कोरोना बिर्सेर प्रदर्शन, विज्ञ भन्छन् – विरोधको शैली बदलौँ

 पुस १३, २०७७ सोमबार १०:१४:४३ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक घटनाक्रमले नयाँ रुप लिएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहसँगै कांग्रेस र अरु विपक्षी दलहरु सडकमा पुगेका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दिनहुँजसो प्रदर्शन भइरहेको छ । 

प्रतिनिधिसभा विघटन हुनुभन्दा पहिले पनि ठाउँ-ठाउँमा प्रदर्शन हुन्थे । काठमाण्डौको माइतीघरमा उखु किसानले धर्ना दिन थालेको दुई हप्ताभन्दा बढी भयो । राजसंस्था र हिन्दू राष्ट्रका लागि भन्दै पनि विभिन्न समूहले पनि प्रदर्शन गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटनपछि भने मुख्य दलका नेता कार्यकर्ताले प्रदर्शन बढाएका छन् । कतै सरकारको समर्थन र कतै विरोधमा प्रदर्शन हुने गरेको छ । दिनहुँजसो भइरहने प्रदर्शन देख्दा लाग्छ, नेपालमा अब कोरोनाको डर हटिसक्यो । तर विज्ञहरु भने कोरोनाको जोखिम कायमै भएकाले अनावश्यक भीडभाड र प्रदर्शन नगर्न आग्रह गर्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी भन्नुहुन्छ, ‘कोरोनाको जोखिम घटेको छैन । परीक्षणको दायरा घटेकाले मात्र सङ्क्रमितको संख्या घटेको हो ।  कोरोना सङ्क्रमितको संख्या नेपालमा तथ्याङ्कमा मात्र कम भएको हो ।  यसरी जुलुस तथा प्रदर्शन गर्दा कोरोना फैलने खतरा झनै बढ्छ ।’

अहिले अनिवार्य पीसीआर रिपोर्ट आवश्यक भएकाले मात्रै परीक्षण गर्ने गरेकाले सङ्क्रमण घटेकोजस्तो देखिएको डाक्टर राजभण्डारी बताउनुहुन्छ ।  ‘त्यही भएर सङ्क्रमितको संख्या तथ्याङ्कमा कम भएको हो’ उहाँले भन्नुभयो ।   

जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डे सभा, जुलुस, प्रदर्शनलगायतका क्रियाकलापले  कोरोना भाइरस तीव्र गतिमा फैलने सक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले कोरोना सङ्क्रमितको संख्या तथ्याङ्कमा कम आउनुको अर्थ हामी सङ्क्रमणमुक्त भयौँ भन्ने होइन, जोखिम अझै  छ । आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढेका छन् ।  जुलुस र प्रदर्शनको विकल्प नसोच्ने हो भने अवस्था भयावह हुन सक्छ ।’ 

स्पेन, ब्राजिललगायतका देशमा पनि कोरोना घटेको अवस्थामा प्रदर्शन भएका थिए । त्यसपछि कोरोनाको जोखिम झन् बढेको थियो । ‘कोरोनाको जोखिम कायमै रहेको बेला प्रदर्शन बढ्नु चिन्ताको विषय हो’ डाक्टर पाण्डेले भन्नुभयो, ‘प्रदर्शनको क्रममा एक जनालाई सङ्क्रमण भएको छ भने अरु धेरैलाई सर्ने खतरा रहन्छ । प्रदर्शनकारीले सेनिटाइजर  बोकेका हुँदैनन् । दूरी कायम भएको पनि पाइँदैन ।

कतिपयले  मास्कसमेत ढङ्ग पुर्याएर लगाएका हुँदैनन् । यी सबै कुराले गर्दा कोरोनाको जोखिम बढ्न सक्छ’ उहाँले भन्नुभयो । 

‘विरोधको स्वरुप परिवर्तन गरौँ’

चित्त नबुझेको विषयमा विरोध गर्नु स्वभाविक हो । कसैको समर्थन र विरोधमा प्रदर्शन गर्न पाइन्छ । तर प्रदर्शन गर्दा स्वास्थ्यमाथि खेलबाड गर्न नहुने डाक्टर सागर राजभण्डारी जोड दिनुहुन्छ।

‘आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ,  कतिपय देशमा आन्दोलनका स्वरुपहरु परिवर्तन हुन थालेका छन्’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा, टेलिभिजन तथा रेडियोमा ‘टक सो’ लगायतका कार्यक्रम गरेर पनि असन्तुष्टिहरु व्यक्त गरिन्छ । नेपालमा पनि ती कुराहरुलाई पछ्याउँदा राम्रो हुन्छ ।’

वैशाखमा मध्यावधि चुनाव भयो भने घरदैलो कार्यक्रम, सभा जुलुसका कार्यक्रम झन् धेरै हुन्छन् ।  यसले गर्दा कोरोनाको थप जोखिम हुने जनस्वास्थ्यविद् पाण्डे बताउनुहुन्छ । त्यसैले आन्दोलनको स्वरुप बदल्नु नै जनस्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण हुने उहाँको भनाइ छ ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया