकिएको छ तर कतिपय प्रहरी चौकीमा महिला थुनुवा कक्ष नहुँदा समस्या भएको छ, महिला थुनुवा कक्ष निर्माणका लागि हामीले पहल गरिरहेका छौँ ।’

प्रत्येक प्रहरी युनिटमा महिला पुरुष थुनुवा कक्ष अलग्गै हुनुपर्ने तथा शौचालयसमेत निर्माण गरिनुपर्ने प्रहरीको मापदण्डमा भए पनि सुदूरपश्चिमका अधिकांश प्रहरी युनिटमा त्यस नियमअनुसार निर्माण नगरिएको पाइएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया