नौ महिनादेखि ओडारमा बास : सडकमा बेवारिसे खोज्दै, न्यानो कपडा दिँदै

 पुस १८, २०७७ शनिबार ७:३८:३४ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जिल्ला प्रशासन कार्यालय जुम्लाले सडकमा रहेका बेवारिसे नागरिकहरुलाई खोज्दै  न्यानो कपडा कम्बल र ज्याकेट वितरण गर्न सुरु गरेको छ । 

स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाइटी जुम्लाले चन्दननाथ नगरपालिकाकाे सडकमा रहेका बेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र अपाङ्गता भएका नौ जना व्यक्तिहरुलाई न्यानाे कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

एक महिला नौ महिनादेखि ओडारमा 

जुम्ला सदरमुकामबाट एक किलोमिटर टाढा ओडारमा नौ महिनादेखि बस्दै आएकी दैलेख घर बताउने एक महिलालाई पुनःस्थापनाका लागि स्थलगत अवलोकन गर्नुकासाथै राहात वितरण गरिएको छ  । ती महिलाका लागि न्यानो कपडा र भाँडाकुँडासहित राहात लिएर स्थानीय प्रशासनसहित सरोकारवाला निकायहरु ओडारमा पुगेका थिए ।

चन्दननाथ नगरपालिका ३ का वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले मानसिक समस्या भएकी ती महिलालाई चाँडै पुनःस्थापना गर्नुपर्ने जानकारी दिनुभयो । सडकमा अहिले तत्कालका लागि भेटिएका घरबारविहीन व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्ने र उनीहरुकोे दीर्घकालिन पुनःस्थापनाका लागि पहल गर्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी थापासहित नन्दनबक्सका गणपति दिवाकर रायमाझी, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब उपरीक्षक गगन श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँसहितका पत्रकारहरुकाे टाेलीले यस अभियानकाे सुरुवात गरेका हुन् । 

प्रमुख जिल्ला अधिकारी थापाले सडकमा बाध्यात्मक हिसाबले बसेका नागरिककाे तथ्यांक संकलन गर्न निर्देशन दिइएकाे जानकारी दिनुभयो ।

एक दर्जन बढी बेवारिसे 

अहिलेसम्म सडकमा बसिरहेकाहरु प्राय घरबारविहीन, अतिविपन्न तथा मानसिक समस्या भएकाहरु रहेकाे अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रले जानकारी दिएको छ ।

साथै स्थानीय सम्झना शाहीले पालनपोषण गर्दै आएका जुम्ला गठिचौर गाउँपालिका २ का पूर्ण अशक्त व्यक्तिहरु निर्मला बुढा र विष्णुमाया बुढालाई स्थानीय प्रशासन, गुठिचौर गाउँपालिका, सामाजिक विकास मन्त्रालय र अपांग पुनःस्थापना तथा विकास कार्यालयको समन्वयमा सुर्खेतको मानवसेवा आश्रममा पुनःस्थापना गरिएको छ ।

 

अन्तिम अपडेट: चैत २६, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया