सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

 पुस १९, २०७७ आइतबार १०:२१:५६ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । 

कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला र डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ । 

रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै समयमा रगत दान गर्ने भएका कारण अधिकांश स्थानीयवासीको सेना, प्रहरीले अकालमै ज्यान जोगाइदिने गरेका छन् । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रक्तदान गरेर ११० स्थानीयवासीको ज्यान बचाएका छन् भने सशस्त्र प्रहरीले ८५ को ज्यान जोगाएको बताइएको छ । 

सुदूरपश्चिम पृतना हेडक्वार्टरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले आफ्नो रगत दिएर यहाँका ११० स्थानीयवासीको ज्यान जोगाउन सफल भएको छ । 

सुदूरपश्चिम प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषलाई निःशुल्क रक्तदान गरेका कारण उनीहरुको ज्यान जोगिने गरेको छ । 

सेनाले सुदूरपश्चिममा रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । कसैलाई रगत आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रक्तदान गर्दै आएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ ।

पछिल्लो समय सेना तथा सशस्त्रले भनेकै समयमा सहजै रगत दिन थालेपछि स्थानीयवासीले राहत पाउनुका साथै उनीहरुको ज्यान जोगिन थालेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका हर्कबहादुर बोहराले बताउनुभयो । 

डोटीमा पालिकाको पहलमा एक ब्लड बैंक तत्कालै स्थापना गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर उपप्रमुख प्रेमबहादुर शाहले जानकारी दिनुभयो । सेना तथा सशस्त्र प्रहरीले  सुत्केरी तथा विभिन्न घटनामा पर घाइते भएकालाई रक्तदान गरेर ज्यान बचाएको सशस्त्र प्रहरीको दिपायलमा तैनाथ रहेको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले बताउनुभयो । 
 
यहाँका सुरक्षाकर्मीले आफू मातहत रहेका सम्पूर्ण सुरक्षाकर्मीको रगत समूह पहिले नै छुट्याएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार रहने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो।

उहाँले भन्नुभयो, 'रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत समूह पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत समूह छुट्याएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ र सहजै रगत पाइन्छ ।'

जिल्लामा रहेका स्थानीयवासीमा रक्तदान गर्नुपर्छ भन्ने बानीको विकास भइनसकेकाले जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताउनुभयो ।

जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले खोलेको ब्लड बैंकमा रगत नपाउँदा वर्षौँदेखि बन्द अवस्थामा रहेको छ । यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले रगत सङ्कलन गर्न अभियानको सुरुआत गरे पनि रक्तदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको अस्पतालका चिकित्सक बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया